कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोसी ३ मा लगानी गर्न बंगलादेश इच्छुक

टीकाप्रसाद भट्ट

रामेछाप — नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धित नोमन चौधरीले रामेछाप र काभ्रेको सिमानामा निर्माण हुने जलासययुक्त सुनकोसी ३ जलविद्युत् आयोजना निर्माणमा लगानी गर्न बंगलादेश इच्छुक रहेको बताएका छन् ।

सुनकोसी ३ मा लगानी गर्न बंगलादेश इच्छुक

सुनकोसी ३ आयोजनाको बाँध निर्माणस्थलको अनुगमनका लागि बुधबार रामेछापको लुभु पुगेका राजदूत चौधरीले आयोजना निर्माणमा बंगलादेशले उच्च चासो दिएको बताए । चौधरीले आयोजनाको बाँध, उत्पादनगृह रहने स्थान र प्रभावित क्षेत्रको समेत अवलोकन गरेका थिए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोसी ३ जलासययुक्त आयोजना निर्माणका लागि बंगलादेशसँग धेरै चरणमा कुरा भइसकेको बताए । बंगलादेशबाट केही समयमै प्राविधिक टोली आयोजनाको बारेमा अध्ययनका लागि नेपाल आउने उनले बताए ।

घिसिङले बंगलादेश नेपालको विद्युत्‌को ठूलो बजार रहेको र अर्को ठूलो बजार भारतसँग समेत आयोजनामा मिलेर लगानी गर्न कुराहरू भइरहेको जानकारी दिए । नेपाल, भारत र बंगलादेशको सह लगानीमा आयोजना निर्माणका लागि पनि सँगसँगै वार्ता भइरहेको उनले बताए । घिसिङले ठूला जलासययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा विद्युत्‌सँगै पर्यटनको विकास हुने भएकाले पनि सुनकोसी ३ जस्ता आयोजना चाडो निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्युत विकास विभागका महानिर्देशक संजीव देवले सुनकोसी ३ जलविद्युत् आयोजनाको अध्ययन विभागले अन्तिम चरणमा पुर्‍याएको बताए । सन् १९८५ मा जापानले प्रारम्भिक अध्ययन गरेको उक्त आयोजनाको २०७४ सालदेखि विद्युत विकास विभागले अध्ययन थालेको थियो ।

कुल ६ सय ८३ मेघावाट विद्युत उत्पादन हुने उक्त आयोजनाको बाँध रामेछाप र काभ्रेको सिमा लुभुघाटमा निर्माण हुनेछ । सुनकोसी नदीमा १६० मिटर चौडा र १ सय ८० मिटर उचाईको बाँध निर्माण गरी २ वटा सुरुङबाट करिव ४ सय मिटर टाढा काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा पर्ने तित्रेटारमा निर्माण हुने उत्पादन गृहमा खसाल्ने योजना छ । उत्पादन भएको विद्युत २५ किलोमिटर लामो प्रशारण लाईनबाट सुनकोसी मरिण डाईभर्सन आयोजनाको विद्युत गृह नजिक निर्माण हुने सवस्टेशनसम्म पुर्‍याइ केन्द्रीय प्रशारण लाइनमा जोडिने लक्ष्य रहेको महानिर्देशक देवले बताए ।

सुनकोसी ३ जलासययुक्त आयोजनाले काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका १ हजार ५ सय ६५ घर डुवानमा पर्ने, जलआधारको ४५ किलोमिटर क्षेत्र प्रभावित हुने देवले बताए । सुनकोसी ३ निर्माण गर्दा जलासयमा जम्मा हुने पानी ईन्द्रावति नदी तर्फ सिपाघाट सम्म र सुनकोसी तर्फ बलेफी सम्म ताल बन्नेछ ।

लुभुमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रमा पर्ने रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ, नेपाली कांग्रेसका नेता रामचन्द्र खड्का, नेकपा एमालेका भुवन विक्रम घिमिरे, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लिला चौलागाई र सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले सुनकोसी ३ जलासययुक्त आयोजना चाडो भन्दा चाडो निर्माण गर्नुपर्नेमा जोड दिदै स्थानीय स्तर र प्रभावित क्षेत्रका सबै वासिन्दाको सहयोग हुने बताएका थिए ।

प्रकाशित : असार २९, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?