२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अष्टलक्ष्मी नेतृत्वको सरकार छिट्टै ढल्छ : राजेन्द्र पाण्डे

सुवास विडारी

मकवानपुर — नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेश सरकार छिट्टै ढल्ने दाबी गरेका छन् ।

अष्टलक्ष्मी नेतृत्वको सरकार छिट्टै ढल्छ : राजेन्द्र पाण्डे

एकल बहुमत रहेको एमाले फुटेर नयाँ दल दर्ता भएसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको समयमा पाण्डेको यस्तो अभिव्यक्ति आएको हो । सांसद पाण्डेले दल दर्ताको आधिकारिक पत्र प्रदेशसभामा आएसँगै शाक्यलाई दिएको समर्थन फिर्ता लिने बताए । ‘हामीले समर्थन फिर्ता लिएपछि यो सरकार अल्पमतमा पर्छ । विश्वासको मत लिनुपर्ने हुन्छ,’ उनले भने । शाक्य नवगठित पार्टीमा आएको खण्डमा मुख्यमन्त्री मान्न सकिन्ने र एमालेमै रहेको खण्डमा नयाँ सरकार गठनका लागि कसरत गरिने उनले बताए ।

उनले शाक्यलाई मुख्यमन्त्रीबाट प्रक्रियागत रुपमा हटाइने बताए । ‘हामीसँग प्रदेशसभाका २१ जना सदस्य छन् । अझै थप्ने कोसिस गरिरहेका छौं । यो सरकार ढल्छ । अष्टलक्ष्मीलाई बिदाइ गरिन्छ । हामी गठबन्धनमा रहेका तीनवटा पार्टी मिलेर नयाँ सरकार बनाउँछौं,’ उनले भने । उनले माओवादी र कांग्रेससँग छलफल गरेर कसको नेतृत्वमा प्रदेश सरकारमा जाने तय गरिने बताए । ‘नेतृत्व ठूलो विषय होइन । हामी गठबन्धनमा छौं । नेतृत्वको विषय सजिलै टुंगिन्छ,’ उनले थपे ।

१ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, आधा दर्जनभन्दा बढी सांसदहरु नवगठित नेकपा (एकीकृत समाजवादी) मा खुलिसकेका कारण शाक्यले अब सदनबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुने देखिएको छ ।

वाग्मतीमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, विपक्षी दल नेपाली कांग्रेसका २२ सांसद छन् । साना दलहरु नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।

प्रकाशित : भाद्र १२, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?