मधेसमा घुम्ती खोप सेवा

सन्तोष सिंह

धनुषा — मधेस प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपबाट वञ्चित गर्भवती, अपांग र बिरामीहरुका लागि घुम्ती खोप सेवा आरम्भ भएको छ । मधेस प्रदेशको ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ८ मोबाइल टोली घुम्ती खोप सेवाका लागि परिचालन गरिएको छ ।

मधेसमा घुम्ती खोप सेवा

अस्ट्रेलियाली सरकारको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राविधिक सहयोगमा वाग्मती सेवा समाजको सहजीकरणमा खोपको पहुँच बढाउन महिला स्वास्थ्यसम्बन्धी सेवा सुदृढीकरणका लागि परियोजना सञ्चालन गरिएको समाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक मुक्तिनारायण साहले बताए ।

कोभिड विरुद्धको खोप लगाउनबाट वञ्चित १ लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउन घुम्ती खोप सेवा सुरु गरिएको वाग्मती सेवा समाजका अध्यक्ष भरत कार्कीले जानकारी दिए । खोप केन्द्रमा जान नसकेकाहरुलाई पहिलो चरणमा ४ जिल्लाका ३८ हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइएको उनले बताए ।

घुम्ती सेवाका स्वास्थ्यकर्मीलाई बिदाइ गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका आठवटै जिल्लामा कोभिड–१९ विरुद्धको खोप सुदृढीकरणको जारी घुम्ती खोप सेवा निरन्तरता दिन आग्रह गरे । स्वास्थ्य संस्थासम्म पहुँच नहुने नागरिकलाई घरमै खोप लगाउने कार्यक्रमबाट प्रदेशका सबै नागरिक लाभान्वित हुन उनले बताए ।

खोपको पहुँच बढाउन संचालित यो परियोजनाको कामलाई मुख्यमन्त्री राउतले प्रशंसा गरे । परियोजनाअन्तर्गत गर्भवती, सुत्केरी, जेष्ठ नागरिक तथा बिरामीहरुलाई घरघरमै गएर खोप लगाइँदैछ । बालबालिकालाई पनि आगामी दिनमा यस्तै घुम्ती सेवा संचालन गर्नुपर्ने मुख्यमन्त्री राउतको भनाइ थियो ।


प्रकाशित : असार ७, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?