कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

हलेसी तुवाचुङ र नाम्खा गाउँपालिकाले जोडे मितेरी साइनो

डम्बरसिं राई

खोटाङ — यहाँको हलेसी तुवाचुङ नगरपालिका र हुम्लाको नाम्खा गाउँपालिकाले मितेरी साइनो जोडेका छन् । सांस्कृतिक सम्वन्ध कायम गर्ने उद्देश्यले दुई स्थानीय तहबीच शुक्रबार मितेरी साइनो जोडिएको हो । 

हलेसी तुवाचुङ र नाम्खा गाउँपालिकाले जोडे मितेरी साइनो

ऐतिहासिक ठाउँ कैलाश मानसरोवर नजिकै रहेको हुम्लाको रिङ्छेलिङ गुम्बा लगायतका विभिन्न धार्मिक स्थल तथा सांस्कृतिक पक्षको धरोहरको रहेको नाम्खा गाउँपालिका र विश्व प्रशिद्ध त्रिधार्मिकस्थल हलेसी तथा किरात ऐतिहासिक थलो तुवाचुङ जायजुम रहेको हलेसी तुवाचुङ नगरपालिकाबीच मितेरी साइनो गाँसिएको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताइन् ।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको प्रस्तावमा साइनो जोडिएको राईले जनाइन् । ‘दुई स्थानीय तहबीच सांस्कृतिक साइनो गाँसेर धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्ने प्रतिबद्धता जनायौं,’ राईले भनिन्, ‘यसले दुई स्थानीय तहबीचको आपसी सम्वन्ध र विकासमा पनि उपलब्धि हासिल हुने छ ।’

मितेरी साइनो जोडिएपछि दुई स्थानीय तहको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रबर्द्धन गरिने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए । ‘मितेरी साइनो जोडिएपछि सांस्कृतिक पक्ष मात्र होइन, धार्मिक तथा पर्यटकीय क्षेत्रको पनि विकास र प्रबर्द्धन हुने छ,’ लामाले भने ।

मितेरी साइनो कार्यक्रममा दुई पालिकाका प्रमुख तथा अध्यक्षबीच मायााको चिनो साटासाट गरेका थिए । कार्यक्रममा दुबै स्थानीय तहका वडाअध्यक्षहरूबीच समेत मायाको चिनो साटासाट गरे।

हलेसी तुवाचुङ नगरपालिकामा भएको मितेरी साइनो कार्यक्रममा दुबै पालिकाका जनप्रतिनिधि, कर्मचारी, करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत, रावाबेसी गाउँपालिकाका, केपिलासगढी गाउँपालिकाका र चिसंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारी समेत सहभागी थिए ।

प्रकाशित : फाल्गुन ४, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?