सर्लाहीका व्यवसायी हजारी मृत भेटिए- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीका व्यवसायी हजारी मृत भेटिए

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीका व्यवसायी एवं गोडैतास्थित उद्योग वाणिज्य संघका अध्यक्ष उपेन्द्र हजारी मृत फेला परेका छन् । हजारी शनिबार अपराह्न रहर रोपेको खेतमा मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार साँझ गोडैता–७ स्थित घरबाट समान्य अवस्थामा हिँडेका हजारीको शव शनिबार अपराह्न रहर खेतमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

४५ वर्षीय हजारीको मुखबाट रगत आइरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलमा प्रहरी पुगेको जनाउँदै अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर पनि मगाएको जानकारी दिए ।

उनले घटनाको अनुसन्धानमा प्रहरी जुटिसकेको बताए । ‘आज अपराह्न महिलाहरु घाँस काट्न गएका बेला शव देखेपछि हामीलाई जानकारी आएको हो, घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि मगाएका छौं,’ उनले भने । मृतकका परिवारले हिजो साँझ घरबाट बाहिर गएको र रातिदेखि नै मोबाइल स्विच अफ रहेको प्रहरीलाई जानकारी दिएको छ ।

प्रकाशित : चैत्र ४, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्

कारकेडबिना नै कुमारी घर पुगे राष्ट्रपति पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल कारकेडबिना नै काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । राष्ट्रपति बनेपछि पौडेल शनिबार अपराह्न पहिलोपटक कुमारी घर दर्शन गर्न पुगेका हुन् ।

पौडेलको सवारीको क्रममा सडक खाली गराइएको थिएन । यसअघिका राष्ट्रपतिको सवारीमा सडक खाली गराइए पनि पौडेल भने सडक खाली नगराइकन कुमारी घर दर्शन गर्न पुगेका हुन् ।

यस क्रममा सर्वसाधारणको सवारीलाई पनि सुरक्षाकर्मीहरुले रोकेका थिएनन् । राष्ट्रपतिको कारकेडसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती बेहोर्नु परिरहेको भन्दै यसअघि उच्च पदस्थ अधिकारीहरूको आलोचना पनि हुने गरेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पनि पशुपतिनाथ दर्शन गर्न जाँदा सडक जाम भई उनको आलोचना गरिएको थियो ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि सडकमा हिँडेको भन्दै प्रहरीले एक चिकित्सकलाई कुटपिट गर्दा व्यापक विरोध र प्रदर्शन पनि भएको थियो ।

प्रकाशित : चैत्र ४, २०७९ १७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×