‘गेट वे टु एभरेस्ट’ थिममा आयोजना गरिएको एड्भेञ्चरमा अभिनेता राजेश हमाल, क्याप्टेन विजय लामा, गायक राजु लामा, आस्था राउत, सुनिता दुलाल लगायतका कलाकार सहभागी
काठमाडौँ — सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तेस्रो स्पार्क एड्भेञ्चर सुरु भएको छ । आज काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० भन्दा बढी सहभागी टोली सोलुखुम्बुका लागि प्रस्थान गरेको छ । वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरी टाप र ओखलढुंगाको रुम्झाटारमा स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
‘गेट वे टु एभरेस्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा अभिनेता राजेश हमाल, क्याप्टेन विजय लामा, गायक राजु लामा, आस्था राउत, सुनिता दुलाल लगायतका कलाकार सहभागी छन् ।
'दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो,' स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने, 'सहभागीहरु विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।' काठमाडौँबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो । यस्तो एडभेञ्चरले ग्रामीण पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराईले बताए ।
समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दुरीमा रहेको गौरी टाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ ।
चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरी टाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, ल्होत्से, मकालु, कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमाल तथा चुचुराहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ ।
प्रत्येक वर्ष प्रचुर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह सिकार अवलोकनलाई प्रवर्द्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवर्द्धन गरेको थियो ।
