वनको जग्गामा रहेका संरचनामाथि चल्यो डोजर

श्रावण १२, २०८१

विनय आजाद

The dozer ran over the structure in the forest land

सिरहा — सामुदायिक वनको सार्वजनिक जग्गा रहेका निजी संरचनामाथि डोजर चलेको छ । नरहा गाउँपालिका-३ स्थित जोबहा सामुदायिक वनको जग्गामा रहेका संरचनामाथि शनिबार डोजर चलेको हो । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको नेपाली सेनाको ब्यारेकको दक्षिणपट्टीको जग्गा केही व्यक्तिहरुले ३० वर्षबढीदेखि कब्जा गरी घर बनाइ होटल सञ्चालन गर्दै आएका थिए ।

वनको जग्गा राजनीतिक शक्तिको आडमा अतिक्रमण गरिएको भन्दै पटक-पटक आन्दोलन पनि हुँदै आएको थियो । तर, लामो समयदेखि खाली हुन नसकेको जग्गा शनिवार डिभिजन वन कार्यालयले संरचनाहरु भत्काएर खाली गरेको छ ।

डिभिजन वन कार्यालय, सिरहाका प्रमुख सुजित कुमार झाका अनुसार, त्यहाँ २ हेक्टर क्षेत्रफलमा रहेका ७ जनाको ९ वटा घरहरु भत्काइएको छ । कार्यालयले गत असार १३ गते नै जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद नाघे पनि जग्गा उनीहरुले खाली गरेनन् । सूचनाको म्याद सके पनि प्रशासन जग्गा अतिक्रमणमुक्त पार्न पछि हटेको भन्दै स्थानीयले शुक्रबार दिउँसो चोहर्वास्थित राजमार्गमा चक्काजाम नै गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको दबावमा वन कार्यालय पछि हटेको स्थानीयको आरोप थियो । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउन खोज्दा विभिन्न हिसाबले असहयोग भएको डिभिजन वन कार्यालय प्रमुख झाले पनि स्वीकार गरेका छन् । ‘वन संरक्षण र वनका जग्गा अतिक्रमणमुक्त पार्नका लागि अगाडि बढेपछि सबै कार्यालय हाम्रो विरोधी नै हुँदो रहेछ,’ झाले कान्तिपुरसँग कुराकानी गर्दै भने, ‘तर, यहाँको अतिक्रमण आज हटेको छ, हामी खुशी छौं,’ उनले थपे, ‘हामी अन्य ठाउँमा भएका अतिक्रमण हटाउन पनि यसैगरी अगाडि बढ्छौं ।’

The dozer ran over the structure in the forest land

जोबहा प्राकृतिक सामुदायिक वन समितिका अनुसार, यस क्षेत्रमा मात्रै करिब ७ बिघा वनको सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । जसमध्ये मारुति सिमेन्ट उद्योगले नै करिब ४ बिघा जग्गा अतिक्रमण गरी संरचना बनाएको छ । यसको विरुद्धमा जग्गा फिर्ताको मागसहित गत २०७७ भदौमा पनि स्थानीयहरू लामो आन्दोलन पनि गरे ।

The dozer ran over the structure in the forest land

स्थानीयहरूले पूर्वपश्चिम राजमार्ग नै बन्द गरेर आन्दोलन चर्काएपछि मधेश प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत आफैं यहाँ आइपुगेका थिए । २०७७ भदौ २९ मा आएका उनले सम्बोधन गर्दै अब छिट्टै जग्गा अतिक्रमणमुक्त हुने बताएका थिए । सरोकारवाला निकायलाई अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन उनले निर्देशन दिएपनि अहिलेसम्म फिर्ता हुन सकेको छैन।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully