कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

गुफा चिनाउन ‘सर्किट रुट’

कान्तिपुर संवाददाता

पर्वत — कुश्मा नगरपालिकामा चारवटा ऐतिहासिक गुफा छन् । गुप्तेश्वर, अलपेश्वर, पार्वती र लालेश्वर गुफा । ऐतिहासिक र पर्यटकीय दृष्टिले चारवटै गुफा महत्त्वका भए पनि सदरमुकामको नजिकको गुप्तेश्वर गुफा मात्रै बढी चर्चामा छ ।

गुफा चिनाउन ‘सर्किट रुट’

३८ औं विश्व पर्यटन दिवस मनाउन भेला भएका पर्यटनव्यवसायी र सरोकारवालाले पर्वतलाई चिनाउने हो भने चारवटै गुफा समेटेर ‘सर्किट रुट’ आवश्यक पर्ने बताए । पर्वत पर्यटन प्रवद्र्धन केन्द्रले कुश्मा ९ को अलपेश्वर गुफामा आयोजना गरेको अन्तरक्रियाका सहभागीले विश्वका विकसित देशमा पर्यटनका क्षेत्रमा भएका असल अभ्यासको चर्चा मात्रै गरेनन्, हामीले यहाँ आउने आन्तरिक पर्यटकको मान गर्न सके मात्रै कुश्माको एक तिहाई अर्थतन्त्र पर्यटनले धानिने दाबी गरे ।


थाइल्यान्डको ३० प्रतिशत अर्थतन्त्र पर्यटनबाट धानिएको स्मरण गर्दै समाजशास्त्री एवं नेकपाका नेता गोविन्द पहाडीले भने, ‘हामी १० मिनेट समुद्रको यात्राबाट फर्कंदा किनारमा व्यक्तिपिच्छेका तस्बिर अंकित प्लेट बिक्रीका लागि राखिएका । हामीले चाहेर पनि नाइँ भन्नै सकेनौं । त्यहाँ त्यस्ता व्यवसाय असंख्य हुन्छन् ।’ हामीले पर्यटकसँग गर्ने व्यवहार र रिझाउने कलाले व्यवसायिकताको जग बस्ने उनले बताए ।


मुलुकमै अग्ला र लामा झोलुंगे पुलले कुश्मामा पर्यटक बढाएको छ । ती पुलसँग गुफा जोडेर प्रवद्र्धन गर्न सके आर्थिक लाभ लिन सकिने सहभागीको राय थियो । पर्यटनको विकासका लागि प्रवद्र्धनात्मक, पूर्वाधार र व्यवसायलाई मुख्य आधार बनाएर काम गर्नुपर्नेमा उद्योग वाणिज्य संघका महासचिव ठाकुर पौडेलले जोड दिए । ‘आन्तरिक पर्यटनलाई फोकस गरेर प्याकेज बनाउन सके धेरै लगानी गर्नै पर्दैन,’ उनले भने, ‘गोरो छाला भएका मात्रै पर्यटक हुन् भन्ने धारणा हटाउनुपर्छ ।’


अलपेश्वर धार्मिक पर्यटन विकास समितिका संयोजक प्रेमनारायण अधिकारीले अलपेश्वर, पार्वती, लालेश्वर र गुप्तेश्वर गुफासँग पौराणिक इतिहास जोडिएको बताए । यी चारै गुफालाई जोड्नेगरी स्थलमार्ग बनाउन सके पर्यटकको आगमन बढ्ने उनको भनाइ थियो । अलपेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पीसीले गुफाको चर्चा बमोजिम विकास र आगन्तुकको ध्यान खिच्न नसकेको बताए । साउने सोमबार र बालाचतुर्दशीलगायतमा मेला लाग्ने गुफा अरूबेला सुनसानजस्तै हुने गरेका छन् । गुफा अझै पनि आन्तरिक पर्यटक मात्रै पुग्ने थलोका रूपमा छ ।


पर्यटन प्रविधिसँग रूपान्तरण भन्ने यो वर्षको पर्यटन दिवसको नारा व्यवहारमै लागू गर्न स्थानीय स्तरबाटै कदम चाल्नुपर्ने पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताए । ‘प्रविधिले अहिले विश्व धेरै नजिक छ,’ उनले भने, ‘हामी परम्परावादी सोचमा अल्झिरहेका छौं । एउटा फोटोले मात्रै विश्वमा चर्चा हुन्छ । हामीले त्यसो किन नगर्ने ?’ कार्यक्रममा कुश्मा ९ का वडाध्यक्ष कृष्ण शर्मा लामिछानेले अब कुश्मा नगरपालिकाले पर्यटनको छुट्टै गुरुयोजना बनाउनुपर्ने बताए । कुश्माका अग्ला पुल र गुफाको प्रवर्धन मात्रै गर्न सके पनि आर्थिक उपार्जन हुने उनले बताए ।

प्रकाशित : आश्विन १३, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?