कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलितका लागि छुट्टै ‘किरियापुत्री प्रतीक्षालय’

दोलखा — बजेटमै दलित समुदायलाई विभेद गरेको भन्दै तामाकोशी गाउँपालिकाका जनप्रतिनिधि विवादमा परेका छन् । शुक्रबार सार्वजनिक पालिकाको बजेटमा वडा नं. ५ मा दलित समुदायका लागि छुट्टै किरियापुत्री प्रतीक्षालय बनाइने भनेर उल्लेख गरिएको छ ।

प्रतीक्षालयका लागि २ लाख रकम विनियोजन गरिएको छ । पालिकाले समाजमा रहेको विभेदलाई बजेटमै समावेश गरेर बढावा दिएको भन्दै दलित अगुवाले विरोध जनाएका हुन् । वडा नं. ५ का अध्यक्ष शम्भु फुँयालले सामाजिक सञ्जालमा वडामा परेको योजना सार्वजनिक गरेपछि विवाद भएको हो ।

गत स्थानीय तह निर्वाचनमा पालिकाका अध्यक्षका उम्मेदवार अभिषेक सुवेदीले उक्त निर्णयको आलोचना गरेका छन् । उनले भोलिका दिनमा दलितका लागि छुट्टै विद्यालय, शौचालय, अस्पताल र बाटो भनेर बजेट नआउला भनेर भन्न नसकिने भन्दै व्यंग्य गरे । यस्तै सोही वडाका दलित अगुवा दिलीप सुन्दासले जनप्रतिनिधिले समाजलाई कता लैजाँदै छन् भनेर प्रश्न गरेका छन् । पालिकाका निर्वतमान अध्यक्ष ईश्वरचन्द्र पोखरेलले पनि योजनाको नामकरणमा विरोध जनाए । चौतर्फी आलोचना भएपछि वडाध्यक्ष फुँयालले योजना छनोटका बेला नामकरण गरिएको बताए । उक्त समुदायले नै योजनाको प्रस्ताव गरिएकाले ठीकै लागेर पारित गरिएको उनको भनाइ छ । ‘हामी समतामूलक समाज निमार्णमा प्रतिबद्ध छौं,’ उनले भने, ‘गैरदलितको घाटमा उहाँहरूलाई निषेध छ, उहाँहरूको समस्या देखेर योजना हालेका हौं ।’

गैर दलितका घाटमा प्रतीक्षालय छन् तर दलित समुदायले उक्त प्रतीक्षालय प्रयोग गर्न नपाएका कारण दलित समुदायको माग सम्बोधन गरिएको उनले दाबी गरे । ‘हामीले दलित समुदायको भावनामा ठेस पुर्‍याउन वडामा यस्तो योजना ल्याएको होइन,’ उनले भने, ‘उहाँहरूको माग सम्बोधन गरेको हो, स्थानीय दलित समुदाय खुसी भए पनि केहीले विरोध जनाएका छन् ।’ दलित समुदायको छुट्टै घाट भए पनि प्रतीक्षालय नहुँदा ओत लाग्ने स्थान समेत नभएको भन्दै गुनासो आएपछि २ लाख रुपैयाँ त्यसको निर्माणका लागि छुट्याएको उनले बताए । सुझावअनुसार उक्त प्रतीक्षालयको नाम परिवर्तन गर्न पालिकामा पठाइएको उनले जानकारी दिए । प्रतीक्षालयको नाम परिवर्तन गरेर ‘साउने पधेरो किरियापुत्री प्रतीक्षालय’ राख्ने गरी संशोधन गर्न पठाइएको उनले बताए ।

प्रकाशित : असार १६, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?