कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अख्तियारको वार्षिक प्रतिवेदन : भ्रष्टाचारका उजुरी प्रदेश २ मा धेरै

देशभरका उजुरी २४ हजार ८५  
तीमध्ये प्रदेश २ का २२ प्रतिशत 
सबैभन्दा धेरै घुस लेनदेनका 

(जनकपुर) — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ का प्रमुख तिलक परियारलाई सोमबार वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगको बर्दिवास कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाले प्रतिवेदनमा प्रदेश सरकार र स्थानीय तहले सुशासन कायम र भ्रष्टाचार न्यूनीकरणका लागि अपनाउनुपर्ने उपाय उल्लेख गरिएको भन्दै लागू गराउन प्रदेशप्रमुखसित आग्रह गरे । 

अख्तियारको वार्षिक प्रतिवेदन : भ्रष्टाचारका उजुरी प्रदेश २ मा धेरै

आयोगका अनुसार भ्रष्टाचारका सबैभन्दा बढी उजुरी प्रदेश २ कै छन् । कुल उजुरीमध्ये प्रदेश २ का २२ प्रतिशत रहेको प्रतिवेदनमा औंल्याइएको छ । देशभरिबाट २४ हजार ८५ उजुरी परेकोमा बर्दिबास कार्यालयमा मात्र २ हजार ९४ वटा रहेको सापकोटाले बताए । तीमध्ये ७ सय ९२ वटा फर्छ्योट भएका छन् । १ हजार ३ सय ९ वटाको छानबिन गर्न बाँकी छ । घुससम्बन्धी उजुरी धेरै परेका छन् । यो आँकडामा बारा, पर्सा र सप्तरीको उजुरी जोडिएको छैन । बारा र पर्सालाई आयोगको हेटौंडा कार्यालय र सप्तरीलाई इटहरी कार्यालयले हेर्छ ।


आयोगका अनुसार बर्दिबास कार्यालयमा ४२ प्रतिशत घुस, २५ प्रतिशत झूटा शैक्षिक प्रमाणपत्र, ११ प्रतिशत सार्वजनिक सम्पत्तिको हानिनोक्सानी, ४ प्रतिशत गैरकानुनी सम्पत्ति आर्जन, ९ प्रतिशत गैरकानुनी लाभ वा हानि पुर्‍याएको, ३ प्रतिशत राजस्व चुहावट र ६ प्रतिशत विविध शीर्षकका उजुरी छन् । वाग्मती प्रदेशमा उजुरीको संख्या २१ प्रतिशत छ ।


भ्रष्टाचारले मुलुक खोक्रो बन्ने भएकाले यसलाई नियन्त्रण गर्न सरकार, राजनीतिक दल र कर्मचारी सबैले भूमिका निर्वाह गर्नुपर्ने प्रदेशप्रमुख परियारले बताए । ‘सबै क्षेत्रमा कमबेसी भ्रष्टाचार र अनियमितता छ । चेतनाको कमीले हाम्रो जस्तो अविकसित र पिछडिएको देशमा यसलाई जरैबाट उन्मूलन गर्न समय लाग्छ,’ उनले भने, ‘घुसबापत नगदै लिनु मात्र भ्रष्टाचार होइन । कार्यालयमा ढिलो पुग्नु, काम चोर्नु र आलटाल गर्नु पनि अनियमितताको पाटो नै हो ।’


प्रदेशप्रमुख परियारले आयोगको प्रतिवेदनबारे मुख्यमन्त्रीसित पनि छलफल गरेर प्रदेश २ मा सुशासन र छिटो–छरितो कार्य सम्पादनका लागि पहल गर्ने आश्वासन दिए । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले आफ्नो कार्यकालमा प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताए । ‘म आफैं अख्तियारमा दुई वर्ष काम गरें, सुशासन मेरो प्राथमिकतामा पर्छ,’ उनले भने, ‘सबै कार्यालयमा अख्तियारको मान्छे राखिदिनू । मेरो पछाडि लगाए नि हुन्छ । घुस खाने र भ्रष्टाचार गर्ने कर्मचारीलाई म छाड्दिनँ ।’


परियारले प्रदेश सरकार मातहत रहेको यातायात कार्यालय पनि घुसको अड्डा बनेकाले त्यसलाई सुधार गर्न आफूले पहल सुरु गरिसकेको बताए । ‘प्रदेशको सुशासनसम्बन्धी विधेयक पनि प्रदेशसभामा प्रस्तुत भइसकेको छ,’ प्रमुख सचिव सुवेदीले भने, ‘त्यो विधेयक पनि कोसेढुंगा साबित हुन्छ । हामी सबै मिलेर प्रदेश २ लाई सुशासनमा १ नम्बर बनाउनेछौं ।’


प्रकाशित : पुस २९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?