कार्यकारी भन्छन्- 'ऐन कानुनसँग बाझिने गरि कार्यविधि बन्दैन
ताप्लेजुङ — यातायात सुविधा नपुगेको पाथीभरामा मान्छेलाई बोकेर मन्दिरसम्म पुर्याउने र फर्काउने प्रयोजनका लागि तीन सयभन्दा बढी मजदुर (भरिया) क्रियाशील छन् । उनीहरूले प्रतिकिलो २ सय रुपैयाँका दरले शुल्क लिएर काफ्लेपाटीदेखि मन्दिरसम्म पुर्याउँछन् र फर्काउँछन् ।
यसरी मान्छे बोक्नेमा गृहजिल्ला ताप्लेजुङ, छिमेकी पाँचथर, तेह्रथुम, संखुवासभादेखि सिन्धुलीसम्मका छन् । पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिकाले यहाँ सिन्डिकेट लगाउने तयारी गरेका छन् । जुन नेपालको संविधानको भावनाविपरीत छ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार ताप्लेजुङकैले मात्रै बोक्न पाउनेगरी कार्यविधि बनाउने तयारी गरिएको छ ।
फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, नेपाल सरकारबाट गठित क्षेत्र विकास समिति, नागरिकस्तरबाट गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति, माथिल्लो फेदी होटल व्यवसायी संघ र केही भरियाहरूको समेत संलग्नतामा यस्तो छलफल भएको हो । क्षेत्र विकास समितिका अध्यक्ष थेवेका अनुसार भरिया व्यवस्थापन कार्यविधिमा भरियाको बिमा गर्ने, भरियाको तीनपुस्ते विवरण राख्ने, भरियाको स्वास्थ्य परीक्षण गर्ने, भरियाको उमेर हदबन्दी राख्ने, भरियाको आधिकारिक पोसाक लागू गरिने विषयमा छलफल भएको छ ।
भरियालाई सरसामान तथा तीर्थयात्री बोक्नका लागि चाहिने आवश्यक वस्तुको व्यवस्था गर्ने, जिल्ला बाहिरका भरियालाई अनुमति नदिने, किसिमको आधारमा बोक्ने सामानको मूल्य निर्धारण गर्ने र जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङको सहयोगमा ठूलो फेदिमा भरियाहरूलाई मादक पदार्थ जाँच गर्ने विषयमा छलफल भएको छ । कार्यविधिमा यी विषयलाई समेटिने छ ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ भने छलफल भएको तर संविधान, ऐन कानुनसँग बाझिने गरी कार्यविधि नबन्ने बताउँछन् । ‘हामीले भरियासम्बन्धी कार्यविधि बनाउनै पर्ने छ, मेयर सावले बाहिर जिल्लाकाले पाउदैनन् भन्नुभएको हो, तर संविधान, ऐन, कानुनसँग बाझिने गरी कार्यविधि बन्दैन,’ हाङवाङले भने ।
नेपालको कानुनले देशभरि जुनसुकै ठाउँमा गएर पेसा, व्यवसाय, रोजगारी गर्न पाउने व्यवस्था गरेको छ । त्यसैले यो भनाइ कार्यान्वयन हुन कठिन रहेको कानुन व्यवसायी सन्तोष प्रसाईं बताउँछन् ।
३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा पुग्न मोटरबाटो पुग्ने काफ्लेपाटीबाट ५ किलोमिटर उकालो चड्नु पर्छ । उच्च लेकाली क्षेत्रमा पुगेर फर्कन कठिन हुनेले बोकिएर गएर फर्कने गरेका छन् । मन्दिर जानेले आफ्नो सामान बोकाउने पनि गरेका छन् । मान्छे बोक्नेको तुलनामा सामानको मूल्य कम रहेको छ ।
