‘यो वर्ष यस्तै भयो, आगामी वर्ष कसै न कसै माइती राजालाई फूलमाला लगाउन पाइयोस्’

११ दाजुभाइकी धनी सांसद थेवे यस वर्षको तिहारमा खालि हात 

कार्तिक १७, २०८१

आनन्द गौतम

This year it happened like this, next year someone will be able to garland Maiti Raja.

ताप्लेजुङ — प्रतिनिधिसभाका सांसद उर्मिला थेवेका दाजुभाइ (माइती) ११ जना हुन् । दिदीबहिनी (चेलीबेटी) पनि ठिक त्यत्तिकै संख्यामा थिए । बितेका पाँच वर्षयता उनले हरेक वर्षजसो दाजुभाइ र दिदीबहिनी गुमाइन् । हरेक तिहारमा तिनै माइती र दिदीबहिनीको तस्बिरमा माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरिन् र शोक मनाइन् । यस वर्ष उनलाई शोक (जुठो) लागेको छैन । तर पनि उनका हात रित्तै हुने भएका छन् । 

दसैंपछि गृहजिल्ला ताप्लेजुङस्थित आफ्नै निवास सिरिजङ्गा गाउँपालिका–१ सिनाम आएकी उनले तिहारमा माइतीलाई निम्त्याए पनि आउन नसक्ने जवाफ पाइन् । ‘अब भाइटीकाको दिन बिहानैदेखि सबै जनालाई म्यासेन्जरमा फोन गरेर शुभकामना आशीर्वाद भन्छु र म पनि आशीर्वाद लिन्छु,’ थेवेले भनिन्, ‘के गर्नु कोही माइती कता, कोही माइती कता, उहाँहरू अरु चेलीकोमा जाने यता आउन नसक्ने, आफू पनि उता जान गाह्रो भयो, रुँदै पो बसेको छु ।’ 

पाँचथर फाल्गुनन्द गाउँपालिका–३ सार्तपौवाका नरवीर नेम्बाङ भनेर चिनिने उर्मिलाका पिता नयेन्द्रराज नेम्बाङका ६ जना श्रीमतीका २२ सन्तान हुन् । ६ मध्येका साइली श्रीमती अम्बिकादेवी आङदम्बेको जेठी छोरी हुन् उर्मिला थेवे । उनलाई जन्म दिने आमाको कोखबाट दुई छोरी र दुई छोरा गरी चार सन्तान जन्मिए । चारमध्येकी जेठी उनका भाइहरू सइन्द्र, सुरेश र बहिनी सनकुमारी दिवङ्गत भइसकेका छन् । 

नयेन्द्रराजले श्रीकुमारी थाम्सुहाङलाई जेठी श्रीमतीको रूपमा भित्र्याए । पद्माकुमारी आङदेम्बे माइली, अम्बिकादेवी साइली, पृथ्वीमाया तामाङ काइँली, निमा लामा अन्तरी र मनकुमारी राई कान्छी श्रीमती हुन् । उनीहरू सबैका गरी ११ छोरा र ११ छोरीले जायजन्म पाए । छोरीमध्येका जन्तरी उर्मिला नेकपा एमालेबाट समानुपातिक सांसद छन् । This year it happened like this, next year someone will be able to garland Maiti Raja.

समग्रमा उनको परिवारका जेठा दाजु दिव्यबिक्रम नेम्वाङ हुन् । माइलो अम्बर कुमार, साइलो कृष्ण विक्रम, काइलो नारायण विक्रम (विरही काइँला) अन्तरे राजेन्द्र विक्रम, जन्तरे सइन्द्र विक्रम, मन्तरे सुरेश विक्रम, खन्तरे राजेश विक्रम, ठूलो कान्छा गजेन्द्र विक्रम, सानो कान्छा दुर्गा विक्रम र कान्छो सुवास विक्रम हुन् । यीमध्येका ६ जना दिवङ्गत भइसकेको उर्मिला बताउँछिन् ।

एकै परिवारमा हुर्किएकाले उनीहरूले यो यसको सन्तान भनेर छुट्याउन चाहँदैनन् । समग्रमा जेठो, माइलो, जेठी, माइली भनेर क्रमबद्ध गर्ने गरेको उनले सुनाइन् । जेठो दिव्य विक्रम, माइलो अम्बर कुमार, साइलो कृष्ण विक्रम, अन्तरे राजेन्द्र विक्रम, जन्तरे सइन्द्र विक्रम, मन्तरे सुरेश विक्रम दिवंगत भइसकेका छन् । उनका दाजु विरही काइँला अमेरिका र अरु भाइहरू सबै जसो विदेशमा छन् । ११ दिदीबहिनीमध्ये पाँचथर फिदिम घर भएकी माइली आशा कुमारी र समग्रमा मन्तरी (उर्मिलाका सहोदर बहिनी) सनकुमारी दिवङ्गत भइन् । 

नौ जनामध्येका जेठी भीमकुमारी झापा बिर्तामोड, साइली सइन कुमारी पाँचथर राके छेउ, काइली प्रमिला धरान, अन्तरी सुशीला इलाममा छन् । बहिनीहरू झुमा, माया, पार्वती र सूर्यकुमारी नेपालमै छन् । जेठी आमाले पाँच छोरी र दुई छोरालाई जन्म दिइन् । माइलीले तीन छोरा जन्माइन । साइलीले दुई छोरा र दुई छोरी गरी चार जनालाई जन्म दिइन् । काइलीले चार छोरा र एक छोरी जन्माइन भने अन्तरीले दुई छोरी र कान्छीले एक छोरीलाई जन्म दिए । अन्तरीले भने दुई सन्तानलाई जन्म दिएपछि श्रीमान् छोडिन् । बाँकी सबैले नयेन्द्रराजसँगै जीवन बिताए । ‘अरु आमा सबै खस्नुभयो,’ उर्मिलाले भनिन्, ‘काइली आमाचाहिँ बाबुले आर्जेको मूल घरमै हुनुहुन्छ ।’ नयेन्द्रको ८० वर्षको निधन भइसकेको छ । 

यातायातको सुविधा नहुँदासम्म र बिहेबारी गरेर नजाँदासम्म तिहारमा सबै जसो चेली माइतीमा भेला हुने गरेको उर्मिला सुनाउँछिन् । ‘बसाइ सर्ने, देश विदेश जाने क्रम सुरु भएपछि सबै भेट हुन त गाह्रो भयो,’ उर्मिलाले थपिन्, ‘यो वर्ष यस्तै भयो, आगामी वर्षको तिहारमा भाइभदा कसै न कसै माइती राजालाई फूलमाला लगाउन पाइयोस् ।’ 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully