कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

बम विस्फोटले झस्किरहेको डाँडागाउँ

भाद्र २३, २०८१
बम विस्फोटले झस्किरहेको डाँडागाउँ

Highlights

  • घटनाको १० दिन बितिसक्दासम्म घटनालाई कसरी अभिलेखीकरण गर्ने र कुन प्रक्रियाबाट कारबाही अघि बढाउने भन्नेमै अलमल
  • घटनाबारे संघ र प्रदेश मातहतका सरकारी कार्यालय र राजनीतिक दलको धारणा सार्वजनिक नहुँदा पीडित र स्थानीय आक्रोशित

प्राङवुङ, पाँचथर — हिजोआज फालेलुङ–५ प्राङवुङको डाँडागाउँ टोलका दिलीप र पूजा साँवाको घरमा मानिसहरूको आउजाउ बाक्लो छ । आँगनमा टाँगिएको पालमुनि राखिएका कुर्सी प्रायः खचाखच हुन्छन् । घरभित्र दिलीप र पूजा छोराछोरीको किरिया गरिरहेका छन् ।

भदौ १३ मा छिमेकी आइतराज केरुङको घरमा भेटिएको बेवारिसे बम खेलाउँदा पड्केर ज्यान गुमाएका ११ वर्षीय दिप्सन र अढाइ वर्षीया प्रिन्साका बा–आमा हुन्– दिलीप र पूजा । कसैले घटनाबारे जिज्ञासा राखे पूजा भक्कानिहाल्छिन् । दिलीप भने आँसु दबाउन अर्कापट्टि फर्किहाल्छन् ।

‘मेरो कोख रित्तियो, घटनाको छानबिन गरेर बेवारिसे अवस्थामा विस्फोटक पदार्थ छोड्नेलाई कारबाही गरियोस्, उप्रान्त निर्दोष र कलिला नानीले ज्यान गुमाउन नपरोस्,’ भक्कानिँदै पूजाले भनिन् । बेवारिसे बम विस्फोट हुँदा प्रिन्सा र दिप्सनको ज्यान मात्र गएन, स्थानीय ज्ञानबहादुरका छोरा पवन र दीपक राईका छोरा दिप्सन घाइतेसमेत भए । घाइते दुवै जनालाई उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको छ । पवनको अवस्था जटिल छ । आईसीयूमा राखेर उनको उपचार भइरहेको छ ।

घटनापछि आफन्तका आँखा ओभाएका छैनन् । उनीहरूमा त्रास उस्तै छ । विस्फोट भएका बेला टोलका प्रायः अभिभावक मेलापातमा रहेको स्थानीय इन्द्रमाया साँवाले बताइन् । ‘काम गरिरहेका थियौं, ठूलो आवाजमा पड्केको सुनियो, गएर हेर्दा केटाकेटी यत्रतत्र छरिएका रहेछन्, डल्लो भेटेर खेलाउँदा पड्केको रहेछ,’ उनले भनिन् । नाताले मृतक बालबालिकाकी हजुरआमा पर्ने इन्द्रमाया मन बुझाउन गाह्रो भइरहेको सुनाउँछिन् ।

‘आँगनमै टुकटुक हिँडिरहेको झल्को आउँछ, बाबुआमाले कसरी मन बुझाउन सकून्,’ इन्द्रमायाले भनिन्, ‘दोषीलाई कारबाही नगरेसम्म मृतक बालबालिकाको आत्माले शान्ति पाउँदैन ।’ घटनास्थलबाट घाइते अवस्थामा उद्धार गरिएका दिप्सनको भदौ १३ को राति झापाको बीएन्डसी अस्पताल र प्रिन्साको इलाम अस्पताल पुर्‍याउँदा निधन भएको थियो ।

घाइते पवन र दिप्सन राईसहित दुई अभिभावकलाई काठमाडौं लैजाने खर्चको व्यवस्था फालेलुङ गाउँपालिकाले मिलाएको छ भने उपचारको प्रबन्ध गैरसरकारी संस्था सिविन नेपालले गरिरहेको छ । घटनाका सन्दर्भमा प्रदेश र संघीय सरकारसँगै जिल्लाका राजनीतिक दल, नागरिक समाज र मानववादी संस्थासमेत तैं चुप मै चुप छन् । वडा र गाउँपालिकाका जनप्रतिनिधि पटक–पटक मृतकका अभिभावकलाई सान्त्वना दिन पुगे पनि प्रदेश र संघीय सरकारमा प्रतिनिधित्व गर्ने कोही पनि घटनास्थल पुगेका छैनन् ।

गत शनिबार बालबालिकाको अन्त्येष्टिमा पुगेका पाँचथरका प्रहरी प्रमुख डीएसपी हेमन्त भण्डारीले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए । तर घटनाको १० दिन बितिसक्दासम्म प्रहरी स्वयं घटनालाई कसरी अभिलेखीकरण गर्ने र कुन प्रक्रियाबाट कारबाही अगाडि बढाउने भन्ने निर्णयमा पुग्न सकेको छैन । विस्फोट भएको बम द्वन्द्वकाल सम्बद्ध देखिएकाले मुद्दा अभिलेखीकरणमा समस्या भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए । ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको अवस्था छ, यस्तो अवस्थामा प्रतिवादी कसलाई बनाउने ?’ उनले भने ।

