काभ्रेमा सुनका गरगहना लुटपाट गर्ने ३ जना पक्राउ

ज्योती श्रेष्ठ

काभ्रे — सुनका गरगहना लुटपाट गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते दिउँसो ३ बजेतिर धुलिखेल नगरपालिका-१० की ३६ वर्षीया अनिता थापा पनौती नगरपालिका-५ गैरीगाउँबाट घर फर्कने क्रममा लुटेराहरुले खुकुरी देखाई मार्ने धम्की दिई गहना लुटेका थिए ।

काभ्रेमा सुनका गरगहना लुटपाट गर्ने ३ जना पक्राउ

उक्त सूचना पाएलगत्तै प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीको टोलीले अनिताको गहना लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार, पक्राउ पर्नेमा तेमाल गाउँपालिका-२ सर्स्यौंखर्क घर भई हाल पनौती नगरपालिका-४ मा डेरा गरी बस्दै आएका २७ वर्षीय आकाश दोङ र खानीखोला गाउँपालिका-१ फलामेटार घर भई हाल पनौती नगरपालिका-६ बस्दै आएका २७ वर्षीया श्रीराम लोप्चन रहेका छन् ।

पक्राउ परेका दुवै जनामाथि सोधपुछ गर्ने क्रममा भदौ २९ गते दिउँसो १ बजेतिर घाँस बोकेर आउँदै गरेकी पनौती नगरपालिका-८ की ४८ वर्षीया तुलसी बञ्जाराको झुम्का उनीहरुले नै लुटेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनीहरुको साथबाट प्रहरीले सुन जस्तो देखिने तिलहरी १ थान, टप सहितको झुम्का दुई थान, झुम्का अड्याउने सिक्री १ थान र खुकुरी १ थान बरामद गरेको इप्रका बनेपाले जनाएको छ ।

आकाश र श्रीरामले विभिन्न स्थानबाट गहना लुटेर ल्याई ओखलढुंगाको साविक बेलन्तुक गाविस ओख्रेनी घर भई हाल पनौती नगरपालिका-४ ठाडोबोटोमा बस्दै आएकी ४५ वर्षीया संगीता तामाङलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सुन खरिद तथ बिक्री गर्ने कार्यमा सहयोग गरेको अभियोगमा थप अनुसन्धानका लागि संगीतालाई पनि प्रहरीले पक्राउ गरेको इप्रका बनेपा प्रमुख प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । उनका अनुसार, पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद २० अन्तर्गत चोरी तथा र डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप भई विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रकाशित : आश्विन ३, २०८० १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?