राष्ट्रिय आविष्कार केन्द्रद्वारा कृषि औजार कारखाना वीरगन्जबाट व्यावसायिक उत्पादन र बिक्री वितरण सुरु 

जेष्ठ २२, २०८२

शंकर आचार्य

Commencement of commercial production and sales distribution from Agricultural Implement Factory Birganj by National Innovation Center

पर्सा — सञ्चालनमा आएको २८ महिनापछि राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जबाट व्यावसायिक उत्पादन सुरु गरेको छ । केन्द्रले यही जेठ १ गते विभिन्न कृषि उपकरणहरु उत्पादनपछि बिक्री गर्न थालेको हो । 

केन्द्र वीरगन्जका प्रमुख तथा इन्जिनियर रितेश देवका अनुसार, केन्द्रले हाललाई धान रोप्ने हाते ट्याक्टर चलाउन तथा हिलोको झारपात हटाउन उपयोगी हुने प्याडी विडर केज ह्विल, धान रोप्ने हाते मेशिन राइस प्लान्टर, कोदो रोप्ने मिलेट प्लान्टर र माछा पालनमा उपयोगी हुने फिस इन्क्युवेटर तथा अक्सिजन टावरको उपकरण बिक्री बितरण गरी रहेको छ ।

प्याडी विडर केज ह्विलको मूल्य २ हजार ५ सय देखि ३ हजार रुपैयाँ, फिस इन्क्युवेटर र अक्सिजन टावरको जोडीको मूल्य १ लाख रुपैयाँ, राइस प्लान्टर मेशिनको मूल्य १५ देखि २० हजार र मिलेट प्लान्टर मेशिनको मूल्य १५ हजार रुपैयाँ रहेको उनले बताए ।

हालसम्म प्याडी विडर केज उपकरण १ सय थान भन्दा बढी बिक्री भई सकेको र यो उपकरणको थप ५ सय थानको अर्डरसमेत रहेको उनले बताए ।

Commencement of commercial production and sales distribution from Agricultural Implement Factory Birganj by National Innovation Center

फिस इन्क्युवेटर र अक्सिजन टावर उपकरण १२ सेट अर्डरमा बिक्री भई सकेको छ । हातले चलाउने धान रोप्ने राइस प्लान्टर मेशिन १५ वटा तयार गरी बिक्रीका लागि राखिएको छ । किसानले धेरै चासो र जिज्ञासा राखेकाले रोपाइँ अघि नै यी मेशिन बिक्री भई सक्ने इन्जिनियर देव बताउँछन् ।

कोदो रोप्ने मिलेट प्लान्टर मेशिनको बारेमा पनि किसानको धेरै जिज्ञासा आइरहेकाले यो मेशिनले पनि राम्रो बजार लिने सम्भावना रहेको उनले बताए ।

केन्द्रले बिक्री बितरण गरी रहेका यी उपकरण हालसम्म नेपालमा पहिलो पटक उत्पादन भएको पनि इन्जिनियर देवले बताए । ‘यसअघि यी उपकरण कित भारत नत्र चीनबाट आयात गर्नुपर्थ्यो,’ उनले भने, ‘अब स्वदेशमै उत्पादन हुन थालेका यी उपकरण विदेशीभन्दा सस्तो र बलियो पनि छ ।’ 

स्वदेशमा उत्पादन हुँदा बलियो र भरपर्दो पनि हुनुका साथै स्वदेशी प्राविधिकबाटै मर्मत सम्भारको पनि सुविधा पाइने उनले बताए । ढुवानी लागत पनि कम पर्ने भएकाले स्वदेशी उत्पादन तुलनात्मक रुपमा किसानलाई सस्तो पर्न जाने उनको दाबी छ ।

हाल बर्खे बाली धानको रोपाइँको सिजन संघारमै आइपुगेकाले तत्काललाई धान बालीलक्षित कृषि उकरणहरु उत्पादन र बिक्रीमा बढी ध्यान केन्द्रित गरिएको उनले बताए । धान सिजनको समाप्तिपछि अन्य उपकरणको उत्पादन र बिक्रीलाई पनि प्राथमकितामा राख्ने उनले बताए ।

Commencement of commercial production and sales distribution from Agricultural Implement Factory Birganj by National Innovation Center

केन्द्रले मंगलबार लेजर वेल्डिङ मेशिनको रुपमा नयाँ उपकरण कृषि औजार कारखाना वीरगन्जमा भित्र्याएको इन्जिनियर देवले जानकारी दिए । ३ हजार वाटको उक्त उपकरण १८ लाख रुपैयाँमा खरिद गरिएको हो । टेण्डर प्रक्रियाबाट खरिद गरी चीनमा उत्पादित उक्त उपकरण कारखानामा ल्याइएको हो । 

यो मेशिनले धातुको खिया सफा गर्ने, काटने र वेल्डिङ गर्ने तीन वटै मुख्य काम गर्ने भएकाले यसले कारखानाको उत्पादन क्षमतामा वृद्धि पुर्‍याउन सहयोग मिल्ने देवले बताए । केन्द्रका अध्यक्ष एवम् वैज्ञानिक महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बिक्री गरेर संकलन गरेको रकमबाटै हाल कारखाना सन्चालनको सम्पूर्ण काम अघि बढेको उनले बताए ।

कारखानामा हालसम्म केन्द्रले धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, धान रोप्ने राइस प्लान्टर, गोबर पेल्ने डङग डिवाटरिङ, प्लाष्टिक बनाउने मल्चर, सुख्खा घाँस काट्ने, धान गोड्ने, खन्ने आदि काम गर्ने विडर मेशिनको सफल परीक्षण उत्पादन गरी सकेको छ । यसबाहेक कुटो,कोदालो, चाप कटर आदि ससाना कृषि उपकरण पनि उत्पादन गरिसकेको छ ।

कारखानामा हाल ३७ जनशक्ति कार्यरत छन् । तीनमा  मेकानिकल/इण्डष्ट्रियल/इलेक्ट्रिकल इन्जिनियर, मेकानिकल ओवरसियर र फेब्रिकेटर टेक्निसियन रहेका छन् । २०७९ माघ १ देखि केन्द्रले नेपाल सरकारबाट यो कारखाना आफ्नो जिम्मामा लिई सञ्चालन गरिरहेको छ ।

Commencement of commercial production and sales distribution from Agricultural Implement Factory Birganj by National Innovation Center

बिक्रम सम्वत् २०२४ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरी सञ्चालन आएको कृषि औजार कारखाना २०४६ सालको परिवर्तन पछि रुग्ण अवस्थामा गएपछि २०४९ सालमा बन्द गरिएको थियो । 

नेपाल सरकारले वाचा गरेअनुसार कारखाना सञ्चालन गर्न २० करोड रुपैयाँ नदिएको गुनासो गर्दै केन्द्रका सञ्चालक वैज्ञानिक महावीर पुन आफ्नै आत्मकथा संग्रहित पुस्तक बेचेर उक्त रकमको जोहो गर्ने अभियानमा छन् । हाल झापाको बेलवारीमा आफ्नो आत्मकथा पुस्तक बिक्रीमा व्यस्त रहेको पुनले १२ करोड रुपैयाँ भन्दा बढी जोहो गरी सकेका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully