ठगीमा संलग्नले अनेक जुक्ति अपनाएर चाँडै पैसा कमाउने प्रलोभन देखाउँछन्, सामाजिक सञ्जालमा साथी बनेर पार्सल पठाइदिने बहानामा पनि धेरैजना ठगिएका छन्
धरान — घटना १ : गत कात्तिक २५ मा धरान–१५ बस्ने सरोज लिम्बूको हृवाट्सएपमा अपरिचित नम्बरबाट एउटा लिंक आउँछ । के–कसो रहेछ भनेर खोल्दा सिधै टेलिग्राम एपमा एलिन्ना (एएलएलआइएनएनए) नामको आईडीमा पुग्छ । उक्त आईडीबाट 'अनलाइनबाट घर बसेर थोरै लगानीमा पैसा कमाउनुहुन्छ भने लगानी गर्नुस्, लगानीको एक सय प्रतिशत पूरा भएपछि लगानीसहित थप कमिसन आउने' प्रलोभन देखाइन्छ ।
लिम्बूले काम गर्न सहमत भएपछि उक्त आईडीको मानिसले सुरुमा पाँच सय पठाउन आग्रह गर्छन्, उनले तत्काल पैसा पठाउँछन् । ई–सेवा खातामा लगानी र कमिसनसहित सात सय प्राप्त हुन्छ । उताबाट अर्को 'टास्क' खेल्ने भए दुई हजार पठाउन भनिन्छ । पुनः लिम्बूले ई–सेवा खाताबाट नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको खातामा नम्बरमा पैसा पठाइदिन्छन् र अर्को टास्क पनि पूरा गरेपछि उनको खातामा २५ सय रुपैयाँ आउँछ ।
अर्को टास्क खेल्ने भए २५ हजार पठाउन भनिन्छ । पैसा राम्रै आउन थालेकाले ती व्यक्तिले पठाएको एनआईसी एसिया बैंकको खातामा पैसा पठाउँछन् । तर जवाफ आउँछ- 'टास्क कम्प्लिट भएन, फेरि ८१ हजार पठाए अगाडि पठाएको रकम र कमिसन समेत गरेर धेरै पैसा आउँछ ।' यसरी पटकपटक टास्क पूरा नभएको भनिन्छ र उनले फेरि १ लाखसम्म पठाउँछन् । उताबाट अब त '५ पाँच लाख पठाउनुस्, सबै लगानीसहित फिर्ता आउँछ' भनेर प्रलोभन देखाइन्छ । बारम्बार टास्क पूरा नभए पछि लिम्बू दिकदार बन्छन् । आफूसँग पैसा नभएको भन्दै अहिलेसम्मको पैसा फिर्ता माग्छन् तर उनलाई 'ब्लक' गरिदिन्छ ।
त्यसपछि मात्रै उनले आफू ठगिएको थाहा पाउँछन् । यसरी उनले ५ पटकमा विभिन्न नाम गरेका बेग्लाबेग्लै मान्छेको नाममा रहेको बैंक खातामा ३ लाख ५० हजार रुपैयाँ पठाइसकेका हुन्छन् ।
घटना २
धरान–३ की सरु राई गएको असोज १३ मा सरोज लिम्बूजस्तै ठगिइन् । उनको हृवाट्सएपमा आएको एउटा लिंक खोल्दा टेलिग्राम एपमा एन्गिला (एएनजीईएलए) नामको आईडीमा पुगिन् । उक्त आईडीको मानिसले अनलाइनबाट घर बसेर थोरै लगानीमा पैसा कमाउनुहुन्छ भने लगानी गर्नुस्, लगानीको १ सय प्रतिशत पूरा भएपछि लगानीसहित थप ३० प्रतिशत कमिसन आउने प्रलोभन देखाउँछ । सुरुमा लगानी गर्दा ५ सयको समान अर्डर गर्न भनेपछि उनले तत्काल पैसा पठाउँछिन् । त्यसपछि आएको लिंकमा टास्क पूरा गर्नु भनिन्छ । टास्क सकाएफछि ती व्यतिले भनेजस्तै ५ सय र ३० प्रतिशत नाफा समेत पठाइन्छ ।
