२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

अत्यधिक गर्मी भए पछि मोरङ र सुनसरीका विद्यालय बन्द

विनोद भण्डारी

विराटनगर — अत्यधिक गर्मीका कारण कोशी प्रदेशका दुई तराईका जिल्ला सुनसरी र मोरङका स्थानीय पालिकाले केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।

अत्यधिक गर्मी भए पछि मोरङ र सुनसरीका विद्यालय बन्द

केहीदिन देखि पूर्वी तराईको मौसरम दैनिक सरदर ४० डिग्री तापक्रम कायम रहेकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकासहित सुनसरीको इटहरी उपमहानगर र इनरुवा नगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार यो वर्ष वैशाखमा सबैभन्दा बढी ४० दशमलव ५ डिग्री सेल्सियस तापक्रम थियो । कार्यालय प्रमुख विकास देउजाका अनुसार जेठमा दैनिक सरदर ३९ डिग्री सेल्सियस तापक्रम छ ।

प्रचण्ड गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने स्थिति देखिएकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरले पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई भने यथावत राखेको छ ।

त्यसैगरी, इटहरी उपमहानगरले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सूर्य सुवेदीले बताए । बर्खे बिदामा समायोजन गर्ने गरी दुई दिन विद्यालय बिदा गरिएको हो । सुवेदीले भने, 'मौसममा सुधार नआए बिदा थप गर्न सकिन्छ ।'

सुनसरीकै इनरुवा नगरपालिकाले भने बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?