कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विमानस्थल भए पनि रामेछाप-काठमाडौं उडान नभएकोमा रामेछापबासीको गुनासो

टीकाप्रसाद भट्ट

रामेछाप — सरकारले हरेक वर्ष करोडौं रुपैयाँ लगानी थप्दै निर्माण गरेको रामेछाप विमानस्थलबाट जिल्लाबासीले सेवा नपाएको गुनासो बढेको छ । बिहीबार रामेछाप विमानस्थलको निरीक्षणका लागि पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग स्थानीयले साताको कम्तीमा एकपल्ट रामेछापबाट-काठमाडौं उडान हुनुपर्ने माग गरेका छन् ।

विमानस्थल भए पनि रामेछाप-काठमाडौं उडान नभएकोमा रामेछापबासीको गुनासो

रामेछापबाट हवाई कम्पनीले लुक्लाका लागि उडान गर्ने तयारी गरे पनि रामेछापबासीले सेवा नपाएको उनीहरूको गुनासो थियो ।

‘हाम्रो विमानस्थल प्रयोग गरेर संघीय राजधानी जान पाउनुपर्‍यो‚’ स्थानीय शान्ता पौडेलले भनिन् । निजी क्षेत्रको तारा एयरले केही वर्षसम्म रामेछाप-काठमाडौं यात्रुवाहक हवाई सेवा सञ्चालन गरे पनि हाल सेवा बन्द गरेको छ । कर्मचारी, घर बहाल र अन्य व्यवस्था भए पनि उक्त एयरलाइन्सले रामेछापबासीको मागलाई त्यति चासो दिएको छैन ।

विमानस्थलका पूर्वाधार र स्थानीय समस्याबारे विमान कम्पनी र प्राधिकरणका अधिकारीहरूले मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । श्रेष्ठले विमानस्थलमा थप गर्नुपर्ने पूर्वाधार र सुरक्षाका उपकरणहरू थप गर्ने र रामेछापबासीको मागबमोजिम काठमाडौंका लागि यात्रुवाहक हवाई सेवा सञ्चालनका लागि आफ्नो ध्यानाकर्षण भएको बताए । रामेछापबासीको माग जायज रहेको बताउदै मन्त्री श्रेष्ठले भने‚ ‘म प्राधिकरणका अधिकारीसँग सल्लाह गरेर उडान सञ्चालनका लागि आवश्यक व्यवस्थापन मिलाउने छु ।’ निरीक्षणका क्रममा नेकपा एकीकृत समाजवादीका नेता देवशंकर पौडेलले समेत रामेछापबासीको समस्यामा ध्यान दिन श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यही सेक्टेम्बर २५ देखि सोलुको लुक्ला विमानस्थलमा हुने उडान रामेछापबाट गर्ने तयारी गरेको छ । प्राधिकरणको निर्देशनबमोजिम निजी क्षेत्रको तारा, समिट र सीता एयरले रामेछाप विमानस्थलबाट गर्ने उडानका लागि तयारी थालेका छन् । सोही सिलसिलामा समिट एयरको विमान चढेर बिहीबार अपराह्न मन्त्रीसहित मन्त्रालय र उड्डयन प्राधिकरणको टोली रामेछाप आइपुगेको हो ।

हिमाली दृष्यावलोकनका लागि उत्कृष्ट मानिएको पर्यटकीय सिजनलाई केन्द्रित गरेर नेपाल घुम्न आउने पर्यटकलाई लुक्लासम्म पुर्‍याउन काठमाडौंको विमानस्थल प्रयोग गर्दा मौसम र विमानस्थलमा भएको हवाई चापका कारण गर्नुपर्ने प्रतीक्षाले गर्दा चाहेको समयमा उडान हुन नसक्ने देखिएकाले विकल्पको रुपमा रामेछाप विमानस्थलबाट लुक्लासम्म पर्यटक पुर्‍याउने उपाय खोजिएको हो । सन् २०१८ र २०१९ मा समेत रामेछाप विमानस्थल प्रयोग गरेर पर्यटकहरूलाई लुक्लासम्म पुर्‍याइएको थियो ।

काठमाडौंबाट बीपी राजमार्ग हुँदै १ सय २७ किलोमिटर पार गर्दै रामेछाप विमानस्थलसम्म पुग्ने पर्यटकलाई त्यसपछि टुइनअटर जहाजमा राखेर लुक्ला ओसार्ने गरिएको छ । हिमाली दृष्यावलोकन सकेर काठमाडौं फर्किने यात्रुहरूलाई समेत रामेछापमा ओरालेर पुनः सडक मार्ग हुँदै काठमाडौं फर्काउने गरिएको छ ।

प्रकाशित : आश्विन ६, २०७९ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?