पाङदुरे जोगाउँदै कुमाल

हरिराम उप्रेती

(गोरखा) — सडकमा जाल खेल्दै र बाटो देखाउँदै थिए, भलराम कुमाल । उनलाई पछ्याउँदै थियो, पाङदुरे नाच समूह । गोरखा–१२ रानीटारको कुमाल सुधार समाजले पृथ्वी जयन्तीको अवसरमा गोरखा सदरमुकाममा गरेको कार्यक्रमको दृश्य हो यो ।

ZenTravel

‘माछा मार्ने हाम्रो पुर्ख्यौली पेशा हो,’ भलरामले थपे, ‘जाल हान्दै आफ्नो पहिचान देखाउन खोजेको पाङदुरे पुरानो नाच हो ।’ कुमाल सुधार समाजले लोप हुन लागेको पाङदुरे नाच जोगाउन कार्यक्रम गर्दै आएका छन् । जिल्लामा हुने सभासमारोहमा नाच प्रस्तुत गर्छन् । गाउँको पूजा तथा शुभ कार्यमा त उनीहरूलाई नसम्झिई सुखै छैन । ‘बाबुबाजेकै पालादेखिको नाच हो,’ भलरामले भने, ‘हाम्रो यो संस्कृति हराएको छैन ।’

Meroghar


सेतो कमिज, स्टकोट, जामा र टाउकोमा पगरी गुथेर भारतेको भूमिकामा थिए सीताराम कुमाल । चोली र गउनमा सजिएका दुई युवतीले मारुनीको भूमिका निर्वाह गरे । ‘दुई मारुनी अनिवार्य चाहिन्छ,’ सीतारामले भने, ‘बीचमा नाच्नेलाई भारते भन्छन्, दायाँबायाँ नाच्ने मारुनी हुन् ।’ घन्टौं फन्को मार्दा पनि सीतारामले थकानको महसुस गरेनन् । बरु सिक्दै गरेको मारुनीलाई हौसला थपे ।

मादल र गीतको तालमा आफू पनि नाच्ने र मारुनीको पनि लय मिलाउन तल्लीन देखिन्थे । मारुनीका भूमिकामा थिए दीपा र सुशीला कुमाल । उनीहरूलाई पाका पुस्ताले मारुनी नाच्न सिकाएका हुन् । गउन र चोलो लगार सजिएका मारुनीको रेखदेखमा खटिएकी थिइन्, हरिमाया कुमाल । पटुकी, नौगेडी माला पनि लगाउनुपर्ने उनले बताइन् । नाच प्रस्तुत गर्ने समूहले कुमाल समुदायको पहिचान झल्कने पोसाक लगाउने गरेको उनले सुनाइन् । ‘कहिलेकाहीँ नाच्दानाच्दै लुगा बिग्रन सक्छ, मिलाउने मान्छे चाहियो,’ उनले भनिन्, ‘म गीत पनि भन्छु, मारुनी पनि सिंगार्छु ।’ सानो उमेर छँदा मारुनी नाचेको हरिमायालाई अझै हेक्का छ । ‘नाच्दानाच्दै गीत भन्न पनि जानेँ,’ उनले भनिन्, ‘अहिले बुढेसकाल पनि लायो, नाच्न सुहाएन, गीत भन्छु ।’ गाउँका वयस्क उमेर समूहका युवायुवतीलाई पाङदुरे नाच्न सिकाउने उनले बताइन् ।

मादलको ताल काट्दै र पाङदुरे नाच्दै गरेका भारते र मारुनीलाई मानबहादुर कुमालले हौसला थप्दै थिए । अन्य समयमा भारतेको भूमिकामा पनि देखिने मानबहादुर आइतबार भने मादल बजाउँदै मारुनीको बीचमा छिरेर अघिपछि गर्दै नाचे । ‘गाउँका हामी दुई/तीन जना भारतेको भूमिका पनि निर्वाह गर्न सक्ने खालका छौँ,’ उनले भने, ‘यो नाचमा सबैभन्दा ठूलो भूमिका भारतेकै हुन्छ ।’ गीत बुझेर ८ वटा तालमा नाच्नुपर्ने उनले बताए । ‘आफू मात्र नाचेर भएर मारुनीलाई पनि हेर्नुपर्‍यो,’ उनले थपे, ‘फेरि यो झ्याउरे तालमा जस्तो नाच्न पनि मिल्दैन ।’ मादल र झ्याली अनिवार्य चाहिने गरेको उनले बताए । गीत भने जति जनाले गाउन पनि मिल्ने उनले बताए ।

पाङदुरे नाच्दा गाउने गीत कुमाल भाषाकै हुने टोपबहादुर कुमालले बताए । यसरी गाउँदै हिँड्दा भाषा संरक्षणमा पनि सघाएको उनले बताए । ‘देवीदेवता पुकारेर गीत सुरु हुन्छ,’ उनले भने, ‘हामी कुमाल जातिकै भाषामा गीत भन्छौँ, यो गाउन सके हाम्रो भाषामा पोख्त भइन्छ ।’ गाउँमा हुने शुभकार्य पूजा, व्रतबन्ध तथा सार्वजनिक कार्यक्रममा उक्त नाच प्रस्तुत गर्दै आएका छन् । नाच प्रस्तुत गरेबापत गच्छेअनुसार दक्षिणा पनि दिने उनले बताए । ‘नयाँ पुस्ता पनि यसतर्फ आकर्षित भएका छन्,’ उनले भने ।

प्रकाशित : माघ १, २०७६ ०९:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आज माघे संक्रान्ति, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — आज माघ १ अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ ।थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्।

काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले आफ्‍नो महान चाड माघे संक्रान्तिका अवसरमा काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गरेका छन् । नेपाल मगर संघको आयोजनामा टुँडिखेलमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।

यस्तै नुवाकोट र धादिङका विभिन्न स्थानमा संक्रान्तिका अवसरमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा ८, लिखु गाउँपालिका–३ कट्टीछापमा ३, तादी गाउँपालिका–४ सातबिसेमा १०, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा ५ हल गोरु आज जुधाउन लागिएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा ७ हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ । तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापन ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ ले गरेको छ । संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीको अनुसार चन्दनीमा २१ हल गोरु जुधाउन लागिएको बताए ।

तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण सुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण सुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।

महाभारतको युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

प्रकाशित : माघ १, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×