दलित बस्तीको बाटो बन्द गरी मन्दिरमा पर्खाल

जेष्ठ १९, २०८२

विनय आजाद

A wall in the temple blocking the way to the Dalit settlement

सिरहा — सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल लगाउने काम भइरहेको पाइएको छ । गाउँमा रहेको दुर्गा मन्दिरमा छेउकै दलित बस्तीको आवागमन नै अवरुद्ध हुने गरी पर्खाल लगाउने काम भइरहेको हो ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५० लाख बजेटमा पर्यटन विकास कार्यालय, लहानबाट उपभोक्ता समितिमार्फत दुर्गा मन्दिरमा कम्पाउन्ड वाल तथा गेट निर्माण भइरहेको छ । उपभोक्ता समिति अध्यक्ष वीरेन्द्र यादवका अनुसार डेढ सातादेखि यो काम भइरहेको छ ।

दलित बस्ती र मन्दिरको बीचमा फराकिलो बाटो थियो । यही बाटो भएर यस बस्तीका बासिन्दा आउजाउ गर्दै आएका थिए । तर, यो बाटोको बीच भागबाटै निकै साँघुरो हुने गरी ६ फिट जग्गा मात्रै छाडेर मन्दिरको पर्खाल निर्माण गरिँदैछ । 

यस्तै, दुर्गा मन्दिरको पश्चिम छेउतर्फ चौधरी महरा र रामएकवाल महराको घर छ । यो बस्तीको मूल बोटामा जान उनीहरूको घरअगाडिको बाटो हुँदै जानुपर्छ । तर, मन्दिरको पर्खाल हालिएको ठाउँदेखि घरसम्मको जग्गा रामएकवालले नै भोगचलन गर्दै आएका छन् । उक्त जग्गा आफ्नो निजी रहेको उनको दाबी छ ।

‘मेरो घरअगाडिको जग्गा मेरो निजी हो, सार्वजनिक जग्गामा पर्खाल लगाउने र निजी जग्गाबाट बाटो दिने कुरा भएन, यो त गाउँका अगुवाहरूले आफैं सोच्नुपर्ने हो,’ उनले भने, ‘हामीलाई गरिब दलित भनेर यहाँ हेप्ने काम भएको छ ।’

यहाँ १० घर चमार समुदायका परिवार बसोबास गर्छन् । यसमध्ये खासगरी ६ दलित घर–परिवार पूर्ण रूपमा प्रभावित बनेका छन् । मन्दिरको पर्खाल बनिसकेपछि स्थानीय रामशंकर महरा, शिवु महरा, शिवराम महरा, जयनन्द महरा, सञ्जय महरा र बुधराम महराको घरबाट अर्को बाटोमा निस्किने बाटो नै बन्द हुनेछ ।

जेठ १३ मा पर्खाल निर्माणका लागि खाल्डो खन्ने क्रममा त्यहाँका दलित समुदायले रोक्ने प्रयास गरेका थिए । तर, प्रहरी लगाएर आफूहरूलाई रोक्ने काम भएको स्थानीय अरुण महराले बताए । 

‘यहाँका ठूला भनाउँदाहरूले मनलाग्दी गर्न खोजेपछि हामीले रोक्ने प्रयास गर्यौं, तर प्रहरी बोलाएर जबर्जस्ती खाल्डो खनियो,’ उनले कान्तिपुरसित भने, ‘जति गुहारे पनि हामी गरिब दुखियाको कुरा कसैले सुनेन ।’ 

आफूहरूलाई अछुत भनेर हेपेरै मन्दिरमा यसरी पर्खाल लगाउने कार्य भइरहेको स्थानीय कविता महराको दुखेसो छ । ‘हामी दलित त्यसै कमजोर छौं, त्यसैले हामीसँग यस्तो गरिँदैछ,’ उनले सुनाइन्, ‘दलित र कमजोर नभएको भए सायद आज यस्तो दिन आउने थिएन ।’ 

पर्खाल लगाउने कामका अगुवामध्येका स्थानीय ७० वर्षीय भोगेन्ऽ साहले दलित परिवारले जथाभावी फोहोर गर्ने गरेकाले पर्खाल लगाएर मन्दिर संरक्षण गर्न लागेको तर्क गरे । वडाध्यक्ष रामबाबु यादवले भने मन्दिरको जग्गा नापनक्सा गरेरै पर्खाल निर्माण भइरहेको बताए ।

त्यहाँ गाउँब्लकको मन्दिरको ६–७ फिट जग्गा रहेको र १२ फिटसम्मको बाटो बन्न सक्ने उनको भनाइ छ । तर, मन्दिरको पश्चिम छेउको बाटोको समस्याका विषयमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् । बाटो नै ब्लक भयो नि भन्ने प्रश्नमा उनले ‘बिस्तारै समस्या समाधान गर्ने’ बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully