१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस 

बिरामी मृत्यु प्रकरण
लक्ष्मी साह

बारा — हेलचक्रयाईंले इमर्जेन्सीका बिरामीको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले नेसनल मेडिकल कलेज वीरगन्जमाथि कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस 

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गत शुक्रबार मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई पत्र लेख्दै कारबाहीको सिफारिस गरेका हुन् ।


गत शनिवार (चैत १५) मेडिकल कलेजको इमर्जेन्सीमा भर्ना भएका कलैया उपमहानगरपालिका–२२ भोडाहा धोंधा गाउँका २५ बर्षीय वीजय कुसवाहाको उपचारमा मेडिकल कलेजले हेलचक्रयाईं गरेकाले काठमाडौं लैजादै गर्दा चैत १७ मृत्यु भएको थियो । घरको आँगनमा मसुरो दाईं गर्ने क्रममा थ्रेसरमा परी दुबै खुट्टा र हातमा घाउ लागेपछि उपचारका लागि वीजय भर्ना भएका थिए ।


हेलचक्रयाईंले ज्यान गएको भन्दै मृतकका परिवारले मेडिकल कलेज र चिकित्सकमाथि कारबाही माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका थिए । उजुरी दिएलगत्तै प्रमुख जिल्ला अधिकारीले कारबाहीको सिफारिस गरेका हुन् ।


उपचारमा हेलचक्रयाईं गरिरहेको र उपचारै नगरी दुर्व्यवहार गर्दै अस्पतालले जबर्जस्ती निकालिरहेकोबारे प्रमुख जिल्ला अधिकारी पहिलेदेखि सांसद रामबाबुकुमार यादवमार्फत् जानकारी लिएका थिए । मृतकका परिवारले गत बिहीबार कलैयामा पत्रकार सम्मेलन गरेर अस्पताललाई कारबाही र क्षतिपुर्तीको माग गरेका थिए ।


मेडिकलले विरामी विजयलाई कोराना (कोभिड–१९) लागेको आशंकामा थप उपचारको लागि बाहिर लग्न भनेपछि पीडित परिवारले वीरगन्जको नाम चलेका चार र काठकाडौंका एकसहित पाँच वटा अस्पतालको ढोका चहारेका थिए । तर, कसैले उपचार गर्न नमानेपछि काठमाडौं त्रिवि शिक्षण् अस्पतालमा उनको मृत्यु भएको थियो ।


‘कोरोनाको संक्रमण थिएन,’ मृतक वीजयका दाई महेशले भने, ‘आशंकामै पारेर अस्पतालले ज्यान लियो । त्यसैले क्षतिपुर्तीसहित कारबाही हुनुपर्‍यो ।’ विजयलाई कोरोनाको संक्रमण नभएको टेकु अस्पतालले पुष्टि गरिसकेको छ । मृतक वीजयकी श्रीमती ७ महिनाकी गर्भवती छन् ।


महेशले आफ्नो भाईलाई चिकित्सकको बोली गोली लागेजसरी लागेको बताए । ‘कुनै परीक्षण नगरी डाक्टरले तपाईंलाई कोरोना लागेको छ भनिदिए । डाक्टरले भनेको सुन्नासाथ भाई त्यहीं बेहोश भयो । कहिल्यै होशमा नआउने गरी संसारबाट विदा भयो,’ महेशले भने ।


विजयको खुट्टाको घाउमा गाउँमै ३३ वटा टाँका लागेको थियो । टाँकाले घाउमा इन्फेक्सन भएपछि उनलाई भर्ना गरिएको थियो । मेडिकल कलेज प्रशासनले उपचारमा संलग्न डाक्टर इस्लाम मन्सुरीलाई स्पस्टीकरण सोधेको बताएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?