कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सा निकुञ्जमा डढेलो  

शंकर आचार्य

पर्सा — पर्सा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा डढेलो लाग्न थालेको छ । एक साताअघिदेखि निकुञ्जको विभिन्न क्षेत्रमा डढेलो लाग्न सुरु भएको निकुञ्जका रेन्जर हिमाल पाठक बताउँछन् ।

पर्सा निकुञ्जमा डढेलो  

‘साताअघिदेखि निकुञ्जको आधाभार–पथलैया सडक खण्ड, सहजनाथ महादेव मन्दिर क्षेत्रमा गरी करिब १ सय ५० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो,’ उनले भने, ‘निकुञ्जको तत्कालै पहलबाट हाल डढेलो नियन्त्रणमा आइसकेको छ ।’

डढेलो नियन्त्रणका लागि मुख्यत: फायरलाइनहरुको झाडी सफा गर्ने, फायर लाइनहरु सफा गर्ने र फायर लाइनमा डढेलो सुरु हुनुअघि नै ‘अर्लि बर्निङ्ग’ गरेर डढेलोको सम्भावना र बिस्तारलाई नै समाप्त पार्ने योजनाअनुरुप काम गरिएको र त्यो प्रभावकारीसमेत भएको उनले दाबी गरे । यस वर्ष हिउँदे वर्षा कम भएकाले सुख्खायामको सुरुवातसँगै डढेलो लाग्न सुरु भएको उनले बताए ।

हालसम्म निकुञ्जमा बढी डढेलो लागेको क्षेत्रमा मानवीय गतिविधि तथा चहलपहल बढिरहेको पाइएको उनले बताए । ‘जुन-जुन क्षेत्रमा डढेलो लागेको छ ती क्षेत्रमा मानवीय गतिविधि बढी छ, त्रिभूवन राजपथ भएर सवारी साधन तथा बटुवाहरुसमेत आवागमन गर्ने, यस क्षेत्रमा गोठालाहरु पनि सक्रिय हुन्छन्,’ उनले भने, ‘सहजनाथ मन्दिर क्षेत्रमा पनि दर्शनार्थी तथा अन्य सर्वसाधारणहरुको चहलपहल भइरहन्छ, चुरोट खाएर आगोसहितको ठुटो फाल्ने, दाउराको लोभमा जंगलमा डढेलो लगाउने प्रवृत्ति अझै छ ।’

हाल फाट्टफुट्ट विभिन्न क्षेत्रमा डढेलो लाग्ने गरेको तर स्थिति नियन्त्रण बाहिर भने गइनसकेको उनले बताए । ठूलो रुपमा डढेलो लागेको अवस्थामा नियन्त्रण गर्न निकुञ्जकर्मी र नेपाली सेनाको संयुक्त टोलीले दमकल प्रयोग गरेरै डढेलो नियन्त्रणमा लिने तयारी अवस्थामा रहेको उनले बताए ।

विशेषगरी अमलेखगन्ज–आधाभार क्षेत्रमा लाग्ने गरेको डढेलो नियन्त्रणका लागि अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोसँग पनि सहकार्य हुने गरेको उनले बताए । ‘त्यस क्षेत्रमा लाग्ने डढेलोले निगममा पनि क्षति गर्न सक्ने भएकाले निगमसँग सहकार्य गर्ने गरिएको हो,’ उनले भने, ‘गत साता पनि निगमको फायर फाइटिङ ट्यांकर प्रयोग गरेर डढेलो नियन्त्रणमा लिएका थियौं, थप आवश्यक परे निजगढ र जितपुर सिमरा उपमहानगरपालिकाको बारुणयन्त्र पनि प्रयोगमा ल्याउने योजना छ ।’

डिभिजन वन कार्यालय पर्साका अधिकृत फरमान मियाँले राष्ट्रिय वनअन्तर्गत बिहीबार बडनिहार सवडिभिजन कार्यालयअन्तर्गत छतिवनटाँडीमा काठको ढांगमा र शुक्रबार बसन्तपुर रेन्जपोष्टअन्तर्गत हरैयादेखि ३ किमि उत्तर पूर्वमा रातको समयमा वन क्षेत्रमा डढेलो लागेको बताए । करिब आधा हेक्टर वन क्षेत्रमा लागेको आगो इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका सुरक्षाकर्मीको सहकार्यमा निभाइएको उनले बताए ।

प्रकाशित : फाल्गुन २८, २०७९ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?