लोभमा परेकी सरुले काम फेरि गर्छु भनेपछि पुनः एक हजार पठाइदिन आग्रह गरिन्छ । तर यसपालि टास्क १ सय प्रतिशत पूरा नै हुँदैन । अझै लगानी गरे १ सय प्रतिशत हुने प्रलोभनमा परेकी उनी २ लाख १२ हजार ६ सय ८ रुपैयाँ पठाइसक्छिन् । तर टास्क पूरा नै हुँदैन । अझै ५० हजार मागेपछि उनी आफ्नो लगानी फिर्ता माग्छिन् । यसपछि ती मान्छे सम्पर्कविहीन हुन्छन् ।
यसरी सरुले विभिन्न नाम गरेका बेग्लाबेग्लै मान्छेको नाममा रहेको ग्लोबल आइएमी बैंकको खातामा ४१ हजार २ सय ३२ रुपैयाँ, एनएमबि बैंकमा ३० हजार ६ सय, मुक्तिनाथ बैंकमा ३८ हजार, ज्योति विकास बैंकमा १० हजार, नेपाल बैंक लिमिटेड १३ हजार ३ सय ४५ रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा १ हजार, सिद्धार्थ बैंकमा ७७ हजार, नबिल बैंकमा ५ सय गरी जम्मा २ लाख १२ हजार ६ सय ८ रुपैयाँ ठगिन् पुग्छिन् ।
घटना ३
धरान–१२ का डम्बर राईले ‘एप्पल स्टोर’ नामक फेसबुक पेजमार्फत सेकेन्ड हृयान्ड आइफोन किन्न खोजे । आइफोनको मूल्य २२ हजार मात्रै भन्ने थाहा पाएपछि उनले केही नसोची मोबाइल बैंकिङमार्फत तत्काल रकम पठाए । उक्त फेसबुक प्रयोगकर्ताले ‘पैसा होल्ड भयो’ भन्दै ब्लक गरेपछि मात्रै बल्ल उनले आफू ठगिएको थाहा पाए ।
घटना ४
धरान-१५ का सुरेश यादवले ‘डक्स अनलाइन स्टोर’ नामक इन्स्टाग्राम पेजमार्फत पाइन्ट–सर्ट किन्न खोज्दा २४ हजार गुमाए । सुरुमा १८ सयमा अर्डर गरेका उनलाई ‘रकम होल्ड’ भयो भन्दै पटक–पटक पैसा पठाउँदा २४ हजार रुपैयाँ गुमाउन पुगे । पैसा पाएपछि अघिल्ला घटनामा झैं उनलाई पनि ब्लक गरियो ।
अनलाइनमार्फत भएका ठगीका यी केही प्रतिनिधि घटना हुन् । सामाजिक सञ्जाल तथा अनलाइन माध्यम प्रयोग गरेर सर्वसाधारणलाई झुक्याई आर्थिक ठगी गर्ने गिरोह धरानलगायत पूर्वका सहरमा सक्रिय भएको छ ।
अनलाइन ठगीका उजुरी लिएर दिनहुँजसो आउने गरेको धरान प्रहरीले जनाएको छ । ‘अनलाइन कारोबारप्रति आकर्षण बढ्दो छ । त्यससँगै ठगीको जोखिम पनि बढेको छ,’ इलाका प्रहरी कार्यालय सुनसरीका डीएसपी प्रकाश जबेगुले भने, ‘सर्वसाधारण आफै सचेत नभएसम्म ठगिने क्रम रोकिने सम्भावना छैन ।’
प्रहरीले अनलाइन प्रयोगमा सावधानी अपनाउन र शंकास्पद लिंक वा पेजबाट दुरी राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म अनलाइन ठगीमा परेका धरान क्षेत्रका मात्रै ८४ जनाले उजुरी दिएका छन् भने १० वटा मुद्दा दर्ता भएका छन् । ‘ठगीमा पर्ने अधिकांश पढेलेखेका युवा नै छन्,’ डीएसपी जबेगुले भने ।
अनलाइन ठगीमा संलग्नहरुले अनेक जुक्ति अपनाएर सर्वसाधारणलाई आफ्नो चंगुलमा पार्ने गरेका छन् । सामाजिक सञ्जालमा साथी बनेर पार्सल पठाइदिने बाहानामा पनि धेरै सर्वसाधारण ठगिन्छन् । धरान–१५ बस्ने प्रतिभा शाक्य यस्तै ठगीको फन्दामा परिन् । उनी अमेरिका बस्ने भिक्टोर रेन्डलसँग टिकटकमा साथी भइन् । हृवाटसएपमा पनि कुराकानी हुन थाल्यो । आफू विदेशमा भएको भन्दै ती व्यक्तिले उपहारस्वरुप पार्सल पठाइदिने भन्यो ।
