बाघ गणना गर्न पर्सा निकुञ्जमा प्राविधिक

शंकर आचार्य

पर्सा — राष्ट्रिय बाघ गणना कार्यक्रम अन्तर्गत चितवन–पर्सा कम्प्लेक्सको पर्सा निकुञ्ज क्षेत्रमा बाघ गणना क्यापी विधिबाट सुरु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज आधाभार कार्यालयका सूचना अधिकृत सन्तोष भगतका अनुसार गणनाका लागि ११ वटा प्राविधिक टोली सोमबारबाट निकुञ्ज तथा यससँग जोडिएका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा खटिएको छ ।

‘सोमबारबाटै ११ वटा प्राविधिक टोली कार्यक्षेत्रमा खटिएको छ,’ उनले भने, ‘प्रत्येक टोलीमा आवश्यकताअनुसार ५ देखि ७ जना प्राविधिक छन् ।’ बाघ गणनाका लागि चितवन-पर्सा कम्प्लेक्सलाई तीनवटा ब्लकमा विभाजन गरिएको थियो । पहिलो र दोस्रो ब्लकमा गणना सकिएपछि अब तेस्रो ब्लकमा गणना सुरु गर्न लागिएको हो ।

तेस्रो ब्लकमा पर्सा निकुञ्जको सम्पूर्ण क्षेत्रका साथै यससँग जोडिएका पर्सा, बारा, मकवानपुर र रौतहट जिल्लाका डिभिजन वन, सामुदायिक वनका केही भाग पनि पर्छन् । बाघको उपस्थिति रहेको सम्पूर्ण वन क्षेत्रमा एकैसाथ बाघ गणना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

सोमबार कार्यक्षेत्रमा पुग्ने प्राविधिकहरूले मंगलबारदेखि निकुञ्ज तथा निकुञ्ज बाहिरका ३ सय २१ वटा ग्रीडमा क्यामेरा जडान गर्ने बताएका छन् । बाघ पाइने विभिन्न निकुञ्ज तथा वन क्षेत्रलाई तीनवटा कम्प्लेक्समा विभाजन गरी मंसिर १९ देखि राष्ट्रिय बाघ गणना सुरु गरिएको थियो । चितवन-पर्सा कम्प्लेक्ससँगै बाँके-बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा-लालझन्डी कम्प्लेक्समा यो गणना गरिँदै छ ।

चितवन पर्सा कम्प्लेक्समा फेब्रुअरी ४ सम्म गणना सम्पन्न गर्ने लक्ष्य रहेको भगतले जानकारी दिए । प्राविधिकहरूले ग्रिडको विभिन्न भागमा स्वचालित क्यामेरा जडान गर्नेछन् । प्रत्येक ग्रिड करिब ४ वर्ग किमिका छन् । ती ग्रिडमा कम्तीमा एक जोडी क्यामेरा जडान गरिँदै छन् । क्यामेरालाई १५ दिनसम्म एउटा ग्रीडमा राखिँदै छ । प्रत्येक ४ वर्षमा यसरी बाघको उपस्थिति रहेका निकुञ्ज तथा आरक्षहरूमा बाघ गणना गर्ने गरिएको छ ।

बाघ गणनाका लागि प्राविधिकहरू कार्यक्षेत्रमा जानुअघि सोमबार निकुञ्जको आधाभारस्थित कार्यालयमा सरोकारवालाहरूलाई बाघ गणना कार्यक्रमबारे जानकारीसमेत गराइएको भगतले बताए । बैठकमा पर्सा, बारा, रौतहट र मकवानपुर डिभिजन वन कार्यालय, सामुदायिक वन तथा साझेदारी वनका प्रतिनिधि एवम् सञ्चारकर्मीसमेत सहभागी रहेको उनले बताए ।

प्रकाशित : माघ ३, २०७८ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?