कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जग्गा दानमा रमाउने चन्द्रकान्त

कान्तिपुर संवाददाता

सप्तरी — सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रशासनिक भवनको बुधबार उद्घाटन हुँदा सबैको ध्यान भने प्रमुख अतिथि संघीय सांसद चन्द्रकान्त चौधरीमाथि थियो । चौधरीले दानमा दिएको पाँच करोड मूल्य बराबरको १० कट्ठा जग्गामा नगरपालिकाको प्रशासनिक भवन बनेको छ । 

जग्गा दानमा रमाउने चन्द्रकान्त

चौधरीले सप्तरीको पातो बजारमा रहेको सबैजसो सार्वजनिक निकायका लागि जग्गा दान दिएका छन् । विद्यालय, स्वास्थ्य चौकी, सशस्त्र प्रहरी बेस क्याम्प, कृषि तथा पशु कार्यालय, मन्दिर बनाउन उनले जग्गा दान गरेका हुन् । वि.सं २०२२/२३ सालतिर गाउँमा विद्यालय खोल्नुपर्ने सोचका साथ चौधरीले ६३ बिघा जग्गा विद्यालयलाई दान दिए । उक्त विद्यालयको नाम नै कन्तचन्द्र माध्यमिक विद्यालय राखियो । कन्तलाल सांसद चन्द्रकान्तका हजुरबुबा हुन् ।

दुई वर्षअघि डाक्नेश्वरी नगरपालिकाको प्रशासकीय भवन बनाउने कुरा चल्यो । जग्गाकै अभाव भएको थाहा पाएपछि चन्द्रकान्तले जनप्रतिनिधिलाई सहज बनाइदिए । आफ्नो १० कट्ठा जग्गा उनले दानमा दिए । अहिले सप्तरीको पातोबजारमा रहेका सबैजसो सार्वजनिक निकाय उनले नै दानमा दिएको जग्गामा निर्माण गरिएको छ ।

सांसद चौधरीले पातो बजारस्थित सशस्त्र प्रहरीको बेस क्याम्पका लागि १० कट्ठा, खानेपानीका लागि ५ कट्ठा, इलाका स्वास्थ्य चौकीका लागि ५ कट्ठा, कृषि तथा पशु सेवा कार्यालयका लागि १६ कट्ठा, वडा नम्बर ५ को कार्यालयका लागि ५ कट्ठा जग्गा दानमा दिएको डाक्नेश्वरीका नगरप्रमुख शिवनारायण साहले बताए । यसैगरी, चौधरीले पातो बजार हटियाका लागि १२ कट्ठा, साना किसान सहकारीका लागि १३ धुर, साझा संस्थाका लागि ५ कट्ठा जग्गा दान दिएका छन् । उनले इलाका प्रहरी कार्यालय पातोका लागि पनि ८ कट्ठा जग्गा दिने भएका छन् । ‘मैले ती स्थलहरू निर्माणका लागि कुनै स्वार्थ नराखीकन सय बिघाभन्दा बढी जग्गा दान गरे,’ चौधरीले भने, ‘अझै पनि सार्वजनिक सरोकारका विषयमा मेरो सहयोगको खाँचो भए, म जग्गा दान गर्न तयार छु ।’

प्रकाशित : फाल्गुन २९, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?