कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातोपानीमा व्यवस्थापन विवाद

‘तातोपानीको व्यवस्थापन मोडालिटी र डीपीआरबिना मौखिक रूपमा निर्णय हुन्न’
घनश्याम खडका

म्याग्दी — प्राकृतिक उपचारका लागि प्रसिद्ध यहाँको तातोपानी कुण्ड व्यवस्थापनको जिम्मा निजी क्षेत्रले लिन प्रस्ताव अघि सारेपछि विवाद सुरु भएको छ ।

तातोपानीमा व्यवस्थापन विवाद

म्याग्दी प्रवासी नेपाली संघ (मोना) का अध्यक्ष चक्र थापा र पूर्वअध्यक्ष योगेन्द्र केसी समेत गैरआवासीय नेपाली संघ (एनआरएन) आबद्ध सदस्यहरूले तातोपानीको मुहानलाई लिजमा लिएर चलाउने प्रस्ताव अघि सारेका छन् । लामो समयदेखि समुदायको व्यवस्थापनमा बर्सेनि उल्लेख्य रकम आम्दानी गर्दै आएको प्राकृतिक कुण्डमा उनीहरूले चासो राखेपछि विवाद सुरु भएको हो ।


‘अहिले तातोपानीमा थोरै मान्छे आउँछन्, थोरै आम्दानी हुन्छ । नयाँ व्यवस्थापन र स्वरूपमा सञ्चालनपछि धेरै मान्छे ल्याई बढी आम्दानी गर्न सकिन्छ । विदेशबाट पनि तातोपानीमा बिरामी ल्याउन सकिन्छ,’ मोना अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन कोषका अध्यक्ष केसीले भने, ‘सम्भावना देखेरै लगानी गर्ने हो । माया, राजनीति र व्यापार एकै ठाउँमा अँट्दैनन् । ठूलो लगानी ल्याउन सानो चित्त नगरौं ।’


स्थानीयले तातोपानीमा हत्तपत्त अस्पताल पुग्न नसक्ने गरिबगुरुवाहरूले उपचार गर्ने थलो भएकाले लगानी भित्र्याउने नाममा प्राकृतिक सम्पदाको व्यापारीकरण गर्न नहुने तर्क गर्दै आएका छन् । सयौं वर्षदेखि स्थानीयले तातोपानीमा डुबुल्की मारेर हट वाटर स्पा गरी प्राकृतिक उपचार गर्दै आएका छन् ।


‘तातोपानीको व्यवस्थापन मोडालिटी र डीपीआरबिना मौखिक रूपमा निर्णय हुन्न,’ नगर कार्यसमिति सदस्य कृष्ण विकले भने, ‘मोडालिटीमा अध्ययन गरौं र अन्य मोडालिटीलाई पनि खुला राखौं ।’ तातोपानीको कुण्ड व्यवस्थापन निजी क्षेत्रलाई दिने विषयमा स्थानीय सरकार पनि विभाजित छ । नगरप्रमुख हरिकुमार श्रेष्ठ निजी क्षेत्रलाई व्यवस्थापन दिने पक्षमा छन् ।


नगर कार्यपालिकाका अन्य सदस्यहरू भने अध्ययन नगरी प्राकृतिक स्रोतको व्यवस्थापनको जिम्मा दिन नहुने पक्षमा छन् । ‘जिल्लामा पर्यटन विकास गर्ने हो भने सिंगा तातोपानीलाई निजी क्षेत्रलाई व्यवस्थापन गर्न दिनु उपयुक्त हुन्छ,’ कुण्डका विषयमा स्थानीयसँगको अन्तरक्रियामा नगरप्रमुख श्रेष्ठले भने, ‘लगानी नभित्र्याई कसरी नगरको विकास हुन्छ ?’ तातोपानीमा ग्यास्ट्रिक, हाडजोर्नीका दुखाइ, उच्च रक्तचाप र छालाका रोग भएकाहरू प्राकृतिक उपचार गर्न आउँछन् ।


