कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

त्रियुगा नगरपालिकाबाटै श्रम स्वीकृति

डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीमा जानेहरुका लागि आइतबारदेखि श्रम स्वीकृति दिन सुरु गरेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएसँगै नगरपालिकाले सेवा सुरु गरेको हो ।

त्रियुगा नगरपालिकाबाटै श्रम स्वीकृति

नगरपालिकाको ६ नम्बर वडाका चिरन्जिवी पोखरेललाई साउदी अरेबिया जानका लागि श्रम स्वीकृति प्रदान गर्दै सेवा सुरु गरेको हो । संघीय सरकारले वैशाख ३ देखि संघ र प्रदेशमा रहेको श्रम स्वीकृत गर्ने सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्‍याएको थियो । अनुमति पाएको २१ दिनमा श्रम स्वीकृति प्रदान गरिएको नगरपालिकका रोजगार सेवा केन्द्रकी संयोजक निशा घलेले बताइन् ।

स्थानीय तहबाट श्रम स्वीकृति वितरण भए पछि आफ्नो पालिकाबाट कुन मुलुकमा के कामको लागि नागरिक वैदेशिक रोजगारीमा गएका छन् भन्ने सम्पूर्ण विवरण रहने नगर प्रमुख वसन्त बस्नेतले बताए । ‘स्थानीय स्तरमै श्रम स्वीकृति दिँदा वैदेशिक रोजगारमा गएर फर्किएकालाई सिप अनुसारको रोजगारी सिर्जना गर्न सकिन्छ,’ प्रमुख बस्नतेले भने, ‘त्यसैले स्थानीय स्तरबाटै श्रम स्वीकृति दिने व्यावस्था अतिनै फलदायी छ ।’ यसले नगरबासी कहाँ के गर्दै छन, र त्यहाँबाट आएको विप्रेषण(रेमिटेन्स) कहाँ प्रयोग हुँदैछ भन्ने समेत जानकारी हुने उनले बताए ।

पालिकाबाट श्रम स्वीकृति वितरणको सेवा सुरु भएसँगै वैदेशिक रोजगारमा जानेहरुमा रोजगारीको बारेमा चेतना गाउँस्तरमा पुग्ने भएकाले वैदेशिक रोजगार ठगी कम हुने अपेक्षा गरिएको उप प्रमुख महेश्वरी राईले बताइन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रमस्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय गरेको थियो । यस अघि काठमाडौंबाट मात्र हुँदै आएको श्रम स्वीकृति दुई वर्षअघि मात्र प्रदेशस्तरमा लगिएको थियो ।

हाल नगर वा गाउँपालिका अन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदन दिन सकिने र श्रम स्वीकृति लिन सकिने व्यवस्था छ । यो व्यवस्थाका कारण हजारौं खर्च गरेर श्रम स्वीकृति लिन प्रदेशका श्रम तथा रोजगार कार्यालय जानुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित : वैशाख २५, २०८० ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?