भरतपुरमा सरकारविरोधी प्रदर्शन

जेष्ठ २९, २०७७

रमेशकुमार पौडेल

चितवन — भरतपुरको चौबिसकोठीमा बिहीबार सरकारको विरोधमा प्रदर्शन गरिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै भरतपुर नारायणगढ क्षेत्रका युवा, व्यवसायी र विद्यार्थीले स्वत: प्रदर्शनमा उत्रिएका हुन् । उनीहरु प्लेट कार्ड बोकेर र अनुहारमा अनौठो लाग्ने मुखौटा लगाएर प्रदर्शनमा आएका थिए । 

सहभागीहरुले प्लेकार्ड बोकेर चौबिसकोठी चोकमा बिहान ११ बजेदेखि डेढ घण्टासम्म सरकारविरोधी मौन प्रदर्शन गरेका थिए । कोरोना नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्ब रुपैयाँको हिसाब विवरण दिनु पर्ने, कोरोना परीक्षणका लागि आरडीटी नभएर पीसीआर गर्नु पर्ने, राष्ट्रपति कार्यालय र मन्त्रीहरुकका लागि नभएर क्‍वारेन्टाइन व्यवस्थापनका लागि खर्च गर्नुपर्नेजस्ता नारा लेखिएको प्लेकार्ड उनीहरुले बोकेका थिए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully