कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

हिरासत कक्षमा झुण्डिएका घिसिङको मृत्यु

रमेशकुमार पौडेल

चितवन — इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेर अस्पतालमा उपचार गराइ रहेका एकजना आरोपितको मृत्यु भएको छ ।

कालिका नगरपालिका-१ सुर्यपुरका समिर घिसिङको शुक्रबार मध्यरात निधन भएको छ । बिहीबार दिउँसो तीन बजे झुण्डिएको अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पताल लगिएको थियो ।


उपचारका क्रममा शुक्रबार मध्यरातमा उनको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक -एसपी) सुशिलसिंह राठौरले बताए । कालिका नगरपालिका-१ पदमपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा ल्यापटप र कम्युटर चोरी भएपछि पदमपुर प्रहरी चौकीले समिर घिसिङ र अर्का एकजनालाई समातेर बुधबार टाँडी प्रहरीलाई बुझाएको थियो ।


समिर बिहीबार दिउँसो तीन बजे हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेसनको फलामे डण्डीमा सर्टको पासो लगाइ झुण्डिएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधि ज्ञवालीले बताए । घटना सार्वजनिक भए लगत्तै समिरका आफन्त र गाउँलेहरुले इलाका प्रहरी कार्यालय टाँडी अगाडी आएर उग्र प्रदर्शन गरेका थिए । पदमपुर प्रहरी चौकीमा पनि बिहीबार राति नै प्रदर्शन भएको थियो ।


स्थानीयसँग शुक्रबार चितवन जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको थियो । वार्तामा भएको सहमति अनुसार डिएसपी ज्ञवालीलाई टाँडीको जिम्मेवारीबाट मुक्त गरेको एसपी राठौरले बताए । यसका साथै हिरासत कक्षमा भएको घटनाको विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनेको छ । समितिले सात दिनभित्र प्रतिवेदन दिने एसपी राठौरले बताए ।


पदमपुर र सुर्यपुरवासीमा बिहीबार साँझ भएको प्रदर्शन साम्य पार्न प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर पनि गर्नु परेको थियो । टाँडीमा २० राउण्ड अश्रुग्यास र आठ राउण्ड हवाइ फायर भएको डिएसपी ज्ञवालीले बताए । त्यसै गरी पदमपुरमा २५ राउण्ड हवाइ फायर भएको उनले बताए । प्रदर्शनका क्रममा टाँडीका प्रहरी निरीक्षक उमेशमान आमात्यको पेटमा चोट लागेको छ । सई प्रकास सिंखडाको खुट्टामा चोट छ ।


डिएसपी ज्ञवालीका अनुसार समिर टाँडी प्रहरीको हिरासतमा आएको यो पाँचौ पटक हो । उनी ७४ सालको जेठ १९ र असार नौ तथा गतवर्षको साउन दुई र कात्तिक १३ मा पनि टाँडी प्रहरीको हिरासतमा बसेका थिए । उनीसँगै समातिएका अर्का आरोपित किसान तमाङले घटना हुनुभन्दा अघि 'बेकारमा फँसिने भइयो' भनेर गुनासो गरेको बताए । झुण्डिएको देखेपछि किसानले नै घिसिङलाई उचालेका थिए ।


'गफ गर्दा गर्दै म बाहिर लागे । उभित्र पसेको रहेछ । खेम भन्नेले ट्वाइलेट पसेको धेरै बेर भो । एक दुई पटक बोलाउँदा हँ, हँ पनि भन्यो । पछि खेमले नै ट्वाइलेटको ढोका उघारेर हेर्दा झुण्डिएको देखे छ । खेम कराउना साथ म दौडिएर गएर उचालेको हुँ' किसानले भने । तर समिरका साइँला दाइ नसिबले भाइ झुण्डिएको नभएर प्रहरीले यातना दिएको शंका लागेर स्थानीय आन्दोलित भएको बताएका थिए ।

प्रकाशित : वैशाख २८, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?