कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसले लग्यो झोलुंगे पुल बनाउन राखेको सामान ?

अर्जुन राजवंशी

जहरेबर,झापा — जिल्लाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ र ७ जोड्ने गरी टिमाई खोलामा निर्माण थालिएको झोलुंगे पुलको निर्माण सामग्री रहस्यमय ढंगले हराएका छन् ।पुल निर्माणस्थल वडा नम्बर ७ जहरेबरस्थित खोला किनारमा राखिएका निर्माण सामग्री हराएको हो ।

कसले लग्यो झोलुंगे पुल बनाउन राखेको सामान ?

गाउँपालिकाका प्राविधिकका अनुसार स्टिल डेक १८ थान, स्टिल क्रस बिम ९६ थान, सस्पेन्डर्स ३८ थानसहित ६ किसिमका सामान हराएका हुन् । १३ लाख ३० हजारभन्दा बढी मूल्यका १० हजार केजीभन्दा बढी निर्माण सामग्री रहस्यमय ढंगले हराएको हो ।

जहरेबर–एक्लेबर झोलुंगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव अर्याल निर्माण सामग्री चोरी भएको दाबी गर्छन् । उनका अनुसार गत चैत १९ गते साँझ ४/५ बजेतिर सामान चोरी भएको हो । ‘चैत १६ गतेसम्म सामान थियो । १९ गते बेलुकातिर आएर हेर्दा सामानको थाक पुरै घटेको थियो’ उनले भने,‘तत्काल गाउँपालिका र प्रहरीलाई सामान चोरी भएको जानकारी दियौं । प्राविधिक र हामीले सामान चेक गर्दा १३–१४ लाखको सामान चोरी भएको रहेछ ।’

गाउँपालिकाका इन्जिनियर एवं पूर्वाधार विकास प्रमुख विक्रम दाहालले पनि निर्माण सामग्री चोरी भएको दाबी गर्छन् । ‘सामान चोरी भएको हो । प्रहरीले अनुसन्धान गरिरहेका छन्,’ उनले भने ।

पुल निर्माण भए वडा नम्बर ६ र ७ का माथिल्लो सुनमाई, सतीगौडा, बगरे बस्ती र छिमेकी जिल्ला इलामको रोङ गाउँपालिका समेतका गरी ५ सयभन्दा बढी बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । झोलुंगे पुल निर्माण सम्पन्न गर्न ९० लाख ३९ हजारको लागत अनुमान गरिएको छ । गाउँपालिकाले ११ लाख ७५ हजार, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) को श्रम तथा जिन्सीसमेत गरी ७६ लाख ८३ हजार र जनश्रमदान १ लाख ८० हजार रहने उल्लेख छ । १ सय १७ दशमलव ४० मिटर लम्बाईको झोलुंगे पुल निर्माणका लागि गत मंसिर २५ गते शिलान्यास गरिएको थियो । सम्झौताअनुसार आगामी असार मसान्तमा पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने अध्यक्ष अर्यालले जानकारी दिए ।

पुल निर्माणका लागि गाउँपालिकाले ४३ लाख १९ हजार ९ सय ५२ रुपैयाँको निर्माण सामग्री खरिद गरेको थियो । बुटवलको जुनकिरी इन्डस्ट्रिज वर्कर्स प्रालिले गत कार्तिक १८ गते उक्त मूल्य बराबरको निर्माण सामग्री पुल निर्माणस्थल जहरेबरस्थित टिमाई खोला किनारमा झारेको थियो । उपभोक्ता समितिले गाउँपालिकाबाट ८ लाख ९४ हजार पेश्की लिएर पुल निर्माणको काम सुरु गरेको थियो ।

फागुन अन्तिमतिर समितिले ७ लाख ८५ हजार भुक्तानी माग गर्दै रनिङ बिल गाउँपालिकामा पेस गरेको थियो । तर, गाउँपालिकाले भुक्तानी दिन केही समय ढिला गर्‍यो । भुक्तानी नपाएपछि उपभोक्ता समितिले चैत ४ गतेदेखि काम रोकेको थियो । काम रोकेकै समयमा निर्माण सामग्री हराएको अध्यक्ष अर्यालले बताए ।

आइतबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले झोलुङ्गे पुलको सामान हराएको निष्कर्ष निकालेको छ । बैठकको निर्णयमा उपभोक्ता समिति, सदस्य, अनुगमन समिति, प्राविधिक सहयोग गर्ने सहारा नेपाल, कोशी प्रादेशिक प्राविधिक सहयोग प्रदायक पीटीएपीका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी समेतको छलफल लगायत तथ्यबाट सामग्री पुल निर्माणस्थलबाटै हराएको गाउँपालिकाले तथ्यसहित ठहर गरेको उल्लेख छ ।

हराएका सामग्री खोजी जारी रहेको तथा खोजी कार्यमा सहयोग गर्न सबैमा अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको ७ नम्बरका वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ८, २०८० १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?