पछिल्लोपटक सपरिवार पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा पनि यहाँ आएका थिए । ‘दुर्गम बस्तीका विपन्न समुदायले परम्परादेखि नै रैथाने पद्धतिबाट उपचार गराउँदै आएको प्राकृतिक अस्पताल मानिएको तातोपानीलाई धेरै आम्दानी हुने लोभमा व्यापारीकरण गर्ने पक्षमा स्थानीय छैनन्,’ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भने, ‘प्राकृतिक स्रोतमा सबै वर्ग र समुदायको हक सुरक्षित गरेर सबैको संयुक्त प्रयासमा पनि व्यवस्थापन गर्न सकिन्छ ।’ प्रस्ताव आएको अवस्थामा अध्ययन गरेर मात्रै निष्कर्षमा पुग्नु उचित हुने उनले बताए ।


स्थानीय सरस्वती माविका निजी स्रोतका ११ शिक्षकलाई तलब–भत्ता तातोपानी कुण्डको आम्दानीमा निर्भर छ । हालको सिंगा तातोपानी कुण्डदेखि माथि ३० मिटर क्षेत्रफलमा थप दुईवटा तातोपानीका मूलहरू खेर गइरहेकाले तिनै मूललाई निजी क्षेत्रले व्यवस्थापन गर्न उपयुक्त हुने पनि स्थानीयको सुझाव छ ।


‘नजिकै तातोपानीका दुईवटा मूल खेर गएका छन्, तिनलाई व्यवस्थित गर्न सके तातोपानीको नयाँ गन्तव्य तयार हुन्छ,’ स्थानीय भीम छन्त्यालले भने, ‘ठूलो माछाले साना माछा निल्छ । निजी क्षेत्र र सामुदायिक दुवै मोडेलमा काम गरौं ।’


तातोपानीका मुहानहरू उपचार गर्ने थलो मात्र होइन स्थानीय विद्यालय सञ्चालनका बलिया आधार पनि हुन् । तातोपानी कुण्डमा आउनेबाट सीमित संख्याका होटलले व्यापारबाट फाइदा लिएका छन् ।


कुण्डको आम्दानीबाट स्थानीय विद्यालय र सामाजिक क्षेत्रलाई लगानीमा भरथेग गरेको छ । अध्यक्ष शाक्यका अनुसार तातोपानी कुण्डबाट आर्थिक वर्ष २०७२/७३ मा ४८ लाख, २०७३/७४ मा ५२ लाख र २७४/७५ मा ५८ लाख आम्दानी भएको थियो ।


गत साउनदेखि मंसिरसम्मको ५ महिनामा २० लाख आम्दानी भएको छ । कुण्डमा जीउ डुबाउन बिरामी आउने मुख्य सिजन माघदेखि वैशाखसम्म हो । स्थानीय स्रोतबाट सञ्चालित सरस्वती सामुदायिक माविमा ११ जना शिक्षकको तलवब–भत्तामा खर्च दिएर पनि आम्दानीको २० प्रतिशत बेनी नगरपालिकाको कोषमा जम्मा हुने गरेको छ ।


उता अन्धगल्छी क्षेत्रको अर्को भुरुङ तातोपानीमा आन्तरिक तथा बाह्य पर्यटक राख्ने संरचना निर्माणको योजना अन्नपूर्ण गाउँपालिकाले अघि सारेको छ । उक्त निर्माण योजना ५३ लाख रुपैयाँमा ठेक्का लगाएको छ । ‘तातोपानी यहाँका बासिन्दाको रोजीरोटीको माध्यम र विद्यालयसमेत सामाजिक कामको आर्थिक मेरुदण्ड हो,’ स्थानीय व्यवसायी कृष्ण खड्काले भने, ‘समुदायले मात्र व्यवस्थापन गर्न सकेनन् भन्ने लाग्छ भने नयाँ मोडेल तयार पारेर स्थानीय सरकारले नै व्यवस्थापन गर्न सक्छ ।’


म्याग्दी खोलामा मात्र होइन, जिल्लामा कालीगण्डकी र राहुघाट खोला किनारमा १० वटा हाराहारीमा तातोपानीका मूलहरू छन् । यीमध्ये बेनी–४ स्थित म्याग्दी खोला किनाराको सिंगा र अन्नपूर्ण–२ कालीगण्डकी किनारको भुरुङ तातोपानी मुहान बढी प्रख्यात छन् ।

प्रकाशित : पुस १७, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?