नारायणी नदीको देवघाटदेखि गोलाघाटसम्म फेला परेको फोहोर विश्लेषण, सबैभन्दा धेरै प्लास्टिकजन्य
काठमाडौँ — नारायणी नदी किनारमा प्लास्टिक फोहरको मात्रा सबैभन्दा उच्च भेटिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने नारायणी नदीको देवघाटदेखि गोलाघाटसम्म फेला परेको फोहोर विश्लेषण गर्दा यस्तो अवस्था पत्ता लागेको हो । फोहरमैला लगायतका विषयमा चेतनामूलक अभियान सञ्चालन गर्दै आएको चितवनका युवाको संस्था ‘बेटर चितवन’ले नदी किनारको फोहोरबारे अध्ययन गरेर आइतबार प्रतिवेदन सार्वजनिक गरेको हो ।
देवघाटको दुई क्षेत्र स्नानघाट र दाहसंस्कार स्थल, जोरकुसुम पार्क, नारायणगढ नदी किनारको विद्यालयपछाडि र प्रदर्शनी स्थल क्षेत्र, नगरवन नदी किनार, शिवघाटको भँगेरीथान र भरतपुरको अन्तिम पश्चिमी विन्दु गोलाबाट गरी आठ स्थानमा फोहोरको अवस्थाबारे विश्लेषण गरिएको बेटर चितवनका पूर्वअध्यक्ष तथा अध्ययन संयोजक सागर कार्कीले जानकारी दिए । यी क्षेत्रमा भेटिएका फोहोरमध्ये साढे ४२ प्रतिशत प्लास्टिकजन्य छन् । देवघाट क्षेत्रमा भने ७२ प्रतिशतभन्दा धेरै रहेको कार्कीले बताए ।
नगरवनमा लगभग २३ प्रतिशत फोहोर भेटिएको छ । यहाँ केही समयअघिसम्म भरतपुर महानगरपालिकाको फोहोर पुर्ने गरिन्थ्यो । अहिले भने त्यहाँ फोहोर पुर्न बन्द भएको छ । महानगरले जलदेवी बरण्डाभार जंगलमा लगेर फोहोर पुर्न सुरु गरेको छ ।
बेटर चितवनले नवलपुर गैंडाकोटको सहमति नामक संस्थाले सञ्चालन गरेको ‘नदीसँग हामी’ परियोजनाअन्तर्गत फोहोरको अवस्थाको लेखाजोखा गरेको हो । बेटर चितवनका तर्फबाट परियोजनाको संयोजन गरेकी आकृति सुवेदीका अनुसार गएको कात्तिक २४ गतेदेखि ३० गतेसम्म यसबारेमा अध्ययन भएको थियो । यी आठ क्षेत्रमा १५ मिटर व्यासभित्र भेटिएका फोहोर विश्लेषण गरेको उनले जानकारी दिइन् ।
नदी किनारमा दोस्रो नम्बरमा कपडाको फोहर १७ दशमलव १४ प्रतिशत भेटिएको छ । तेस्रो नम्बरमा सिसा १२ दशमलव ६२ प्रतिशत र कुहिने फोहर ७ दशमलब ८९ प्रतिशत भेटिएको छ । त्यसपछि अस्पतालबाट निस्कने फोहोर ४ दशमलब ६९ प्रतिशत र कागज ४ दशमलब शून्य दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । धातु र काठ डेढ प्रतिशत र माटोको भाँडा साढे दुई प्रतिशतको हाराहारीमा छन् ।
प्लास्टिकका फोहोर सबै विन्दुमा भेटिएको कार्कीले बताए । भँगेरीथानजस्ता ठाउँमा लागुपदार्थ दुर्व्यसनीले प्रयोग गर्ने सिरिन्ज र घुम्न डुल्न आउनेहरुले खाएर फाल्ने बिस्कुट, चिप्सका प्लास्टिक फेला परेको उनले बताए । ‘फोहोर व्यवस्थापनमा अलिकित ध्यान दिने हो भने पनि भँगेरीथान जस्तो ठाउँमा फोहोर नै हुँदैन । तर यसको ख्याल वडा कार्यालयले पनि नराखेको पाइयो,’ कार्कीले भने ।
नारायणी नदी धार्मिक दृष्टिले पवित्र मानिन्छ । देवघाटमा स्नान र दाहसंस्कार स्थल नै छ । गोलाघाट पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ । चितवन निकुञ्ज हुँदै बग्ने भएका कारण जंगली जीवजन्तुका लागि पनि यो नदी निकै नै महत्वपूर्ण छ । पर्यावरण र धार्मिक दृष्टिले महत्वपुर्ण हुँदाहुँदै पनि फोहोरमैलाको अवस्था भयावह देखिएको अध्ययन संयोजक कार्कीले बताए ।
फोहोरमैलाको राम्रो र दिगो व्यवस्थापन नभए नारायणीको अवस्था बिग्रन समय नलाग्ने नदीसँग हामी परियोजनाको बेटर चितवनका तर्फबाट संयोजक रहेकी आकृति सुवेदीले बताइन् । ‘फोहोरमैलाको व्यवस्थित संकलन र विसर्जनमा महानगरले ध्यान दिएर योजना बनाउनु आवश्यक देखियो । त्यसैगरी देवघाट र गोलाघाट क्षेत्रलाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरेर कार्यन्वयनमा ल्याउनुपर्ने भएको छ,’ सुवेदीले भनिन् ।
ढल र मलमूत्र सिधै नदीमा मिसाउने काम रोक्न नीतिगत व्यवस्था गरी कडाइसाथ कार्यान्वयन गर्न पनि उनले महानगरपालिकासँग माग गरिन् । देवघाटदेखि गोलाघाटसम्म सात ठाउँबाट प्रशोधन नगरेको ढलको पानी सिधै नदीमा मिसाएको पाइएको उनले जानकारी दिइन् । ढल मिसावटदेखि अव्यवस्थित मेला महोत्सव र घुम्न आउनेले गर्ने लापरबाहीका कारण नदीमा फोहर बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।
