रौतहट — वृन्दावन नगरपालिका–१ विश्रामपुरस्थित जंगलमा गाडेको अवस्थामा फेला परेकी महिलाको वन्यजन्तु मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको खुलेको छ ।
प्रहरीले घटनामा संलग्न दुई आरोपीलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गरेपछि जंगली बँदेल, सुंगुर लगायत वन्यजन्तु मार्न लगाइएको तारमा करेन्ट प्रवाह भई महिलाको मृत्यु भएको पत्ता लागेको हो ।
वृन्दावन–१ बलेरी खोरका रुपन राउत पटेलकी श्रीमती ४५ वर्षीया फूलमतिया देवीको जंगलमा गाडेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीको टोलीले बिहीबार दिउँसो शव फेला पारेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय जितेन्द्र पटेल र सुनिल विश्वकर्मालाई पक्राउ गरेको छ । दुवै मिलेर जंगल नजिकैको खेतमा वन्यजन्तु मार्न तार टाँगेर करेन्ट प्रवाह गराएका थिए ।
फूलमतिया देवी गोठबाट घर फर्कने क्रममा त्यही करेन्ट जडित तारमा परेर मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिए । ‘विद्युतीय तारमा परेर करेन्ट लागी फूलमतियाको घटनास्थलमै मृत्युपछि दुवैले जंगलमा लगेर गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ उनले भने, ‘पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाई थप अनुसन्धान भइरहेको छ ।’
घरबाट झण्डै डेढ किलोमिटर पूर्व जंगलछेउमा बनाएको गोठबाट घर फर्किने क्रममा चैत १४ गते साँझ फूलमतिया बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा भोलिपल्ट घरनजिकै सय मिटर पूर्व मकै बारीमा उनको चप्पल र साडी फेला परेको थियो ।
फूलमतिया बेपत्ता भएको आठौं दिनमा डीएसपी कार्कीको कमान्डामा खटिएको टोलीले खोजी गर्दा बलेरीखोरस्थित रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको हो ।
