रोल्वालिङ क्षेत्रमा १४ पर्यटक अलपत्र, बेदिङ सम्पर्क विच्छेदमा 

असार २५, २०८१

केदार शिवाकोटी

14 tourists stranded in Rolwaling area, Beding disconnected

दोलखा — रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको झोलुंगे पुल र २ वटा फड्के बगाएपछि च्छोरोल्पा हिमताल पुगेका १४ जना पर्यटक ५ दिनदेखि अलपत्र परेका छन् । रोल्वालिङ क्षेत्रमा रहेका उनीहरुको प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको छैन ।

गौरीशंकर गाउँपालिका–९ को पर्यटकीय गाउँ ना र बेदिङको बीचमा ठूलो पहिरो गएर उनीहरु नामा अलपत्र परेका हुन् । नामा १४ जना पहिरोका कारण अलपत्र परेको स्थानीय होटल व्यवसायी दावाछिरिङ शेर्पाले बताए । ‘बेदिङ र नाको बीचमा ठूलो पहिरो गएको छ, पहिरो छिचोलिन सक्दैनौं,’ उनले भने, ‘नामा खाद्यान्नसमेत सकिन लागेकाले तत्काल उद्धार गरिदिन आग्रह गरेका छौं ।’

बेदिङमा पनि समस्या उस्तै भएकाले स्थानीयलाई उद्धार वा तत्काल खाद्यान्न ढुवानी गरिदिन सरकालाई आग्रह गरेको उनले बताए । बेदिङ र नामा खाद्यान्न अभाव हुन नदिन स्थानीय प्रशासनसँग समन्वय भइरहेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले बताए । ‘बेदिङमा अब एक साताका लागि पुग्ने खाद्यान्न मौज्दात रहेको भनेर स्थानीयले भनेका छन्,’ उनले भने, 'पदमार्ग क्षतिग्रस्त र खोलाका फड्के र पुल बगाएकाले हेलिकप्टरबाट ढुवानी गर्न डेढ महिनालाई पुग्ने खाद्यान्न तयारी गरेका छौं ।’

प्रतिकूल मौसमका कारण हेलिकप्टर उडान हुन नसक्दा अलपत्र पर्यटक र खाद्यान्न ढुवानीमा समस्या भएको उनले बताए । उनका अनुसार बेदिङका ४० भन्दा बढी स्थानीयलाई पुग्ने गरी खाद्यान्न लगायतका सामग्री तयारी अवस्थामा राखिएको छ । ना र बेदिङमा अलपत्र परेका पर्यटकको उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली बाढीले फड्के र पुलसहित पदमार्गमा क्षतिग्रस्त बनाएपछि सुर्मुचेबाट फर्किएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए । संचारविहीन भएका कारण उद्धारमा थप कठिनाइ भएको उनले बताए । नामा सोलुखुम्बु, दोलखा लगायतका जिल्लाका आन्तरिक पर्यटक अलपत्र परेको पोखरेलले जानकारी दिए । 

यस्तै बाढीका कारण पर्यटकीय गाउँ ना र बेदिङ सदरमुकामबाट सम्पर्क विच्छेद बनेको छ । संचारविहीन भएका कारण त्यहाँका स्थानीयहरुको अवस्था यकिन गर्न नसकिएको पोखरेलले बताए । उद्धारका लागि गृह मन्त्रालयमा जानकारी गराइए पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर उडन उक्त क्षेत्र जान सकेको छैन । तत्कालका लागि मौसम खुलेपछि बेदिङ र नामा खाद्यान्नलगायत ढुवानी गर्नेगरी गृहसँग समन्वय भैरहेको पोखरेलले बताए । ‘बाढीले पदमार्गका फड्के पुलमा क्षति बनाएका कारण उद्धार गर्न कठिनाइ भएको छ,’ उनले भने, ‘खाद्यान्न अभाव हुन नदिन हेलिकप्टरबाट ढुवानी गर्ने तयारी थालेका छौं ।’ 

गएको शुक्रबार रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको डोगाङका साना-ठूला ८ होटल बगाउनुका साथै १ जना बेपत्ता बनाएको थियो । बाढीबाट होटलका सामान निकाल्ने क्रममा बेपत्ता गौरीशंकर–९ की ६४ वर्षीया जाङ्मु शेर्पा अझै फेला पर्न सकेकी छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

बाढीले बेदिङमा लगिएको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवासमेत अवरुद्ध भएपछि बेदिङ संचार सेवाविहीन बनेको छ । 

केदार

Link copied successfully