३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

साढे ७ लाख जनसंख्या वृद्धि

जनकपुर — प्रदेश २ को नीति तथा योजना आयोगले आठ वर्षयता प्रदेशको जनसंख्या साढे ७ लाख बढेको जनाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार प्रदेशमा ५४ लाख ४ हजार जनसंख्या रहेकोमा चालू वर्षको पुस आधासम्ममा ६१ लाख ५८ हजार पुगेको आयोगले बताएको छ ।

साढे ७ लाख जनसंख्या वृद्धि

२०७८ मा राष्ट्रिय जनगणना गर्ने सुरसार भइरहँदा आयोगले प्रदेशको जनसंख्याबारे नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । आयोगले यूएनएफपीएको सहयोगमा प्रदेशको जनसांख्यिक स्थिति पुस्तक तयार पारेको छ । राष्ट्रिय जनगणना २०६८, नेपाल मानव विकास प्रतिवेदन, सरकारका विभिन्न मन्त्रालय र विभागका वार्षिक प्रतिवेदन तथा प्रदेश र त्यस अन्तर्गतका जिल्ला, स्थानीय तहको संकलित तथ्यांकलाई विश्लेषण गरेर पुस्तक तयार पारिएको हो । बिहीबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पुस्तक सार्वजनिक गरे । मन्त्री यादवले पछिल्लो जनगणनामा एउटै जातलाई फरक–फरक समुदायमा राखिएकाले प्रदेशको जनसंख्या थोरै देखिएको बताए ।


प्रदेशमा सबैभन्दा बढी जनसंख्या सर्लाहीमा ८ लाख ८१ हजार छ । सबैभन्दा कम सिरहामा ६ लाख ९६ हजार जनसंख्या छ । प्रदेशको कुल जनसंख्यामध्ये पुरुष ३० लाख ९९ हजार र महिला ३० लाख ५८ हजार छ । प्रदेशमा शून्यदेखि ४ वर्ष उमेर समूहको जनसंख्या सबैभन्दा धेरै छ । यो उमेर समूहका ६ लाख २५ हजार छन् ।


आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले विकासका सबै क्रियाकलाप जनसंख्यामै केन्द्रित रहने हुँदा ताजा जनसांख्यिक स्थिति तयार पारेको बताए । ‘यो तथ्यांकले प्रदेशको नीति, योजना र कार्यक्रम बनाउन सहयोग पुग्नेछ,’ उनले भने ।


प्रदेशमा शिशु मृत्युदर भने डरलाग्दो छ । नयाँ तथ्यांकअनुसार प्रदेशमा नवजात शिशु मृत्युदर राष्ट्रिय औसतभन्दा बढी छ । प्रदेशमा प्रतिहजार नवजात शिशुमा ३० जनाको मृत्यु हुन्छ । नेपालभरि भने यो संख्या २१ मात्र छ । यस्तै, प्रदेशमा प्रतिहजार नवजात शिशुमा १ वर्षभित्र मृत्यु हुनेको संख्या १३ छ । नेपालभरिमा यो संख्या १२ मात्र छ । शिशु मृत्युदर प्रदेशमा ४३ र नेपालभरिमा ३२, बाल मृत्युदर प्रदेशमा १०, नेपालभरि ६ र ५ वर्षमुनिको शिशु मृत्युदर प्रदेशमा ५२ र राष्ट्रिय स्तरमा ३९ जना रहेको छ ।


जनसंख्याको आधारमा प्रदेशमा यादव जाति अग्रस्थानमा छन् । प्रदेशमा कुल जनसंख्याको १४.८ प्रतिशत अर्थात् ७ लाख ९८ हजार यादव छन् । दोस्रो ठूलो जनसंख्या मुस्लिम समुदायको ११.६ प्रतिशत अर्थात् ६ लाख २५ हजार छ । तेस्रो स्थानमा थारू समुदाय छ । कुल जनसंख्याको ५.३ प्रतिशत ओगेटेको थारुको जनसंख्या २ लाख ८४ हजार छ ।


प्रकाशित : पुस २६, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?