कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

थारू अगुवा रायबाबा

शंकर आचार्य

पर्सा — पर्सा जिराभवानीका भोपाल राय अर्थात् राय बाबा बितेको वर्षौं भइसक्यो । ब्रिटिस सेनालाई परास्त गर्ने क्रममा प्राणको आहुति दिएको इतिहासले परिचित उनको सम्झना अहिले पनि यहाँका बासिन्दा ससम्मान गर्छन् । तर, उनको वीरगाथा र सुन्दा अद्भुत लाग्ने जीवनसँग जोडिएका महत्त्वपूर्ण दस्ताबेजलाई जोगाउने काम न उनका सन्ततिबाट भएको छ न पालिकाले नै प्रयास गरेको छ ।

जिराभवानी गाउँपालिका–४ कोढौली पुर्ख्यौली थलो भएका रायलाई स्थानीयले राय बाबाको नामले सम्बोधन गर्दै आएका छन् । राय बाबाको वीरगाथा किम्वदन्ती झैं लाग्छ । यस भेगका थारू जातिले उनलाई कुल पुरुषको रूपमा समेत पूजा गर्छन् । यहाँस्थित राय बाबा स्थान (मन्दिर) मा उनको दैनिक पूजाअर्चना गरिन्छ । चैते नवमी र दसैंमा अष्टमीका दिन मेला लाग्छ ।

अहिले भोपाल रायको १४ औं पुस्ताका सन्तान यहाँ बसोबास गर्छन् । १३ औं पुस्ताका सन्तान ५० वर्षीय गौरीशंकर राय थारूसँग राय बाबाले युद्ध लड्दा प्रयोग गरेको एउटा तरबार छ ।

त्यसैगरी प्रभु नारायण ओझैया थारूसँग एउटा तरबार र राय बाबा चढ्ने घोडालाई लगाउने लगाम छ । विगतमा राय बाबाले प्रयोग गरेका अन्य तरबार र राजा महेन्द्रको पालामा सरकारले उनको सम्मानमा दिएको ताम्रपत्रसमेत अन्य सन्ततिले राखेकोमा अहिले हराइसकेको प्रभु नारायण बताउँछन् । ‘राय बाबाका सन्तानको घरघरमा यस्ता तरबार र ताम्रपत्र थिए,’ उनले भने, ‘अहिले म र गौरी शंकरसँग एक/एक तरबार र घोडाको लगामबाहेक केही चिनो बाँकी रहेन ।’

प्रभु नारायणले पुर्खाबाट राय बाबाको सम्बन्धमा वीरगाथा सुनेको बताए । ‘उहाँ त्यतिबेला यसभेगका थारूको अगुवा हुनुहुन्थ्यो । भारतमा ब्रिटिसको साम्राज्य थियो । ब्रिटिस सेनाले पटकपटक नेपालतर्फ आक्रमण गर्दा उहाँले थारू तथा गैरथारूको सेनाको फौज तयार पारेर ब्रिटिस सेनालाई परास्त गरेको बताइन्छ,’ उनले भने, ‘ब्रिटिस सेनाले हाल पर्साको छिपहरमाई गाउँपालिकाको बुढगाईमा राय बाबाको छलपूर्वक हत्या गरेका थिए ।’ छिमेकी शंकरसरैया गाउँका बासिन्दा एवं सामाजिक अभियन्ता प्रकाश थारू राय बाबाको इतिहास र हतियारलगायत सामग्रीहरुलाई संग्रहालय निर्माण गरेर संरक्षण गर्नुपर्ने बताउँछन् ।

प्रकाशित : श्रावण १९, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?