१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भरतपुर महानगरको बजेट चार अर्ब १५ करोड

सहरी सौन्दर्य र भू–उपयोगमा सबैभन्दा बढी बजेट
रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाको बुधबार सुरु भएको छैटौं नगरसभामा चार अर्ब १५ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट पेस भएको छ ।

भरतपुर महानगरको बजेट चार अर्ब १५ करोड

नगरसभामा उप–प्रमुख पार्वती शाह ठकुरीले बजेट वक्तव्य राख्दै महानगरपालिकाले विभिन्न ११ वटा क्षेत्रलाई प्रथामिकतामा राखेर बजेट बाँडफाँड गरेको जानकारी गराइन् । सहरी सौन्दर्य र भू–उपयोगमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ ।

सहरी सौन्दर्य, भू–उपयोग र व्यवस्थित बस्ती विकासका कामका लागि ४७ करोड ३० लाख ९७ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको उप–प्रमुख शाहको भनाइ छ । अधुरा योजनाहरुलाई पनि प्रथामिकतामा राखेर कार्यन्वयनमा ल्याउने र यस आर्थिक वर्षमा भुक्तानी हुन बाँकी तथा बहुवर्षीय ठेक्का प्रणालीका योजनाको भुक्तानीका लागि एकमुष्ट ८२ करोड रुपैयाँ विनियोजन गरेको शाहले बताइन् ।

महानगरले कृषि र पशुपंक्षी गरेर दुई क्षेत्रका लागि साढे १५ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषिका लागि आठ करोड ५० लाख रुपैयाँ छ भने बाँकी सात करोड रुपैयाँ पशु विकास कार्यक्रमा खर्च गर्ने उप–प्रमुख शाहले जानकारी दिइन् । स्वास्थ्यका लागि साढे नौ करोड र शिक्षामा नौ करोड रुपैयाँ विनियोजन भएको छ । बजेटमा आन्तरिक आयको हिस्सा ९० करोड रुपैयाँ रहने अनुमान छ ।

अघिल्लो वर्ष अर्थात चालु आर्थिक वर्षका लागि महानगरपालिकाले चार अर्ब ५१ करोड २८ लाख रुपैयाँको बजेट पेस गरेको थियो । यो वर्ष ८० करोड रुपैयाँसम्म आन्तरिक आय हुने अनुमान छ । बजेट वक्तव्यमा कोभिड–१९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरुका लागि रोजगार सिर्जना गर्ने उद्देश्य राखेको उल्लेख छ ।

कोभिड–१९ लक्षित कार्यक्रममा संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधि तथा उपकरण र परामर्शदाताहरुसहितको मोबाइल क्लिनिक चलाउने, वडाहरुमा सञ्चालित होम क्वारेन्टाइनलाई व्यवस्थित गराउने भन्ने रहेको छ । नगरसभामा मेयर रेणु दाहालले पेस गरेको नीति तथा कार्यक्रममा विदेशबाट फर्कने युवाका लागि ‘विदेशको सीप स्वदेशका लागि’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

यसका लागि महानगरले सीप अनुसारको व्यावसायिक परियोजना बनाउन सहयोग गर्ने, बैंकबाट ऋण लिन सहजीकरण गर्ने र यन्त्र तथा उपकरणहरु खरिद गर्न पनि सहयोग गर्ने मेयर दाहालले जानकारी दिइन् । विदेशबाट फर्केका युवाका लागि तीन वर्षसम्मका लागि बैंकमार्फत शून्य ब्याजदरमा पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाउने नीति महानगरले लिएको मेयर दाहालको भनाइ छ ।

कोरोनाले आर्थिक संकट ल्याएका कारण पर्यटन र मनोरञ्जन व्यवसायमा २५ प्रतिशत र अन्यलाई १५ प्रतिशत कर छुट दिने नीति रहेको मेयर दाहालले बताइन् । कोरोना महामारी व्यवस्थापनका लागि महानगरले १६ हजार ३९२ घरधुरीलाई ८० लाख ५४ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको मेयर दाहालले जानकरी दिइन् । ३८ ठाउँको क्वारेन्टाइन व्यवस्थापन गर्न १७ लाख १९ हजार रुपैयाँ खर्च भएको पनि उनले बताइन् ।

भरतपुर महानगरपालिकाको बुधबार उद्घाटन भएको छैटौं नगरसभामा बोल्दै मेयर रेणु दाहाल


प्रकाशित : असार १०, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?