अमेरिकाबाट मोबाइल फोन, घडी, ब्याग नगदलगायतका समानको तस्बिर पठाएर विश्वास दिलाए । उनी उत्साहित भइन् । नेपालको विमानस्थलबाट तपाईंको पार्सल आएकाले सरकारलाई कर तिर्न ७० हजार रुपैयाँ मोबाइल बैंकिङबाट पठाइदिन भन्दै अर्को नम्बरबाट फोन आयो । सामान पाउने खुसीमा उनी पैसा दिन हिचकिचाइनन् ।
नेपालको विमानस्थलबाट फोन आएको नम्बरमा र ह्वाट्सएपमा मोबाइल बैंकिङ गरेको स्टेटमेन्ट पठाउँछन् । तर पुनः सोही नम्बरबाट फोन गरेर तपाईंको पार्सलभित्र अमेरिकी डलर एक लाख भएकाले नेपाल सरकारलाई कर बुझाउनुपर्छ थप एक लाख ५८ हजार लाग्ने भन्दै पैसा माग्न थाल्छन् । प्रतिभाले केही नसोची पुनः ८९ हजार पठाएर बाँकी रकम भोलिपल्ट पठाउने बताउँछिन् । पार्सलको फोटो र अफिसको ठेगाना सोध्छिन् तर अचानक उनलाई ब्लक गरेर ती मान्छे सम्पर्कविहीन बनिदिन्छन् । यसरी अपरिचित मान्छेसँग साथी बनेर पार्सल पाउने खुसीमा १ लाख ४९ हजार ठगिएको उनले बल्ल सुइँको पाउँछिन् ।
सामाजिक सञ्जाल टिकटक, हृवाट्सएप, फेसबुक, भाइबरलगायतका अनलाइन एपमा साथी बनेर विभिन्न बहाना गरी पार्सल पठाएको भन्दै ठगी गर्ने घटना व्यापक भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस्ता घटनामा अधिकांश अधबैंसे महिला पीडित बनेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीमा गत वर्ष पनि अनलाइन ठगीका ६२ वटा उजुरी परेका थिए । ती मध्ये ७ वटा मिलापत्रमा टुंगिएका थिए भने ६ वटा मुद्दा दर्ता गरिएको थियो । ४९ वटा ठगीका घटना अझै फर्छ्यौट हुन बाँकी छ ।
नेपालमा इन्टरनेटसम्बन्धी दक्ष जनशक्तिको कमी र दैनिक रुपमा परिवर्तिन हुने एप्सका कारण ठगी गर्ने मानिस पत्ता लगाउनसमेत कठिन हुने गरेको छ । ‘यस्ता मुद्दामा त धेरैले उजुरी दिने झन्झट नै गर्दैनन्,’ अधिवक्ता दीपककुमार बुढाथोकीले भने, ‘जसले गर्दा पनि नेपालमा ठग्नेहरुलाई झन् प्रोत्साहन मिल्दै आएको छ ।’ सूचना प्रविधि ऐन, २०६३ को धारा ४२ मा कुनै व्यक्तिले अरूलाई झुक्याएर इन्टरनेट, वेबसाइट, इमेल, मोबाइल एप्सलगायत प्रयोग गरी नगद, सामान वा सेवा प्राप्त गरेमा ठगीको अपराध मानिने उल्लेख छ । यस्तो गरेमा तीन वर्षसम्म कैद, वा दुई लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुने व्यवस्था रहेको अधिवक्ता बुढाथोकीले जनाए ।
फौजदारी संहिता, २०७४ ठगीसम्बन्धी अपराधको अध्याय २५ मा कुनै वस्तु वा सेवाको झुटो आश्वासन दिई रकम लिने, सामान नपठाई पैसा उठाउने कार्य गरेमा रकम फिर्ता गर्नुपर्ने, तीन वर्षसम्म कैद वा जरिवाना वा दुवै हुने व्यवस्था छ ।
