दुई पक्षको विवादमा बिरामी ‘बन्धक’

चैत्र २३, २०८१

कमलेश ठाकुर

Patient 'hostage' in dispute between two parties

जनकपुरधाम — सिरहा गोलबजारकी प्रमिला साह शनिबार बिहान जनकपुर न्युरो अस्पतालको शैयामा सामान्य अवस्थामा थिइन् । बेड नम्बर १३ मा रहेकी उनी हिँडडुल गर्दै सामान मिलाइन् । पानी खाँदै वार्डमा खटिएका स्वास्थ्यकर्मीलाई सोधिन्, ‘कहिया जाइदेबै ?’ अर्थात् कहिले जान दिनुहुन्छ ? स्वास्थ्यकर्मीले चिकित्सले भनेपछि मात्रै जान पाउने जवाफ फर्काए ।

प्रमिला सबै कुरा ठिक रहेको र किन जान नदिएको भन्दै प्रश्न गरिरहिन् । उनको यो प्रश्नमा स्वास्थ्यकर्मीले केही जवाफ दिएनन् । एकछिनपछि प्रमिलाले चिकित्सकसँग नरम शैलीमा डिस्चार्जका लागि अनुनय गरिन् । उनी २३ दिनदेखि अस्पतालमा भर्ना छिन् ।

यही चैत १ गते जनकपुरधामबाट राजविराज जाँदै गरेको ना.५ ख.१४४१ नम्बरको बस दुर्घटना हुँदा प्रमिला घाइते भएकी थिइन् । प्रमिलासँगै ४१ जना यात्रु दुर्घटनामा घाइते भएका थिए । अहिले सात जना बिरामीलाई अस्पतालले बन्धक बनाएर राखेको जानकी यातायात प्रालिका अध्यक्ष मनोज चौधरीको आरोप छ । 

अस्पतालका चिकित्सक डा. सञ्जय मण्डलका अनुसार प्रमिलाको छातीमा चोट लागेको थियो । जसका कारण छातीभित्र ब्लड जेमेको थियो । तर, अहिले उनी ठिक अवस्थामा रहेको डा. मण्डलको स्वीकारोक्ति छ । ‘उहाँको अवस्था ठिक छ । अहिले कुनै प्रकारको जोखिम छैन,’ उनले भने, ‘अब एक/दुई दिनमा डिस्चार्ज भइहाल्छ ।’ 

अस्पताल परिसरमै भेटिएका अर्का बिरामी बिन्देश्वरी नायकका छोरा अशोक नायकले चार दिनदेखि अस्पतालले जान नदिएको आरोप लगाए । ‘चार दिनअघि डिस्चार्ज गर्‍यो । म सिरहा कर्जनहाबाट लिन आएँ,’ अशोकले भने, ‘अब अस्पतालले जान दिएको छैन ।’

अस्पतालले स्पष्ट जवाफ पनि नदिएको उनले बताए । तर, बसवालाले पैसा नदिएका कारण घाइते यात्रुको उपचारपश्चात् पनि जान नदिइएको उनको शंका छ । चिकित्सक डा. अजय राउतले बिन्देश्वरी नायकको स्पाइन सर्जरी भएको बताए । ढाडको हड्डी भाँचिएको उनी अहिले सामान्य अवस्थामा रहेको डा. राउतको कथन छ । 

‘डिस्चार्ज हुन सक्छन् । आजै उहाँहरू जानुहुन्छ । पूजा छ घरमा भनेर जान लाग्नु भएको छ,’ उनले भने, ‘तर, फलोअपसम्मको जिम्मेवारी हाम्रो हुँदैन ।’ एक हप्ता अझै बसेको भए पूर्ण रूपमा ठिक हुने चिकित्सक डा. राउतको सुझाव छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी बरुणबहादुर सिंहले दुवै पक्षलाई अगामी सोमबार छलफलमा बोलाएको जानकारी दिए । ‘दुवै पक्षबाट फरक–फरक कुरा आयो । अनि सोमबार बसेर हिसाब टुङ्गो लगाउने सहमति भएको छ,’ उनले भने, ‘सामान्य अवस्थामा रहेका बिरामीलाई पनि डिस्चार्ज गर्न भनेका थियौं ।’ 

