कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ । मत दिन्न भन्ने पक्षमा ५ मत परेको छ ।
पर्वत पोर्तेल

विराटनगर — कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कार्कीको मुख्यमन्त्री नियुक्तिमा विमति राख्दै सर्वोच्च अदालत पुगेको कांग्रेस प्रदेश सभाकै बैठकमै उपस्थिति रहेन । कांग्रेसको उपस्थिति बिना प्रदेश सभामा कार्कीले बहुमत प्राप्त गरेका छन् । कार्कीको पक्षमा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उभिएका छन् । कांग्रेस सभामै उपस्थित भएन । अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै सरकारले हतारमा बिश्वासको मत लिने कार्य अघि बढाएको भन्दै मत प्रक्रिया सहभागी नबन्ने निर्णय गरेको हो ।

प्रदेश सभामा उपस्थित ६२ मध्ये मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ ।विपक्षमा कसैको मत परेन । विश्वासको मत लिने क्रममा संसद्लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशबासीमा देखिएको निरास चिर्दै अघि बढ्ने जनाए । संयुक्त सरकारले नीतिगत सुधारदेखि खस्कँदो आर्थिक स्थितिलाई सुधार गरेर लैजाने बताए। उनले संघीयता कार्यान्वयनका लागि संघीय सरकारलाई दबाब दिने जनाए। कार्कीलाई विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादीका सांसद कमल जवेगुले गठबन्धनमा रहेपनि तत्काल सरकारमा नजाने निर्णय भएकाले प्रतिपक्षको बेन्चमा बस्ने जनाए ।

राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले सरकार स्थिर बन्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै यही कार्यकालमा छ पटक सम्म सरकार अदलवलद हुँदा जनता निरासाको भूमरीमा डुबेको बताए। 'जनतालाई डेलिभरी दिनेभन्दा पनि राजनीतिक दाउपेचमा मात्रै प्रदेश सरकार सिमित भयो', सिटौलाले भने,'स्थिर सरकार निर्माणमा सबै एकमत बनौं ।'

माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रीय सत्ता समीकरणमा आइरहने फेरबदलले प्रदेश सरकार अस्थिर बनेको स्वीकार्दै आगामी सरकारले प्रदेश सरकारलाई स्थिर र चलायमान बनाउने दिशातिर अघि बढ्ने दाबी गरे ।

झापा ५ (१) बाट निर्वाचित हिक्मतकुमार प्रदेशसभाको यो कार्यकालमा तेस्रोपटक मुख्यमन्त्री बनेका हुन् । २०७९ पुस २४ मा उनी माओवादी, जसपा, राप्रपा र जसपाको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ अनुसार पहिलो पटक मुख्यमन्त्री बनेका थिए । माओवादी र जसपाले साथ छाडेपछि ०८० असार १५ मा पदमुक्त भए । ६ दिनपछि कांग्रेस नेता उद्धव थापा असार २१ मा मुख्यमन्त्री बने । कांग्रेसका प्रदेश सभापति थापा माओवादीनिकट सभामुख बाबुराम गौतमलाई पनि चुनावी प्रक्रियामा सामेल गराएर मुख्यमन्त्री बनेका कारण आलोचित बने । उनलाई साउन ११ मा सर्वोच्च अदालतले अवैधानिक घोषित गर्दै पदमुक्त नै गर्‍यो ।

सभामुख गौतमको राजीनामा पछि साउन १६ मा थापा पुनः दोस्रोपटक मुख्यमन्त्री बने । तर, भदौ २१ मा सर्वोच्चले थापाको नियुक्ति पुनः बदर गरिदियो । सर्वोच्चले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका हिक्मतकुमारलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश गरेपछि भदौ २२ मा उनी दोस्रो पटक मुख्यमन्त्री बन्न पुगे ।

पहिलो पटक ६ महिना ६ दिन कुर्सीमा बसेका कार्की दोस्रो पटक २९ दिनमै बहिर्गमनमा परे । विश्वासको मत पाउने सम्भावना नदेखेपछि असोज २० मा उनले राजीनामा दिएका थिए । त्यसपछि एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

गत बुधबार प्रदेश प्रमुख खापुङले प्रदेशसभाका ५२ जना सदस्यले निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको र प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनेसम्बन्धी कुनै प्रस्ताव प्रदेशसभामा दर्ता नभएको जानकारी आएकाले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत प्राप्त गर्न सक्ने कुनै सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न भनेका थिए । सोही संवैधानिक व्यवस्था दोस्रोपटक प्रयोग गरेर उनले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कांग्रेसभित्रै ‘विद्रोह’ गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार अन्तिम विकल्पको रूपमा गत असोज २७ मा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनेका थिए । आफ्ना ८ र एमालेका ३९ गरी ४७ सांसदको बहुमत जुटाएर उनले तत्कालीन संवैधानिक संकट टारेका थिए । पछि कांग्रेसका बाँकी २१, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद थपिँदा उनको साथमा करिब दुई तिहाइ बहुमत थियो । तर, केन्द्रीय सत्ता फेरबदलपछि उनको कुर्सी धरापमा परेको थियो ।

प्रकाशित : वैशाख ३१, २०८१ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x