नारायणगढ-मुग्लिन सडकमा ठाउँठाउँमा पहिरो


चितवन — अविरल वर्षापछि ठाउँठाउँमा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक शुक्रबार पनि अवरुद्ध छ ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले सो सडकखण्डको चार किलो र पाँच किलोमा पहिरो जाँदा शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको बताए । बिहान सात बजेतिर फेरि मुग्लिनदेखि सात किलो मिटर पर जलबिरेमा पहिरो गएको छ । जलबिरेको पहिरोमा एउटा ट्रकको आधा भागसमेत पुरिएको स्थानीय पत्रकार चित्र गुरुङले बताए ।
पहिरोले दुईतर्फी नै गाडी रोकिएका छन् । पहिरो पन्छाउने काम सुरु भए पनि गाडी चल्ने बनाउन समय लाग्ने अवस्था रहेको डीएसपी थापाले बताए । सो सडकमा पहिरो जाँदा बिहीबार बिहान सबेरैदेखि गाडी रोएिका थिए । बिहीबार चार किलो, पाँच किलो र केराबारीमा पहिरो गएको थियो । १४ किलोमा डाँडाबाट सडकमा ठूलो ढुंगा खसेको थियो ।
प्रकाशित : असार १८, २०७८ ०९:१४