द्वन्द्वसम्बन्धी मुद्दाका पीडितलाई राज्यले दिने राहत र क्षतिपूर्तिको अलग्गै व्यवस्था रहेकाले प्रशासन कार्यालयबाट राहत दिने–नदिने विषयमा पनि अन्योल भएको पनि कोइरालाको भनाइ छ । विस्फोट भएको स्थलमा अर्को एउटा घरेलु ग्रिनेडलाई सेनाले निष्क्रिय पारेको थियो । उक्त ग्रिनेडलाई सेनाले ‘एम्प्रो एक्स्प्लोसिभ डिभाइस’ भनेको छ । पड्किएको र निष्क्रिय पारिएका दुवै डिभाइसमा प्रयोग भएका सामग्री, बनावट र प्रकृति हेर्दा द्वन्द्वकै समयमा निर्माण भएको डीएसपी भण्डारी बताउँछन् ।

गृहमन्त्री रमेश लेखकले पनि घटनाको भोलिपल्ट दुवै विस्फोटक पदार्थ द्वन्द्वकालमै निर्माण गरेर लुकाइएको पुष्टि गरेका थिए । घटनाको अनुसन्धान प्रहरीले गरिरहे पनि घाइते र मृतकका तर्फबाट जाहेरी भने नपरेको डीएसपी भण्डारीले जनाए । घटनाको यतिका दिनसम्म संघ र प्रदेश मातहतका सरकारी कार्यालय र राजनीतिक दलको धारणा सार्वजनिक नहुँदा डाँडागाउँका बासिन्दा आक्रोशित छन् । राजनीतिक दल र सरकारी निकायको मौनताले मृतक र घाइतेका आफन्तमा थप त्रास बढेको स्थानीय विजय लिम्बूको भनाइ छ ।

घटनाको ७ दिनपछि विराटनगरबाट आएका मानव अधिकारवादी संस्था इन्सेक र सिविन नेपालले मृतक र घाइतेका आफन्तसँगै प्रहरी, प्रशासन र स्वास्थ्यकर्मीसँग भेटघाट र घटनास्थलको स्थलगत अध्ययन गरेको थियो ।


अझै बेवारिसे बम हुन सक्ने आंशका

पाँचथरमा द्वन्द्वकालमा छाडिएका बेवारिसे बम विस्फोट भएको प्राङवुङको यो घटना पहिलो भने होइन । यसअघि ०७४ वैशाखमा हिलिहाङ–७ भारपाको एउटा ओडारमा आगो बालेर ताप्न खोज्दा बाख्रा चराउन गएका दुई बालक घाइते भएका थिए । फाल्गुनन्द गाउँपालिका–४ बरडाँडाको एउटा घरमा अनौठो वस्तु भेटेर खेलाउँदा १२ वर्षीय अर्का एक बालक पनि घाइते भएका थिए । गत वर्ष बेवारिसे बम विस्फोट हुँदा फाल्गुनन्द–४ चिलिङदिनका अर्का एक बालक पनि घाइते भएका थिए ।

द्वन्द्वकालमा माओवादीले सेल्टरका रूपमा प्रयोग गरेका घर र स्थलमा अझै पनि बेवारिसे बम रहेको हुन सक्ने फालेलुङ–५ का वडा सदस्य मानबहादुर थाम्सुहाङको अनुमान छ । ‘द्वन्द्वकालमा यो ठाउँ विद्रोहीको सेल्टरजस्तै थियो, कहिलेकाहीँ सेना, प्रहरी पनि आइपुग्थे । अरु ठाउँ र घरमा पनि त्यस्ता सामग्री भेटिन सक्छन्, खोजी गरेर निष्क्रिय गरिएन भने थप क्षति पुग्न सक्छ,’ उनले भने ।

तत्कालीन विद्रोहीले आत्मरक्षाका लागि राखेका बम शान्ति प्रक्रियासँगै व्यवस्थापन नगर्दा घटना भएको फालेलुङ गाउँपालिकाका प्रवक्ता भरतकुमार खपाङ्गीले बताए । विस्फोट भएको घर माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को रहेको उनको भनाइ छ । केरुङ परिवार ०६८ सालदेखि सदरमुकाम फिदिममा बस्दै आएको छ । त्यो घरमा ०६८ देखि ०७१ सम्म दिलीप साँवाको परिवार बस्थ्यो । ०७१ पछि भने ज्ञानबहादुर राईको परिवार बसिरहेको छ ।

ज्ञानबहादुरको परिवारले आइतराजको जग्गा अधियाँमा खेती गर्दै आएको छ । राईलाई घर जिम्मा दिए पनि केरुङ परिवारले एउटा कोठमा ताला लगाएर राखेको थियो । केरुङ परिवारका कोही कहिलेकाहीँ घर जाँदा कोठा खोलेर बस्थे । पछिल्लो पटक करिब डेढ महिनाअघि केरुङकी श्रीमती घर गएका बेला कोठा खोलेर सरसफाइ गर्ने क्रममा जम्मा भएको फोहोर फूलबारीमा थुपारेकी थिइन् । बालबालिकाले खेल्ने क्रममा त्यही ठाउँ आसपासमा भेटेको डल्लो खेलाउँदा विस्फोट भएको हुन सक्ने स्थानीय आशंका गर्छन् । ‘डल्लो भेटिएका ठाउँमा फोहोर कसिंगर र केही कागजपत्र पनि थिए,’ मृतक बालबालिकाकी आमा पूजाले भनिन् ।

प्रकाशित : भाद्र २३, २०८१ १२:५५
×