अहिलेको सरकार सही बाटोमा हिँडिरहेको छैन : सभापति यादव

माघ ५, २०८१

विनय आजाद

The current government is not moving in the right direction: Speaker Yadav

सिरहा — जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष एवं संघीय संसद‍्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले अहिलेको सरकार सही बाटोमा नहिँडेको आरोप लगाएका छन् ।

मधेशमा शनिबार मनाइएको बलिदानी दिवसको अवसरमा सिरहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सही बाटोमा हिँडेर काम गर्न नसकेको बताएका हुन् । 'प्रधानमन्त्री र मन्त्रीहरूकै अभिव्यक्ति सुन्दा सरकार फेल भइरहेको देखिन्छ,' उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली सुरुमा संविधान संशोधनको चर्को कुरा गरेर आफैं पछि हटेको, सुशासनको सवालमा मन्त्री र सचिवहरूप्रति गुनासो गर्नुले सरकारको हविगत उदांगो पारेको यादवले बताए ।

सरकारको गतिविधिले जनताका अपेक्षा सम्बोधन गर्नुभन्दा पनि मुलुकमा निराशा बढाउने काम गरिरहेको यादवको भनाइ छ । अहिलेको सरकार जनहितभन्दा पनि कांग्रेस र एमालेका नेताहरूको स्वार्थका कारण बनेकाले यो परिस्थिति स्वाभाविक रहेको पनि यादवले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully