कुँदो अर्थात् रेडपाण्डाको गाउँ

आश्विन ३०, २०८१

डम्बरसिं राई

Kundo means the village of Red Panda

पाथेका (खोटाङ) — सदरमुकाम दिक्तेलबाट एक घण्टा उत्तर सडक मार्ग छिचोलेपछि पाथेका पुगिन्छ । त्यही पाथेकालाई आजभोलि रेडपाण्डा गाउँ भन्न थालिएको छ । पाथेकाले अहिले बजारको रूप लिँदै छ । 

बीच बजारमा रेडपाण्डाको होर्डिङ बोर्ड टाँसिएको छ । यसबाहेक  ‘रेडपाण्डा संरक्षण गरौं, पर्यावरण जोगाऔं, पर्यटन प्रबर्द्धन गरौं’ भन्ने नारा सबैको मुखमा कण्ठस्तै छ । रेडपाण्डालाई यहाँका स्थानीयले कुँदो भनेर चिन्छन् । 

आजभोलि यो गाउँमा रेडपाण्डाको चर्चा छ । बालबालिकादेखि वृद्ध–वृद्धा, विद्यालयदेखि घर–घरसम्मले रेडपाण्डाको बारेमा चर्चा गरिरहेका हुन्छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको वडा नं १० मा पर्ने पाथेका रेडपाण्डाको गाउँ भनेर चिनिन्छ । यहाँका स्थानीयले पछिल्लो समयमा मात्र रेडपाण्डाको चर्चा हुन थालेपछि रेडपाण्डा भनेर चिन्न थालेको वडा सदस्य शहरमणि राईले बताए ।

‘पहिले हाम्रो गाउँतिर कुँदो भनेर चिनिन्थ्यो,’ राईले भने, ‘आजभोलि चाँहि त्यही कुँदोलाई रेडपाण्डा भन्न थालिएको छ ।’ उक्त ठाउँको विभिन्न सामुदायिक वनका घना जङ्गलहरूमा रेडपाण्डा पाइने भएकाले यसलाई रेडपाण्डाको गाउँ भनिएको हो । उक्त वडामा आउने पाहुनाहरूलाई रेडपाण्डा अङि्कत झोला, टोली लगाई दिने यहाँको चलन छ ।

रेडपाण्डाको संरक्षण र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले रेडपाण्डा अङ्कित चिनो उपहार दिने गरेको वडाअध्यक्ष मुगाधन राईले बताए । ‘हाम्रोमा रेडपाण्डा धेरै पाइन्छन्, यसको संरक्षण र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले रेडपाण्डा अङ्कित चिनो दिने गरिएको हो,' राईले भने । उक्त वडाको कोप्चे, मेरुङ, ढुङ्गेफुर्के र चारसाँदे सामुदायिक वनमध्ये कोप्चे र मेरुङ सामुदायिक वनमा रेडपाण्डा पाइन्छन् ।

उक्त वनहरूमा रेडपाण्डाको संख्या यकीन नभए पनि रेडपाण्डा भेटेर फोटो खिच्नेहरू धेरै छन् । कहिलेकाँही गाउँमा आउने गरेकाले संख्या धेरै नै हुन सक्ने स्थानीय सरस्वती माविका शिक्षक राजन बानियाँले बताए । ‘रेडपाण्डा धेरै नै हुन सक्छ, भेटेर फोटो खिच्नेहरू धेरै छन्,’ उनले भने, ‘केही सालअघि हिउँ परेको बेला त गाउँमै झरेको थियो ।’

यहाँको जङ्गलमा डेढ महिनाअघि एउटा रेडपाण्डा मृत फेला परेको बानियाँले सुनाए । मृत फेला परेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेको उनको भनाइ छ । प्रहरी र वनका कर्मचारीले मृत रेडपाण्डाको मुचुल्का गर्नुका साथै त्यसको पोष्टमार्टम गरी अखेटोपहार लगेको बानियाँले बताए ।

गाउँका सामुदायिक वनहरूमा रेडपाण्डा पाइए पनि यसको संरक्षणका लागि वडाको बजेट पर्याप्त नभएको वडाअध्यक्ष राईले बताए । ‘वडामा पूँजीगत बजेट ३५ लाख आउँछ, यो बजेट रेडपाण्डा संरक्षणमा छुट्याउन सकिँदैन,’ राईले भने, ‘नगरलाई चार–पाँच लाख रूपैयाँ भएपनि विनियोजन गरिदिनु पर्‍यो भनेको तर छुट्याइएन ।’

वडा र नगरपालिकाले बजेट विनियोजन गर्न नसके पनि रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा जनकल्याण समाज नेपालले सन् २०२३ बाट कार्यक्रम सञ्चालन गरेको वडाअध्यक्ष राईले बताए ।

उक्त संस्थाले समुदायमा आधारित हाब्रे संरक्षण परियोजना मार्फत विद्यालयदेखि टोल–टोलमा रेडपाण्डासम्वन्धी विभिन्न जनचेतनाका कार्यक्रमहरू गरिरहेको राईले सुनाए । यसअन्तर्गत रेडपाण्डा भएका सामुदायिक वनहरूमा हेरालु समेत राखिएको छ ।

कोप्चेमा टिकाराम राई र रामकुमार राई तथा मेरुङ सामुदायिक वनमा पुष्पलाल गिरी र टंकप्रसाद पुरीलाई हेरालुको रूपमा खटाइएको छ । उनीहरूले वर्षमा चार पटक अनुगमन गर्ने गरेका छन् । यसवापत एकपटक अनुगमन गर्दा जनही तीन हजार रूपैयाँका दरले भत्ता दिने व्यवस्था गरिएको समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाका कार्यक्रम अधिकृत सरोज पोखरेलले बताए ।

नगरप्रमुख तीर्थराज भट्टराईले भने बजेट निनियोजन नगरे पनि विभिन्न गैरसरकारी संघ/संस्थाहरूसंग कुरा भइरहेको बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully