जुडशीतल पर्वमा शीतलताको कामना

ओमप्रकाश ठाकुर

सर्लाही — दक्षिणी ग्रामीण क्षेत्रमा जुडशतल पर्व शितलताको कामना गर्दै हार्षोउल्लाससाथ मनाइएको छ । वर्षभरि शितलता प्रदान होस् भन्ने उद्देश्यसाथ यो पर्व मनाइन्छ । बदलिँदो मौसममा मनाइने यो पर्व शारीरिक र सामाजिक रूपमा निकै फाइदा पुग्ने जनविश्वास छ । 

जुडशीतल पर्वमा शीतलताको कामना

ऊमेर र मर्यादाक्रम ठूलो रहेको व्यत्तिले सानाको शिरमा पानी सिञ्चित गर्दै वर्षभरि शितलता, सुख, शान्ति एवं दीर्घायुको कामना गर्दै आशिर्वाद दिइन्छ । जुडशितलको दिन रूख बिरुवामा समेत पानी हाल्ने परम्परा कायम छ ।


फागुमा रङ र अबिर खेलेजस्तै जुडशितलमा हिलो पानी खेल्ने गरिन्छ । नयाँ वर्षकै राति घर घरमा शाकाहारी मिष्ठान भोजन भात, दालसहित तरुवा, करीबरी बनाएर खाने र भोलि अर्थात् जुडशितलको दिन रातिकै बासी खाना जुडाएर (पानीमा हालेर) खाने चलन छ । यसलाई नै जुडशितल भनिन्छ ।


जाडो सकिएर गर्मी लागेसँगै मनाइने यो पर्वको वैज्ञानिक महत्त्व उत्तिकै रहेको जानकारहरू बताउँछन् । बदलिँदो मौसमका कारण यस बेला खाना नरुच्ने, शरीरले सन्तुलन नमिलाउँदा बिरामी पर्ने, टाउको भारी हुनेजस्ता समस्या हुने गर्छ । त्यसबाट बच्न पनि यो पर्व परम्परादेखि चलिआएको जानकार बताउँछन् । ‘जुडशितल पर्वको सामाजिक र वैज्ञानिक महत्त्व छ, बढ्दो गर्मीबाट बच्न यसले मद्दत गर्छ,’ नागरिक अगुवा रजनीकान्त झाले भने, ‘जुडशितलले सामाजिक मात्रै होइन, शारीरिक रूपमा समेत फाइदा पुग्छ ।’


मानवीय विकास नभएका बेला विभिन्न किसिमका बिरामी र सरुवा रोग प्रकोप देखिने यो मौसममा पुर्खाले यसबाट बच्न यो पर्वको सुरु गरेको झाको भनाइ छ । जुडशितलका बेला सुखा मौसमसमेत भएकाले रूखबिरुवा सुक्ने तथा विभिन्न रोग लाग्ने भएकाले पानी हाल्ने परम्परा छ । पानी हालेपछि रूखविरुवा फस्टाउने मान्यता छ । बासी खाना जुडाएर खानाले पेटलाई शितलता प्रदान गर्ने र टाउकोमा पानी हाल्नाले टाउको वर्षभरि शितल रहने जनविश्वास छ ।


जुडशितलको अवसरमा घरघरमा मिष्ठान परिकार बनाएर खाने र हिलो पानी एकापसमा छ्यापिन्छ । शारीरिक रूपमा फाइदा पुर्‍याए पनि पछिल्लो पुस्ताले बुझ्न नसक्दा केका कारण पर्वको रौनकता हराउँदै गएको स्थानीय दुःखनी देवीले बताइन् । ‘शरीरमा गर्मीले घाउ खटिरा नआओस्, वर्षभरि परिवारमा सुख, शान्ति आओस् भन्ने उद्देश्यसाथ यो पर्व मनाउँछौं,’ उनले भनिन्, ‘अहिलेको नयाँ पुस्ताले भने यसको महत्त्व बुझ्न सकेका छैनन् ।’


जनकपुरमा रौनकता

जनकपुर– मिथिलाञ्चलको महत्वपूर्ण सांस्कृतिक पर्व जुडशीतल आइतबार धूमधामसाथ मनाइएको छ । पर्व अवसरमा बालबालिका तथा किशोरकिशोरी एक आपसमा हिलोमाटो दलेर रमाइलो गरे । वृद्धवृद्धाले आफ्ना सन्तानको टाउकोमा वासी शीतल जल खन्याएर आशीष दिए ।


वसन्त ऋतुको विदाइ तथा गर्मी मौसमको स्वागतमा नयाँ वर्षको दोस्रो दिन मिथिलाञ्चलमा जुडशीतल मनाइन्छ । यस पर्वको अवसरमा घरआँगन सफा गर्नुका साथै कुवा, पोखरी, इनारलगायत पानीका मुहान सफाइ गरिन्छ । युवायुवती आपसमा हिलो दलेर रमाइलो गर्छन् ।


धनुषाका बहुअर्वा जनकपुर उपमहानगरपालिका ८ स्थित वलवा टोल, पूर्वपश्चिम राजमार्ग आसपासका बस्तीमा अन्य सांस्कृतिक कार्यक्रम गरेर पर्व मनाइन्छ । गर्मीबाट जोगिन आयोजना हुने दुई दिवसीय यस पर्वको पहिलो दिन अर्थात् वैशाख १ गते सतुआइन हुन्छ । यस दिन चनाको सातु खाने चलन छ ।


दोस्रो दिन घर घरमा वड वडी (वेसन र दहीबाट बनाइने पारम्परिक परिकार)संगै विभिन्न प्रकारक तरुवा (पकौडा) खाने चलन छ । यसै दिनदेखि आँपको चटनी खाने गरिन्छ । गृहस्थहरू अआफ्ना गाई गोरु,रूख वृक्ष तथा घर आँगनमा पानी छ्यापेर शीतल पार्छन । जुडशीतलको दिन चुलोसमेतको पूजा हुन्छ । मध्य तराईका सम्पूर्ण जिल्लामा यो पर्व धुमधामले मनाइने हुँदा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?