बन्धक बनाउँदा तोडफोड

बस दुर्घटनाको जिम्मा जानकी जनकपुर यातायात प्रालिले लिएको छ । सम्पूर्ण खर्च दिने भन्दै प्रालिका पदाधिकारी नरेश सिंह अस्पतालको सम्पर्कमै थिए । तर, जब अस्पतालले यात्रुको उपचार खर्च भन्दै ६० लाखको बिलसहित पैसा तिर्न तोकता गर्न थाल्यो, दुवै पक्षबीच विमति सुरु भयो । शुक्रबार प्रालिका तर्फबाट लेखापाल रामवरण यादव ५ लाख रुपैयाँ लिएर अस्पताल पुगेपछि थप पैसा माग्दै विवाद सुरु भएको हो । शुक्रबार अध्यक्ष चौधरीसहित आएका व्यक्तिको समूहले अस्पताल पुगेर सुरक्षा गार्डलाई समेत कुटपिट गर्दै तोडफोड गरेका थिए । 

अध्यक्ष चौधरीले बिरामी र पैसा लिएर गएको व्यक्तिलाई बन्धक बनाउँदा विवाद भएको बताए । अस्पतालसँग नियमति कुराकानी भइरहेको उनले सुनाए । ‘चार दिनदेखि बिरामीलाई बन्धक बनाइएको छ,’ उनले भने, ‘जबकि हामीसँग नियमित कुराकानी भइरहेको छ । हिजो (शुक्रबार) पैसा बुझाउन गएका यतायात प्रालिका लेखापाल रामवरण यादवलाई उल्टै बन्धक बनाइयो ।’

अस्पतालको दाबी ५५ लाख 

धनलक्ष्मी ट्राभल्स ढल्केवर (माल टोल) नजिक दुर्घटना भएको थियो । दुर्घटनामा परेर ४१ यात्रु घाइते भई उक्त अस्पतालमा भर्ना भएका थिए । एक हप्ताभित्र ३४ जना बिरामी निको भएर डिस्चार्ज भएको अस्पताल प्रशासनका अजय राउतले जानकारी दिए । र, उनीहरूले पुनः फलोअप उपचार पनि गराए । बाँकी सात जना अस्पतालमै छन् । उनीहरूको उपचार भइरहेको अजयको कथन छ ।

शुक्रबारसम्म अस्पताल, औषधि, सिटी स्क्यान र एमआरआई गरी करिब ५५ लाख रुपैयाँ उपचारमा खर्च भएको उनको दाबी छ । जसमध्ये १३ लाख रुपैयाँ बस व्यवसायीले अस्पताललाई बुझाइसकेका छन् । बाँकी रहेको पैसा बुझाउन भन्दा ‘गुण्डागर्दी शैली’मा तोडफोड गरेको उनले सुनाए । ‘गार्डलाई पिट्दै फार्मेसी र एक्स–रेसहित बाटोमा पर्ने विभागमा तोडफोड गरिएको छ,’ उनले भने, ‘तोडफोडबाट भएको क्षतिबारे यकिन गर्दै छौं । यस विषयमा हामी कानुनी उपचारमा पनि जान्छौं ।’

यता प्रालिका अध्यक्ष चौधरीले मनोमानी बिल पनि बनाएको आरोप लगाए । ‘एम्बुलेन्स चालकसँग पनि उनीहरूको मिलेमतो छ । सबै बिरामीलाई एम्बुलेन्स चालकले सरकारी अस्पतालमा नलगेर न्यूरोमा लगे,’ उनले भने, ‘अब बिलमा मनपरी हिसाब गरिएको छ । भोलिपल्ट ३४ जना डिस्चार्ज भएका छन् । सात जनाको उपचारमा ५५ लाख कसरी खर्च भयो ?’

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully