थेवे राष्ट्रिय युवा संघको अधिवेशनबाट नदोहोरिने

वैशाख २१, २०८२

आनन्द गौतम

They will not be repeated from the convention of the National Youth Association

ताप्लेजुङ — नेकपा एमालेको भातृ संस्था नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले आगामी नेतृत्व नदोहोर्‍याउने बताएका छन् । आगामी जेष्ठ ९ देखि ११ गतेसम्म पोखरामा हुन लागेको राष्ट्रिय महाधिवेशनवाट आफूले मार्ग प्रशस्त गर्ने उनले प्रष्ट पारे ।

गृह जिल्ला ताप्लेजुङ आएका थेवेले पत्रकारसँग कुराकानी गर्दै आफ्नो दुई वर्षको कार्यकाल रचनात्मक र सफल भएको दाबी गरे । ‘मेरो बैशाख १ गते कार्यकाल सकिएको हो । मैले बैशाखमै महाधिवेशन गर्ने तयारी गरेको थिएँ । बैशाख ११ गते पार्टीले युथ सेलिब्रेशन पनि मनाएको र सबै भातृ संस्थाको महाधिवेशन गर्नुपर्दा समय तालिका मिलाउनुपर्ने भएकाले जेठमा पुगेको हो,’ उनले भने, ‘अहिले पद लोलुपता धेरै बढेको छ तर म त्यो पक्षमा छैन । नेतृत्वमा नयाँ साथीहरु आउनुहुन्छ ।’ 

युवा संघमा नेतृत्व गर्ने क्षमता भएका युवाहरु धेरै भएकाले आफूले नाम लिने गरिको व्यक्ति कोही नभएको बताए । अन्तत: जाने ठाउँ पार्टीमै भएकाले आफू पनि अब पार्टी राजनीतिमा जाने उनको भनाइ छ । 

‘जन वर्गीय संगठनको नेतृत्व गरेपछि अन्तत: हामी जाने ठाउँ नेकपा एमाले नै हो र केन्द्रीय कमिटी नै हो,’ थेवेले भने, ‘पार्टीले कुन ठाउँमा खटाउँछ, त्यहाँ जाने हो र रचनात्मक ढंगले काम गर्ने हो, म पनि त्यहिँ गर्छु ।’ पहिला तीन वर्षे कार्यकाल भए पनि कार्यकर्ता उत्पादन गर्ने थलो भएकाले आफैंले दुई वर्षे बनाएको उनको दाबी छ ।’

उनले आगामी संसदीय निर्वाचनमा ताप्लेजुङबाटै उम्मेदवार बन्ने पनि संकेत गरे । ‘मेरो जन्मस्थल ताप्लेजुङ नै हो, जन्मभूमिबाट राजनीति गर्नु अनौठो होइन,’ उनले थपे, ‘पार्टीले मूल्यांकन गरेर खटाएको ठाउँमा जान्छु ।’ वर्षौंदेखि  राजनीति गरेका आफूभन्दा सिनियर नेताहरु योगेश कुमार भट्टराई, तिलकुमार मेन्याङ्वो, डम्बरध्वज तुम्बाहाम्फे लगायत रहेकाले समन्वय गरेर काम गर्ने उनले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully