राजकुमार चेपाङ मृत्यु प्रकरण : सेनाका हुद्दा दोषी ठहर

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेका स्थानीय युवकलाई कुटपिट गर्दा मृत्यु भएको घटनामा नेपाली सेनाका हुद्दा चिरणकुमार बुढालाई चितवन जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीले सोमबार बुढालाई नौ महिना कैद र नौ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको अदालतका स्रेस्तेदार तथा सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिए ।

‘पीडित पक्षलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा दुई सय रुपैयाँ जम्मा गराउन पनि फैसलामा भनिएको छ,’ आचार्यले भने । कैद समय भुक्तान भइसकेका कारण हुद्दा चिरणकुमार बुढा सोमबारै कारागारबाट मुक्त भएका छन् । पूर्वी चितवन राप्ती नगरपालिका–२ पिप्ले मिलन चोकका २४ वर्षीय राजकुमार चेपाङलाई नियन्त्रणमा लिएर कुटपिट गर्दा मृत्यु भएपछि बुढाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

राजकुमारसहित मिलनटोलका सात युवायुवती जंगलमा न्युरो, अमिलो र खोलाका घोगी टिप्न गत वर्ष साउन १ गते दिउँसो घरबाट हिँडेका थिए । राप्ती खोला तरेर चितवन राष्ट्रिय निकुञ्जको सिमानाभित्र रहेको ज्युँडी खोलामा घोगी टिप्दै गर्दा उनीहरूलाई सेनाले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि बुढाले राजकुमार र अन्य युवालाई कुटपिट गरेको स्थानीयले बताएका थिए ।

त्यसपछि बिरामी भएका राजकुमारको हप्ता दिनपछि उपचारका लागि भरतपुर अस्पताल लैजाँदा निधन भएको थियो । राजकुमारका बाबु विष्णुलालले कुटपिटमा संलग्नलाई कारबाही गर्न गत वर्षको भदौ २५ गते चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

विष्णुलालले दिएको किटानी जाहेरीमा वटुक दल गणको अप्रेसनल अन्डर कमान्ड सिद्धिबक्स गणको प्यारीधाप गुल्मको लिगलिग पोस्टमा कार्यरत हुद्दा वर्ष ४० का चिरणकुमार बुढाले छोरालाई कुटपिट गरेको उल्लेख छ । किटानी जाहेरी परेको १० दिनपछि असोज ४ मा प्रहरीले बुढालाई पक्राउ गरेको थियो ।

प्रकाशित : असार २९, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

देउवासँग छलफल गरेर माओवादीले मन्त्रीको टुंगो लगाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति तथा भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर मन्त्रीको टुंगो लगाउने भएको छ ।

मंगलबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा नयाँ सरकारमा कसलाई पठाउने भन्नेबारे छलफल भएको थियो । बैठकका बारेमा जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालले देउवासँग छलफल गरेर मात्रै मन्त्रीको टुंगो लगाउने कुरा भएको बताए ।

नेता श्रेष्ठले सर्वोच्च अदालतबाट आएको फैसला कार्यान्वयन गर्न सबै राजनीतिक पार्टी र शक्तिलाई राष्ट्रिय सहमतिमा लगेर एकताबद्ध गर्ने बताए । 'भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष पुष्पकमल दाहालले सरकार सञ्चालन र स्वरूपबारे छलफल गरी मन्त्रिपरिषद् गठन हुनेछ,' नेता श्रेष्ठले भने । अध्यक्ष दाहालले देउवासँग सरकार सञ्चालनको निम्ति आवश्यक विविध विषयहरुमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपकोबारे ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको प्रक्रियालाई पहल गर्ने श्रेष्ठले बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल स्थायी कमिटीको बैठक सकेर देउवासँग छलफल बूढानीलकण्ठ पुगेका छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गरेका छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।

प्रकाशित : असार २९, २०७८ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×