भारतबाट उद्धार गरिएका ९ चेली स्वदेश फिर्ता- मधेस - कान्तिपुर समाचार

भारतबाट उद्धार गरिएका ९ चेली स्वदेश फिर्ता

शंकर आचार्य

पर्सा — भारतका विभिन्न आर्केस्ट्रामा बालमजदुरी गर्दै गरेको अवस्थामा उद्धार गरिएका ९ जना चेलीलाई स्वदेश फिर्ता ल्याइएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृहले नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा ती नेपाली चेलीलाई मंगलबार साँझ वीरगन्जमा ल्याएको हो ।

आवधिक गृह प्रमुख गोमा पौडेलका अनुसार फिर्ता ल्याइएका मध्ये ४ बालिकाहरूको भारतको मोतिहारीस्थित एक आर्केस्ट्राबाट फागुन २ गते उद्धार गरिएको थियो । त्यस दिन ५ नेपाली चेलीहरूको यसरी उद्धार गरिएकोमा तीमध्ये एक जना २० वर्षकी थिइन् भने अन्य नाबालिका थिए । बालिग चेलीलाई उति बेलै आफन्तको जिम्मा लगाइएको थियो भने नाबालिगहरूलाई बाल कल्याण समितिको आदेशले मोतिहारी बालिका गृहमा राखिएको थियो । उनीहरूमध्ये ३ जना झापा र १ जना मोरङका हुन् ।

वीरगन्जबाट ती बालिकाहरूलाई बुधबार माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ । उनीहरूको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र अभिभावकहरू लिन वीरगन्जसम्म आउने अवस्था नरहेकाले केन्द्रीय कार्यालयबाटै उनीहरूलाई अभिभावकको जिम्मा लगाउने गरी पठाइएको हो । यी बाहेक भारतकै मोतिहारी र रक्सौलमा बाल मजदुरी गरिरहेको अवस्थामा फेला परेका ५ नेपाली बालबालिकामध्ये ३ बारा र २ पर्साका छन् ।

तीमध्ये ४ बालक र १ बालिका छन् भने २ जना दाजु-बहिनी हुन् । उनीहरूलाई घरेलु कामदार, उद्योगमा मजदुरी तथा मागेर हिँडेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनीहरू पनि भारतीय बाल कल्याण गृहको आदेशले मोतिहारीस्थित बालक तथा बालिका गृहमा आश्रित थिए । उनीहरूलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ । भारतीय बाल कल्याण समाजले बाराको बाल हेल्प लाइनमार्फत ती बालबालिकालाई अभिभावकको जिम्मा लगाउने गृहकार्य भइरहेको उनले बताइन् ।

प्रकाशित : असार १५, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्

पाटनको तारा काष्ठमूर्ति सिकागोमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन दरबार क्षेत्रनजिकै रहेको राजश्री महाविहारका नामले चिनिने इबाबहीबाट चोरिएको पुरातात्विक तारा काष्ठमूर्ति अमेरिकाको सिकागोमा फेला परेको छ ।

कला–सम्पदाको खोजबिन तथा पहिचानमा सक्रिय अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार सिकागोको आर्ट इन्सिटच्युटमा फेला परेको देवी ताराको यो काष्ठमूर्ति सम्पदा १६औं शताब्दीमा निर्माण भएको मानिएको छ ।

यसअघि पशुपति मन्दिर परिसरबाट हराएको लिच्छविकालीन चर्तुमुखी शिवलिङ्ग पनि आर्ट इन्स्टिच्युट अफ सिकागोमै फेला परेको थियो । चर्तुमुखी शिवलिङ्ग सम्पदालाई म्युजियममा उपहारका रूपमा अमेरिकी अर्बपति जेम्स डब्लु एल्सडर्फ दम्पतीले बुझाएका थिए ।

प्रकाशित : असार १५, २०७९ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×