२७ सय भूकम्पपीडितसँग सम्झौतै भएन

श्रावण ११, २०७८

कान्तिपुर संवाददाता

मकवानपुर — भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि मकवानपुरका २० प्रतिशत भूकम्पपीडितले अझै घर बनाएका छैनन् । २ हजार ६ सय ७२ लाभग्राहीसँग अहिलेसम्म सम्झौता नै हुन नसकेको हो ।

उनीहरूलाई लाभग्राहीको सूचीबाट लगत कट्टा गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाइसकेको प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख विमल किशोरले बताए । लाभग्राहीले सम्झौता गर्ने, पहिलो र दोस्रो किस्ता बुझेर लैजाने समय गुज्रिसकेको थियो । तर प्राधिकरणले सम्झौता गर्न बाँकी रहेका लाभग्राहीहरूलाई अन्तिम पटकका लागि भन्दै आगामी कात्तिक मसान्तसम्म सम्झौता गरेर घर बनाउन समयावधि तोकेको छ ।

मकवानपुरमा कुल लाभग्राही संख्या ३८ हजार ४ सय ५९ रहेकामा ३५ हजार ७ सय ८७ परिवारले निजी घर बनाउन अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये आइतबारसम्म २६ हजार ८ सय ७७ परिवार अर्थात् ८०.५ प्रतिशत लाभग्राहीले घर बनाएका छन् । अनुदान सम्झौता गर्नेमध्ये ३५ हजार ७ सय ७६ (९८ प्रतिशत) लाभग्राहीले पहिलो किस्ता लगेका प्राधिकरणको तथ्यांकमा देखिन्छ । दोस्रो किस्ता लिनेमा ३० हजार ९ सय ६६ र तेस्रो किस्ता लिनेमा २८ हजार ९ सय ७२ लाभग्राही छन् ।

निजी आवास निर्माण गर्न लगेको रकमले घर नबनाए उक्त रकम फिर्ता गर्नुपर्ने र फिर्ता नगरेमा कानुनी दायरामा ल्याएर असुल गरिने प्राधिकरणको भनाइ छ । मकवानपुरमा अहिलेसम्म २४ लाभग्राहीले रकम फिर्ता गरेका छन् । यसैगरी, घर प्रबलीकरण गर्ने लाभग्राही ९ हजार ५ सय ४१ जना छन् । तीमध्ये ७ हजार ४ सय ४ जनासँग मात्र अनुदान सम्झौता भएको छ । त्यसमध्ये पनि ७ हजार ३ सय ९७ जनाले पहिलो किस्ताबापतको रकम लगिसकेका छन् । तर दोस्रो किस्ताको रकम लैजानेको संख्या १ सय ९५ मात्रै रहेको इकाइले जनाएको छ ।

प्रबलीकरणका लाभग्राहीले २ किस्तामा गरेर एक लाख रुपैयाँ मात्र पाउँछन् । घरको प्रबलीकरण गर्न उक्त रकम अपुग हुने भएकाले लाभग्राहीले रकम लैजान रुचि नदेखाएका इन्जिनियर रवीन पाठकले बताए ।

कान्तिपुर

Link copied successfully