What you should know
महोत्तरी — गौशाला बजार ठेक्का विवाद समाधानका लागि गौशाला नगरपालिका र निगौल गाई गौशालाबीच समन्वयात्मक वार्ता आवश्यक रहेको राजनीति दलका प्रतिनिधिहरुले बताएका छन् ।
निगौल गाई गौशालाको जग्गामा लाग्ने बजारको राजस्व बुझ्ने तर समन्वयका लागि लामो समयसम्म छलफल नगर्दा विवाद चर्केकोले दुवै पक्ष वार्तामा बसेर समस्या समाधान गर्नुपर्नेमा बुधबार आयोजित सर्बदलीय बैठकमा सहभागीहरुले जोड दिएका हुन् । गौशाला बजारको राजस्व उठाउने विषयमा निगौल गाई गौशाला र नगरपालिकाका समर्थकहरुबीच झडप भएपछि बुधबार गाई गौशालाले सर्वदलीय बैठक आयोजना गरेको हो ।
बैठकमा सहभागी कांग्रेसका प्रतिनिधि जोगी यादवले निगौल गाई गौशालाको जग्गामा नगरपालिकालाई बजार ठेक्का लगाउने अधिकार नभएको बताए । 'जसको जग्गा हो उसैले बजार ठेक्का लगाउने हो,' उनले भने, ‘नगरपालिकाले बलजफ्ती गर्नु गलत हो । कार्यालयसँग भएको सम्झौता कार्यान्वयन नगर्ने र उल्टै कुटपिटमा उत्रिनु उचित होइन ।’ नगरपालिकाले गाई गौशालासँग गरेको सम्झौताअनुसार बजार ठेक्का लगाउन दुवै कार्यालयबीच वार्ता आवश्यक रहेको उनको भनाइ छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता एवं गाई गौशला सञ्चालन सहयोग समितिका सदस्य देवनारायण महतोले विगतमा नमुना गाउँपालिका विकास समितिले गाई गौशालालाई रकम तिरेर गोरु तथा खसी बजार ठेक्का लगाएको र नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि सम्झौताअनुसार रकम नबुझाउँदा विवाद भएको बताए । 'नगरपालिकाले बजार ठेक्का लगाउन पाउँछ, सर्वदलीय बैठकमा सहभागी महतोले भने, ‘बजार लाग्ने जग्गा गाई गौशालाको हो । जग्गा अनुसारको रकम पहिले गाविसले गाई गौशालालाई बुझाउँथ्यो । अहिले नयाँ सम्झौता गरी नगरपालिकाले बुझाउनु पर्छ ।’
भूमि समस्या समाधान आयोग महोत्तरीका अध्यक्ष पिताम्बर महतोले बजार ठेक्काको विषयमा भएको विवाद विषयमा आयोजना भएको सर्बदलीय बैठकमा नगरपालिकाका नगर प्रमुख र प्रशासकीय अधिकृत सहभागी नभएर विज्ञप्ति निकालेर सस्तो लोकप्रियातामा लागेको आरोप लगाए । 'बजार ठेक्काको विषयमा झडप भएको छ, गुण्डाशैलीमा सांघातिक आक्रमण भएकोले समस्या समाधानका लागि नगर प्रमुख जवाफदेही बन्नु पर्छ,' उनले भने ।
बैठकमा सहभागी जनमत पार्टीका प्रतिनिधि विक्रम साहले नगरपालिकाले गाई गौशाला मास्न खोजेको आरोप लगाए । 'गाई गौशाला हाम्रो लागि सुन्दर उपहार हो,' साहले भने,‘गाई त हाम्रो धर्मसँग जोडिएको छ । जहाँ गाईको इज्जत हुँदैन त्यहाँ विकास सम्भव हुँदैन । नरपालिकाले गाई गौशालालाई समाप्त पार्न षड्यन्त्र गरिरहेको छ ।’ गाई गौशालाको जग्गामा लाग्ने बजार बापतको रकम नगरपालिकाले गाई गौशालाको कार्यालयलाई सम्झौताअनुसार बुझाउनु पर्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका वरिष्ठ सहायक बुद्धनारायण श्रेष्ठले स्थानीयको विकासका लागि खडा भएको संरचना समस्यामा परेकोले राजनीतिक दल र जनप्रतिनिधिले निकास निकाल्नु पर्ने बताए । स्थानीय तहसँग भएको सम्झौता कार्यान्वयन गर्न पटकपटक पहल भए पनि कार्यान्वयन नभएकोले समन्वय र समझदारी गरेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ ।
स्थानीय सुकन दासले गाई गौशालाको जग्गा, पोखरी, बगैंचा, भर भडामा अनियमितता हुनुको साथै कर्मचारी इमन्दार नहुँदा समस्या बढ्दै गएको बताए ।
बैठकमा कांग्रेस, जसपा, जनमत र लोसपाका प्रतिनिधि, गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतो सहभागी भएका थिए ।
गौशाला नगरपालिकाले २०७० सालमा बजारबाट उठेको रकमबाट २५ प्रतिशत रकम गाई गौशलालाई दिने सर्तमा गाई गौशाला गोरु बजार ठेक्का लाग्दै आएको थियो । तर, गाई गौशालालाई दिनु पर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला नगरपालिका पक्ष र गाई गौशाला पक्षबीच सोमबार बिहान झडप भएको थियो ।
गौशाला नगरपालिका कार्यालयले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशु बजार ठेक्का आफैं लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको निगौल गाई गौशालाको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए ।
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशालाको नाममा रहेको महोत्तरी जिल्ला गौशाला नगरपालिका वार्ड नं. ५ कित्ता नं. ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा गौशाला नगरपालिकाको कार्यालयले गोरु तथा खसी बजार सञ्चालन गर्न ठेक्कामा लगाउने कार्य गर्दै आएको छ ।
