कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

छठको घाट बनाउन सघाउँदै मुस्लिम

विनोद भण्डारी

विराटनगर — मुस्लिम संघ मोरङका सल्लाहकार मोहमद युनिसलाई कञ्चनबारी चोकमा छठको घाट बनाउन एक सातादेखि भ्याइनभ्याइ छ । विराटनगर ४ गोकुल टोलका उनी कञ्चनेश्वर सूर्यदेव घाट निर्माणका लागि हिन्दुहरूसँगै घरघरमा चन्दा माग्न हिँडछन्, अनि घाटको व्यवस्थापनमा पनि उत्तिकै खटिन्छन् ।

छठको घाट बनाउन सघाउँदै मुस्लिम

घाट व्यवस्थापन समितिका सदस्य समेत रहेका युनिस अस्ताउँदो र उदाउँदो सूर्यलाई जल भने चढाउँदैनन् । भन्छन्, 'यो धार्मिक पर्व मुस्लिमले मनाउँदैनन् । तर हिन्दुले मनाउने पर्वको व्यवस्थापन गर्न के हिन्दु के मुस्लिम । सवाल नै भएन । समाजमा बसेपछि एकले अर्काको सम्मान र एकले अर्कोलाई सहयोगको भावना राख्नुपर्छ ।'

विराटनगर ४ कञ्चनबारीमा सुनसरी मोरङ सिँचाइ योजनाको नहरमा सूर्यदेव घाट निर्माण भइरहेको छ । त्यसका लागि युनिससहितको टोलीले गाउँका हरेक घरमा चन्दा संकलन गरेका हुन् । त्यसका लागि करिब चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको घाट व्यवस्थापन समितिका अध्यक्ष क्षेदीलाल शर्माले बताए । उनका अनुसार त्यसका लागि करिब सवा लाख रुपैयाँ चन्दा संकलन भएको छ । बाँकी रकम आ-आफूले व्यहोर्ने तयारी छ ।

विराटनगरमा सुनसरी मोरङ सिँचाइ योजनाको नहर, सिंघीय र केशलिया खोलासहितका जलाशयमा हरेक वर्ष छठ पर्व मनाउने गरिन्छ । ती स्थानमा निर्माण हुने घाटको व्यवस्थापनमा मुस्लिम समुदायको सक्रियता रहँदै आएको मुस्लिम संघका केन्द्रीय सदस्य हसन अन्सारीको भनाइ छ । 'मुस्लिमले छठ मनाउँदैनन् । तर मनाउने समुदायका लागि सहजीकरण गर्नु सामाजिक दायित्व सबैको हो,' उनले भने ।

छठ पर्वका लागि विराटनगरको पश्चिममा रहेको सुनसरी मोरङ सिँचाइ योजनाको नहरको करिब ७ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ । त्यसमा घाट निर्माण गरेर छठ पर्व मनाउने गरिएको छ ।

प्रकाशित : कार्तिक ३०, २०८० १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?