(चितवन) — साइकलप्रेमीहरूको संस्था चितवन राइडर्स क्लबका अध्यक्ष नवीन खरेल नेतृत्वको सात सदस्यीय टोली साइकल चढेर भाइटीकाको भोलिपल्ट चितवनको पहाडी गाउँ हात्तीबाङ पुग्यो । त्यहाँ बास बसेको टोली भोलिपल्ट सबेरै करिब दुई घण्टा हिँडेर झुल्के घाम हेर्न सिराइचुली उक्लियो ।
‘घाम झुल्किएसँगै लहरै हिमाल टल्किएको दृश्य निकै मनमोहक हुँदो रहेछ,’ टोलीमा सहभागी शिक्षिका रुक्मिणी सापकोटा घिमिरेले भनिन् ।
भरतपुरको गणेशधाम संरक्षण संवर्द्धन समितिको २८ सदस्यीय टोली पनि शुक्रबार हात्तीबाङ बसेर शनिबार बिहानै सूर्योदय हेर्न चुली पुगेको थियो । टोली पुग्दा पूर्वी चितवन पर्सा र भण्डाराका २०/२२ युवा चुलीमै रमाइरहेका थिए । उनीहरू शक्तिखोरबाट हिँडेरै अघिल्लो साँझ चुली पुगेर त्यहीँ बसेका रहेछन् । समितिका अध्यक्ष दिनेशकुमार चुकेले भने, ‘पूर्वको आकाशमा कुहिरो टन्नै देखिन्थ्यो तर साढे ६ बजेतिर रातो घाम निस्कँदै गर्दा सबै रमाए ।’ आफूहरू गणेशधामलाई चितवनको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आइरहे पनि सिराइचुलीजस्तो अर्को रमणीय ठाउँको पनि उचित प्रचारप्रसारमा लागेको उनले बताए । ‘त्यही योजनाका साथ हाम्रो टोली यहाँसम्म आइपुगेको हो,’ अध्यक्ष चुकेले भने ।
इच्छाकामाना गाउँपालिका–१ मा पर्ने सिराइचुलीको उचाइ समुद्र सतहबाट एक हजार ९ सय ९५ मिटर उचाइमा छ । यो जिल्लाकै अग्लो पहाड भएको दाबी गर्नेहरू पनि छन् । तत्कालीन चितवन जिल्ला विकास समितिले सञ्चालन गरेको ग्रामीण गरिबी निवारणका लागि पर्यटन परियोजना (टीआरपीएपी) अन्तर्गत सिराइचुलीको खोजी भएको हो ।
०५९ सालपछि यो चुली प्रचारमा आयो तर पूर्वाधार निर्माण र प्रचारप्रसारको काम राम्रोसँग हुन नसक्दा पर्यटकको संख्या उल्लेख्य बढ्न सकेको छैन । ‘बेलाबेलामा स्वदेशी–विदेशी पर्यटक आई नै रहेका छन्,’ हात्तीबाङ होमस्टे सञ्चालक समितिका सचिव जगदीश पुरीले भने, ‘तर राम्रो प्रचार भए अझै बढाउन सकिन्छ ।’
सिराइचुली प्रचारमा आएपछि पर्यटकलाई राख्न हात्तीबाङमा टीआरपीएपीले नै १० वटा होमस्टे बनाएको थियो । अहिले पाँचवटा मात्रै सञ्चालनमा छन् । गाउँमा एउटा सामान्य स्तरको लज पनि छ तर यहाँ स्वदेशी/विदेशी पर्यटक कति आउँछन् भन्ने प्रस्ट विवरण राख्ने गरिएको छैन । जगदीश पुरी आफ्नो होमस्टेमा वर्षमा १५/२० हुल पर्यटक आउने बताउँछन् । एक हुलमा पाँचदेखि २० जनासम्म हुन्छन् ।
कुरिनटारदेखि केही पर पृथ्वी राजमार्गअन्तर्गत धादिङको हुग्दीखोला मझिमटारदेखि दक्षिणमा पर्छ हात्तीबाङ । हुग्दीबाट १४ किलोमिटर कच्ची पहाडी बाटो पार गरेर हात्तीबाङ पुगिन्छ ।
अचेल त्यहाँसम्म बस र जिप चल्न थालेका छन् । हात्तीबाङभन्दा पर बाटो र बस्ती छैन । त्यसैले सिराइचुली जाने पर्यटकले हात्तीबाङमै रात बिताउनुपर्छ । चुलीमा केही सत्तल बन्दै गरेका कारण खाने, बस्ने, सुत्ने राम्रो सुविधा नभए पनि कहिलेकाहीँ युवाहरू रात बिताउने गरी चुलीमा पुग्छन् ।
आकाश खुलेका बेला चुलीबाट हिमालको लामै लहर देखिन्छ । चैत–वैशाखमा वनैभरि गुराँस फुल्ने हुँदा सूर्योदयसँगै प्रकृतिको पनि आनन्द लिने गन्तव्य सिराइचुली बनेको छ । ‘तर पर्यटकीय पूर्वाधारको राम्रो व्यवस्था हुन सकेको रहेनछ । अझसम्म बिजुली पुगेको छैन,’ गणेशधामको भ्रमण टोलीमा रहेका बाबुराम अधिकारीले भने, ‘हात्तीबाङ गाउँको बाटामा सोलार बत्ती राखेर भए पनि झिलीमिली पार्नुपर्ने हो । ससाना कुरामा पनि ध्यान दिएको पाइएन ।’
हात्तीबाङपछि चितवनको पुरानो सदरमुकाम उपरदाङगढी हुँदै शक्तिखोर र सौराहा पुग्न सकिन्छ । उपरदाङगढीमा दुई सय वर्षपहिले बनेको किल्ला पनि छ । ‘चितवन सौराहा, निकुञ्ज र गैंडाले प्रख्यात छ तर पहाडी क्षेत्रमा पनि अनेकौं ऐतिहासिक, धार्मिक र प्राकृतिक पर्यटकीय क्षेत्र छन्,’ अध्यक्ष चुकेले भने, ‘सिराइचुलीजस्तो रमणीय क्षेत्रको उचित व्यवस्थापन गरे चितवनको पर्यटनले राम्रो लाभ लिने थियो ।’
