२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

डढेलो बस्तीमा सल्कँदा दुई घरमा क्षति

रमेशचन्द्र अधिकारी

धनकुटा — वनमा लागेको डढेलो नजिकको बस्तीमा फैलँदा बुधबार धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ पाथीभरामा दुई घर जलेका छन् ।

पाथीभरा सामुदायिक वनबाट सल्किएको डढेलोले स्थानीय नेत्रबहादुर विश्वकर्मा र कृष्ण विश्वकर्माको घरगोठ जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहानैदेखि सल्किएको डढेलो अपराह्न ४ बजे गाउँमा फैलिएकोले घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुब श्रेष्ठले बताए । घटनामा करिब १३ लाख रुपैयाँ बराबरको धनमाल क्षति पुगेको श्रेष्ठले जानकारी दिए । प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

यसैबीच, धनकुटामा पछिल्लो एक सातामा दैनिकजसो डढेलो लाग्ने क्रम बढेको वन डिभिजनले जनाएको छ । धनकुटा ४ स्थित वाग्ले सामुदायिक वनको डढेलो चार दिनपछि बुधबार अपराह्न नियन्त्रणमा आएको छ ।

तर, धनकुटा ५ स्थित सामुदायिक वनको आगो नियन्त्रणमा आइनसकेको स्थानीयले बताए । वर्षात् नहुँदा सुख्खा बढेपछि दर्जन बढी सामुदायिक वनमा डढेलो सल्किएको छ । अधिकांश स्थानमा डढेलो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन ।

दैनिक रुपमा धनकुटा नगरपालिकाको दमकलसहित नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले आगो निभाउन खटिएको प्रहरीको भनाइ छ ।

प्रकाशित : वैशाख २७, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?