विराटनगर — कुनै समय हरियालीले ढाकिएको, सधैं शीतलता दिने विराटनगर महानगरपालिका–२ सोमबारे हाट छेउको चोक आजभोलि गर्मीमा सास फेर्न गाह्रो हुने ठाउँमा बदलिएको छ । यहाँ वर्षौंदेखि उभिएका थिए, वर र पीपलका जोडी रूख ।
करिब दुई वर्षअघि ती काटिए । त्यसको सट्टा वडाले पुनः रूख रोप्ने काम गरेन, बरु फलामको संरचना खडा गर्यो, ‘आइफल टावर’ । यस योजनालाई वडाले रमणीय पार्कका रूपमा अघि बढाएको थियो ।
वडाध्यक्ष कुमार पोखरेलका अनुसार करिब १५ धुर सार्वजनिक जमिनमा १५ लाख रुपैयाँ खर्च गरेर टावर निर्माण गरिएको हो । ‘अब टावरमुनि चौतारो बनाउने योजना छ,’ उनले भने, ‘त्यहाँ सर्वसाधारणले विश्राम गर्न सकून् भन्ने उद्देश्य हो ।’
वडाले विकासका लागि गरेका यस्ता निर्णयलाई स्थानीय धेरैले ‘अन्धाधुन्ध सहरीकरण’ को उदाहरण मानेका छन् । ‘वरपीपलको रूखले गर्मीमा कति शीतलता दिन्थ्यो !’ स्थानीय हरिसिंह राजवंशीले भने, ‘अब फलामको टावरमुनि चौतारोमा बसेर छाया खोज्नुपर्ने कस्तो दिन आइलाग्यो !’
रूख मासेर फलामे संरचना खडा गर्ने कामलाई वातावरणविद्हरू विकास नभई पर्यावरणीय अपराध गरिएको बताउँछन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका उपसचिव दीपक ज्ञवालीले रूख काटेर फलामे संरचना खडा गर्नु विकास नभएको तर्क गरे । ‘विकासका लागि रूख काट्नै नमिल्ने होइन, मिल्छ तर यसको पनि प्रक्रिया हुन्छ,’ उनले भने, ‘प्रक्रिया पूरा नगरी जथाभावी रूख काटेर विकासे टावर बनाउनु गलत हो ।’
हरियाली अभियानकर्मी पारुल क्षेत्री विराटनगरका रैथाने पनि हुन् । वर्षौंदेखि देखिरहेको वरपीपलको रूख ढालेको दिन उनी धेरै दुःखी भएका थिए । ‘हाम्रो समाज अझै विकासका नाममा रूख काट्नुलाई गर्वको विषय ठान्छ,’ उनले भने, ‘विकास होइन, यो चेतनाको हार हो ।’ उनका अनुसार महानगरले रूख संरक्षणसम्बन्धी नीति बनाए पनि व्यवहारमा कार्यान्वयन गरेको देखिँदैन । विगतमा हरियाली विराटनगर अहिले रूखविहीन सहरजस्तो छ । ‘गर्मी चर्किएका दिन शीतल ताप्ने छहारी पनि छैन,’ क्षेत्रीले भने, ‘महानगरले रूख काट्न थालेपछि हामी रूख रोप्ने अभियानमा लागेका हौं ।’
